१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आइतबारको संवैधानिक परिषद् बैठकमा देउवा सहभागी नहुने

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने जानकारी दिएका छन् । 

आइतबारको संवैधानिक परिषद् बैठकमा देउवा सहभागी नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेलाई परिषद्को बैठक बोलाएका छन् । तर, शनिबार नै देउवाले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराएको उनी निकट एक नेताले बताए ।

संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । अहिलेसम्म बैठक स्थगित भएको सूचना भने जारी नगरिएको स्रोतले बतायो ।

परिषद्को बैठक बोलाए लगत्तै शुक्रबार प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच भेटवार्ता पनि भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा गरी ४० भन्दा बढी पद रिक्त छन् । नियुक्तिको विषयमा छलफल भएपनि प्रधानमन्त्री र देउवाबीच सहमति जुट्न भने सकेको छैन ।

अर्कोतर्फ मंसिर २९ मा कांग्रेसले सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्दैछ। प्रदर्शनको एक दिन अघि प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएपछि त्यसलाई कांग्रेस नेताहरुले शंकाको दृष्टिले हेरेका छन् । शनिबार नै कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो ।

संविधानको धारा २८४ मा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ । हाल उपसभामुखको पद रिक्त छ ।

प्रकाशित : मंसिर २७, २०७७ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?