'रअ' प्रमुखसँग प्रधानमन्त्रीले राति सुटुक्क भेट्ने कुरा मिलेन : रावल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'रअ' प्रमुखसँग प्रधानमन्त्रीले राति सुटुक्क भेट्ने कुरा मिलेन : रावल

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको गुप्चतर  संस्था 'रअ' का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटलाई लिएर सत्तारुढ नेकपाका सांसद भीम रावलले संसदीय समितिमा आपत्ति जनाएका छन् । 

प्रतिनिधसभाको अन्तर्राट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपाका सांसद रावलले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्रीसँग भेटेको विषयबारे संसद, सत्तारुढ दल नेकपा र जनतालाई जानकारी नभएको भन्दै आपत्ति जनाएका हुन् ।

'भारतका गुप्चतर संस्था रअका प्रमुख सामन्त गोयल सैनिक जहाजमा चढेर काठमाडौं आए । त्यसबारे भारत र नेपालको परराष्ट्र मन्त्रालयले कुनै जानकारी गराएको छैन । राति प्रधानमन्त्री निवासमा गुप्तचरसँग भेट्ने कुरा मिलेन । यस्ता गतिविधि गरिनु हुन्न,' रावलले भने ।

भारतले विगतदेखि नै गुप्तचर संस्थामार्फत नेपालमा शुक्ष्म व्यवस्थापन गर्दै आएको र त्यसको जनताको स्तरबाट विरोध भएको स्मरण गर्दै रावलले आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिने गरी अगाडि बढ्नुपर्ने बताए । 'जति बेला हाम्रो देश द्वन्द्वमा थियो त्यसपछि देश शान्ति प्रक्रियामा थियो त्यतिबेला शुक्ष्म व्यवस्थापन गर्न खोज्दा जनताको तहबाटै विरोध भएको हो । फेरि सुक्ष्म व्यवस्थापन गर्ने कुरा नहोस्,' उनले भने ।

पार्टीको विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उक्त भ्रमणबारे जानकारी नरहेको र सत्तारुढ दलका सांसद आफूलाई पनि त्यो जानकारी नभएको रावलको भनाइ थियो । 'अपारदर्शी रूपमा गुप्तचरसँग वार्ता गर्ने कुरा मेल खाँदैन । त्यो बन्द गरिनुपर्छ,' रावलले भने ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको भ्रमणका बेला उपलब्धी के भए भन्ने नखुलाइएको रावलले भने । कालापानी क्षेत्रलाई नेपालको नक्सामा समेट्दा भारतीय सेनाध्यक्ष एमएम नरवणेले बोलेका कुराबारे छलफल नभएको, दुई देशबीचको प्रबुद्ध व्यक्तिहरूको समूहको प्रतिवेदन बुझ्नेबारे पनि छलफलको विषय नरहेकोमा उनले आपत्ति जनाए । आगामी दिनमा मन्त्रीस्तरीय छलफलमा यसबारे व्यापक छलफलका लागि नेपालले एजेन्डा राख्नुपर्ने रावलको सुझाव थियो ।

प्रकाशित : मंसिर १९, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्

जो घरबाहिर रमाउन पाउँदैनन्

‘आफन्त, नातेदारले निम्ता गर्दा पहिले नै छोरोलाई कसैको जिम्मा लगाएर तिमीचाहिँ जसरी नि आउनू है भन्छन्, आक्कलझुक्कल लिएर गयो भने सर्लाझैं गरेर परपरै पार्छन् ।’
विद्या राई

काठमाडौँ — पारिवारिक भेटघाट, विवाह, भोज, सभा, सम्मेलनमा अरूका छोराछोरी रमाइलो गरेको देख्दा पाटन, मंगलबजार बस्ने अञ्जु भण्डारीलाई खिन्न लाग्छ । कारण बौद्धिक अपांगता भएकैले उनका छोरा चाहेर पनि यस्ता कार्यक्रममा रमाउन सक्दैनन् ।

‘आफन्त, नातेदारले निम्ता गर्दा पहिले नै छोरोलाई कसैको जिम्मा लगाएर तिमीचाहिँ जसरी नि आउनू है भन्छन्, आक्कलझुक्कल लिएर गयो भने सर्लाझैं गरेर परपरै पार्छन्,’ उनले दुखेसो पोखिन् ।

