श्रीमानले छ्यापे श्रीमती–छोरीलाई एसिड

कान्तिपुर संवाददाता

जनकपुर — छुट्टै बसेका श्रीमती र छोरीलाई डेरामा पुगेर एक युवाले एसिड प्रहार गरेका छन् । जनकपुरधाम–७ पेठियामा शनिबार बिहान सञ्जीव साहले गरेको एसिड प्रहारबाट २१ वर्षीया आरती साह र ४ वर्षीया छोरी रिया घाइते भएका छन् । आरतीलाई लक्ष्य गरेर प्रहार गरिएको एसिड उछिट्टिएर छोरी रिया साहको बायाँ हात पनि जलेको छ । 

एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्ने कानुन बनेयता मुलुकमा यस्तो घटना सम्भवतः यो नै पहिलो घटना हो । घटनालगत्तै सञ्जीवलाई प्रहरीले पक्राउ गरेको छ । आरतीलाई जनकपुरको जानकी हेल्थ केयरको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । स्थिति गम्भीर रहेकाले चिकित्सकको सल्लाहमा थप उपचारका लागि काठमाडौं लगिएको छ । उपचारमा संलग्न चिकित्सक डा. आदित्य यादवका अनुसार आरतीको अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको छ । सुनचाँदी सफा गर्न प्रयोग हुने एसिडले आक्रमण गरिएको हुन सक्ने चिकित्सक यादवले बताए । ‘आरतीको शरीरको २५ प्रतिशत भाग जलेको छ,’ उनले भने । छोरी रियाको भने हेल्थ केयरमै उपचार भइरहेको छ ।

सञ्जीव र आरतीको पाँच वर्षअघि विवाह भएको थियो । बिहेको दुई वर्षपछि उनीहरू छुट्टाछुट्टै डेरा लिएर बस्दै आएका थिए । छोरीसँगै लगेकी आरतीले तरकारी बेचेर गुजारा चलाउँदै आएकी थिइन् । सञ्जीव विभिन्न पसलमा काम गर्दै छाड्दै हिँड्ने गरेका थिए । दुवैबीच सम्पत्ति लेनदेनमा झगडा भएको देखिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?