३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेपाल-भारत सम्बन्ध सुदृढ हुने बाटोमा अघि बढ्यो : परराष्ट्रमन्त्री

काठमाडौँ — सरकारले भारतसँगका विवाद वार्ताबाट समाधान गर्ने बाटोमा अगाडि बढेको बताएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले लामो समयदेखिको संवादहीनता अन्त्य गरी सबै  विवादलाई वार्ताबाट हल गर्ने बाटोमा लगेको बताएका हुन् । 

नेपाल-भारत सम्बन्ध सुदृढ हुने बाटोमा अघि बढ्यो : परराष्ट्रमन्त्री

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले अब नेपाल-भारतबीच रहेका सीमा विवादलगायत सबै विषयमा छलफल हुने बताए । उनले आगामी दिनमा हुने विभिन्न चरणका बैठकमा व्यापार, वाणिज्य, जलस्रोतका साथै सीमा विवादमा पनि स्पष्ट छलफल हुने बाटो खुलेको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताए ।

'नेपाल-भारतबीच नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको छ,' उनले भने, 'सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेका छन् । नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको छ । नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको छ ।'

भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग शिष्टाचार भेट गरेको र नेपाल भ्रमणको क्रममा सबै विषयमा छलफल गरेको ज्ञवालीको भनाइ थियो । नेपालले भारतसँगको व्यापार घाटा कम गर्नका लागि वाणिज्य सन्धिमा संशोधन चाहेको र त्यसबारे पनि आगामी दिनमा छलफल हुने कुरा भएको उनले जानकारी दिए ।

साथै नेपाल-भारतबीचका विभिन्न संयन्त्रहरूको छलफल आगामी दिनमा अगाडि बढ्ने भएका मन्त्री ज्ञवालीले बताए । दुवै मुलुकको उच्च स्तरको दुवै मुलुकका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक हुने तय भएको पनि उनले जानकारी दिए । भारतले बैठकको आयोजना गर्ने तयारी गरेको उनको भनाइ थियो ।

त्यस्तै, दुवै मुलुकका ऊर्जा सचिवहरूको बैठक र वाणिज्य सचिवहरूको बैठक पनि हुन लागेको उनले बताए ।

'नेपाल-भारत सम्बन्ध समस्यालाई वार्ताबाट समाधान गर्ने र सम्बन्धलाई सुदृढ गर्ने बाटोमा अगाडि बढेको छ,' मन्त्री ज्ञवालीले भने ।

त्यस्तै, चीनका रक्षामन्त्री वेई फेङहेको भ्रमण नियमित भएको मन्त्री ज्ञवालीले बताए । दुवै देशका सेनाबीचको सहकार्यलगायतका विषयमा छलफल भएको उनले जानकारी दिए ।

चिनियाँ रक्षामन्त्रीको भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सन्धि र लेटर अफ एक्सचेन्जको कार्यान्वयनबारे छलफल भएको ज्ञवालीले बताए ।

दुवै छिमेकी मुलुकबाट भएका पछिल्ला भ्रमणले कोभिडले रोकेका अन्तर्राष्ट्रिय उच्चस्तरीय भ्रमण फेरि सुरु भएका र आगामी दिनमा पनि त्यसले निरन्तरता दिने ज्ञवालीको भनाइ छ ।

ज्ञवालीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्रीसँग भेटेको र भारतीय सेनाध्यक्ष एमएम नरवणेको भ्रमणबारे भने केही कुरा उल्लेख गरेनन् । सांसदहरूले भने ती भ्रमणबारे पनि सरकारको धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

सांसदहरू भीम रावल र दिव्यमणि राजभण्डारीले गोयल र नरवणेको भ्रमणबारे परराष्ट्रमन्त्रीले धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् । गोयलले प्रधानमन्त्रीसँग सुटुक्क भेटेको बारे र नरवणेले नेपालको नक्सा जारी भएपछि दिएको अभिव्यक्तिबारे के कुरा भयो भन्ने स्पष्ट भन्नुपर्ने उनीहरूको भनाइ थियो ।

प्रकाशित : मंसिर १९, २०७७ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?