कुनै पनि परिस्थितिमा राजीनामा दिन्‍नँ : प्रधानमन्त्री- समाचार - कान्तिपुर समाचार

कुनै पनि परिस्थितिमा राजीनामा दिन्‍नँ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । 

पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका हुन् । उनले भने,‘तपाईंहरु विचार गर्नुस के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन् । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छकी भन्ने दुविधामा नपर्न समेत आग्रह गरे ।

उनले भने,‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्‍याएको म जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईंहरु ढुक्क भएर काममा लाग्नुस । यो सरकार फेरिन्छ कि बदलिन्छ कि धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे । भित्र, बाहिर अनेक थरिका कोसिसहरु आए । जेमा पनि आलोचना गर्ने, जेमा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृतिहरु छन् त्यसबाट प्रभावित नहौं ।’

प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताए । उनले भने,‘एकथरी अस्थिरताको खेती गरिरहने देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत छ केहीको । एडिक्ट भएका छन कोही ।’

प्रकाशित : कार्तिक १९, २०७७ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं लैजाँदै गरेको पटेका सिन्धुलीमा बरामद

राजकुमार कार्की

सिन्धुली — अवैधरुपमा काठमाडौं लैजाँदै गरेको पटेका सिन्धुली प्रहरीले बुधबार बरामद गरेको छ ।

राजविराजबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०६२ नम्बरको हायस गाडीबाट प्रहरीले पटेका बरामद गरेको हो ।

कमलामाइ नगरपालिका-४ को हिरापानी चेक प्वाइन्ट इन्चार्ज प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीका अनुसार १४ बन्डल विभिन्न ब्रान्डका पटका, गमला २० बट्टा,भुइचक्कर ५७ प्याकेट, झिरझिरे १५० प्याकेट, हाइड्रो चकलेट बम २० प्याकेट, आतिसबाजी फाइनल दुई प्याकेट बरामद भएको हो ।

छतमा झोलामा राखिएको पटका कसैले दाबी नगरेपछि बरामद गरि जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको अधिकारीले जानकारी दिए ।

प्रकाशित : कार्तिक १९, २०७७ १४:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×