पारिश्रमिक बढाउने सहमतिपछि अरुण तेस्रोको काम सुरु

दीपेन्द्र शाक्य

संखुवासभा — पारिश्रमिक बढाउने सहमति निर्माण कम्पनीले गरेपछि संखुवासभामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको काम बुधबारबाट सुचारु भएको छ । 

पारिश्रमिक बढाउने सहमतिपछि अरुण तेस्रोको काम सुरु

त्यहाँ कार्यरत २ हजार नेपाली र भारतीय मजदुरहरुको तलबभत्ता बढाउने सहमति भएपछि काम सुरु भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । तलब बढाउनु पर्ने माग राख्दै मजदुरहरुले सोमबारदेखि आन्दोलन गरेका थिए । स्थानीय जनप्रतिनिधि, प्रशासन र मजदुरहरुबीच बसेको छलफलले जिल्ल्लामा चलेको दरअनुसार तलबभत्ता दिने, ८ घण्टामाथि काम गर्नेलाई १ दशमलव ५ प्रतिशतले ओभरटाइम दिने, जुनसुकै कामदारलाई काम बिगारेको खण्डमा स्पष्टिकरण सोध्ने र सफाइको एकपटक मौका दिएर मात्रै कामबाट निकाल्ने र महिना मरेपछि तलबभत्ता बैंक खातामा जम्मा गर्ने लगायत बुँदाहरुमा समति भएको हो ।

जिल्ला दररेट अनुसार, दक्ष मजदुरले ९ सय ४० रुपैयाँ, अर्धदक्षले ७ सय ७५ रुपैयाँ र ज्यामीले ६ सय ५० रुपैयाँ पाउनु पर्ने र ८ घण्टाको ड्युटी भए पनि १२ घण्टासम्म दिन र रातमा काम गरिरहेको हुँदा कम्पनीले ओभरटाइमको पैसा दिनुपर्ने, मजदुरहरुलाई हरेक महिनाको १५ तारिखभित्र तलबभत्ता बैंक खातामा जम्मा हुनुपर्ने, साप्ताहिक, पाक्षिक र मासिक रुपमा पाउने बिदा दिनुपर्ने, बिरामी बिदा दिनुपर्ने र बिना कारण मजदुरहलाई कामबाट निकाल्ने काम बन्द गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेर काम अवरुद्ध पारेका थिए ।

संखुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल निर्माणधीन रहेको छ । चिचिला गाउँपालिका–२ दिदिङ्ग पुखुवामा पावर हाउस निर्माण भइरहेको छ ।

प्रकाशित : मंसिर २४, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?