हाल २६ वर्षका उनका छोरा जन्मँदै बौद्धिक अपांग हुन् । ज्यान हेर्दा हृष्टपुष्ट देखिए पनि राम्ररी बोल्न, हिँड्न सक्दैनन् । उमेरअनुसारको बौद्धिक विकास भएको छैन । राम्रोसँग खाना खान पनि जान्दैनन् । दिसापिसाब र सफाइ गर्न अरूको सहयोग चाहिन्छ । जमघटमा जाने है भन्दा उनी दंग त पर्छन् तर जाँदा नातेदारले रुचाउँदैनन् । ‘तिमी आऊ न एक रात बस्ने गरी भन्छन्, छोरा लिएर आऊ भन्दैनन्, मेरो छोरो मान्छे नै होइन ठान्दिन्छन्,’ नजिकका आफन्तबाटै विभेद खेप्नु परिरहेको उनले दुखेसो दोहोर्‍याइन्, ‘सानो छँदा त उसलाई कोठामा राखेर ढोका लगाइदिएर हिँडे, कतै जबर्जस्ती लिएर पनि गएँ । तर १५/१६ वर्ष जति भयो, आफैंले के जबर्जस्ती गरिरहनु भनेर हिँडिहाल्दिनँ, बोलाउन नि छाडिसके ।’

पर्वत कुश्माकी लक्ष्मी पौडेलको भोगाइ पनि यस्तै छ । ११ वर्षका छोरा बौद्धिक अपांग छन् । ‘छोरो अरू बच्चा जस्तो छैन, के काम राम्रो, नराम्रो छुट्याउन सक्दैन, सामान पोखिदिन्छ, लडाइदिन्छ, अनि आफन्तले कहाँ रुचाउने भएर ?,’ उनी भन्छिन्, ‘विवाह, व्रतबन्धलगायतका कार्यहरूमा बोलाउँदा सुरुमै छोरो जहिल्यै ल्याएर हुँदैन, घरमा छोडेर आइज न भन्छन् ।’

भक्तपुर, सूर्यविनायककी गोमा अधिकारीले छोरीलाई सामूहिक कार्यकम, सार्वजनिक थलोमा लिएर जाँदा विचराको पात्र ठहरिन्छिन् । ‘बिहे भोजमा जाँदा, बैंकमा छोरीको भत्ता लिन जाँदा तपाईंको छोरी यस्तो, के भएको होला है बिचरा १ भन्छन्, उनले पनि अरू बच्चाहरूजस्तै हिँड्न, डुल्न पाउनुपर्छ भन्ने मानसिकताचाहिँ छैन,’ उनले भनिन् । उनकी २८ वर्षकी छोरी शारीरिक र बौद्धिक अपांग छिन् ।

आफ्ना सन्तानलाई घरबाहिरको वातावरणमा घुलमिल गराउन नपाउँदा कतिपय परिवार समाज, संस्कृतिका कुरा देख्नबाटै वञ्चित हुने गरेका अपांगतासम्बन्धी अधिकारकर्मी तारा दाहाल बताउँछिन् । ‘घरबाहिर कतै लिएर जाऊँ भने मान्छेले छिःछिः र दुरदुर गर्छन् भनेर अधिकांश अभिभावकले लान सक्दैनन्, बौद्धिक अपांगता भएकाले समाज, संस्कृति, रमाइलो, दुःख के हो थाहा पाउने अवसरै पाउँदैनन्,’ उनले भनिन्, ‘सरकार समानताका नारा लाउँछ, अनेक दिवस मनाउँछ, अपांग दिवसको दिनमात्रै र्‍यालीमा यसो सहभागी गराउँछ । त्यही पनि यस वर्ष कोभिडले गर्दा पाएनन्, अरू ३६४ दिन थाहा पत्तो हुँदैन ।’

बौद्धिक अपांगताका अभिभावकको महासंघ, नेपालका अध्यक्ष राजु बस्नेत भन्छन्, ‘उनीहरू जब परिवारबाट बाहिर छिमेकी, आफन्त र समाजसँग घुलमिल हुन पाउँदैनन्, तब आफूलाई एक्लो महसुस गर्छन् । सिकाइमा वृद्धि हुन सक्दैन, किनकि अरूले गरेको र बोलेको कुरा मानिसहरूले नक्कल गरेर सिक्ने हो ।’ बौद्धिक अपांगता भएका बालबालिकाहरू घर वा परिवारभित्रै सीमित पारिँदा विभिन्न सीप सिक्न, सामाजिक योगदान दिनसमेत पाउँदैनन् ।

घरभित्रै रहँदा शारीरिक व्यायाम नहुने, सरसफाइमा परिवारको सदैव ध्यान नपुग्दा स्वास्थ्य समस्याहरू देखिनुका साथै उनीहरूको कम उमेरमै मृत्युसमेत हुने गरेको पाइन्छ । २०६८ को जनगणनाअनुसार बौद्धिक अपांगता भएका व्यक्तिहरूको संख्या १४ हजार ८ सय ८८ छ । जसमा महिला ६ हजार ६ सय ८ र पुरुष ८ हजार २ सय ८० जना छन् ।

प्रकाशित : मंसिर १९, २०७७ १२:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×