हराएको छोरो जब कोमामा फर्कियो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराएको छोरो जब कोमामा फर्कियो

साउदीमा सात वर्षदेखि सम्पर्कविहीन उनी गम्भीर प्रकृतिको मेनिन्जाइटिस रोगको सिकार भएका थिए । अस्पतालले भर्ना गर्ने बेला उनको कानुनी हैसियत नखोजी इमर्जेन्सी सेवा दिएको थियो ।
होम कार्की

काठमाडौँ — महानवमीका दिन इच्छालाल गुरुङको घरमा एकैसाथ दुःख र खुसीको क्षण भित्रियो । खुसी यसकारण कि बेपत्ता छोरा घर फर्किए, दुःखी यसकारण उनी अझै कोमामै छन् । साउदी अरबमा सात वर्ष बेपत्ता ३८ वर्षीय छोरा प्रकाश टीकाको अघिल्लो दिन घर आउँदा गुरुङ परिवार निकै खुसी देखिए ।

त्यति लामो समयपछि भेटिएको छोरोको शारीरिक अवस्था नाजुक देख्दा भने मन थाम्नै सकेनन् । झापास्थित बिर्तामोड–१० सैनिक गाउँमा रहेको घरमा प्रकाशलाई रामबहादुर मगरले साउदीबाट आफूसँगै ह्विलचियरमा ल्याएका थिए । प्रकाश सिधा उभिन सक्दैनन् । दुवै आँखा बन्द छन् । जतिखेर पनि टाउको निहुरिइरहने । ‘साउदी जाँदा कस्तो थियो, आउँदा कस्तो भयो,’ ६८ वर्षीय इच्छालालले टेलिफोनमा कान्तिपुरसँग भने, ‘जस्तो भए पनि हराइरहेको छोरा घर त आइपुग्यो । यो नै हाम्रो लागि खुसी हो ।’

बितेको सात वर्ष प्रकाश कसरी यो अवस्थामा आइपुगे भन्नेबारे परिवारले उनी आउनुभन्दा एक साताअघि मात्रै थाहा पाएका थिए । त्योभन्दा अगाडि प्रकाश कहाँ कुन अवस्थामा थिए, कुनै खुटखबर थिएन । ‘लास नदेखेसम्म मान्छेको आस भइराख्दो रहेछ । छोरो एक दिन त अवश्य आउँछ भन्ने आसमा कुरेर बसिरहेका थियौं,’ इच्छालालले भने, ‘यो हालतमा फर्किन्छ भन्ने सोचेका पनि थिएनौं ।’ प्रकाश २०६८ असोजको पहिलो साता साउदी अरबको समी अल मुसराफ रिक्रुटमेन्ट अफिसका लागि गएका थिए । दैलेख ओभरसिजमार्फत गएका उनको तलब ८ सय रियाल तोकिएको थियो । लोडिङ–अनलोडिङको काम उनले दुई वर्षसम्म गर्न सकेनन् । केही महिनामै कम्पनीबाट भागे र अन्यत्र काम थाले । त्यसबेला राम्रो कम्पनीमा तोकिएको तलब नहुँदा र कठिन काम भएपछि कम्पनी छाडेर हिँड्ने लहर चलेको थियो । रियादस्थित नेपाली दूतावासका अनुसार २०६६ देखि २०७० सम्म हरेक दिनजसो साउदीको परराष्ट्र मन्त्रालयबाट भागेका मध्ये ५ सय नेपालीको राहदानी दूतावासमा आउँथ्यो । एक लाखभन्दा बढी नेपाली गैरकानुनी हैसियतमा थिए ।

प्रकाश दुई वर्षसम्म परिवारको सम्पर्कमै थिए । बिरामी भएपछि भने उनको सम्पर्क टुट्यो । राजधानी रियादस्थित थदिक जनरल अस्पतालको रेकर्डअनुसार २०१३ अक्टोबर २५ (२०७० कात्तिक ८) मा उनी भर्ना भएको देखिन्छ । गम्भीर प्रकृतिको मेनिन्जाइटिस रोगले उनी कोमामा गए । अस्पतालले भर्ना गर्ने बेला उनको कानुनी हैसियत नखोजी इमर्जेन्सी सेवा दिएको थियो । भेन्टिलेटरमा लामो समयसम्म राखेर उपचार गरियो । कम्पनी छोडेको कारण उपचारको जिम्मेवारी कम्पनीले लिएन । सबै अस्पतालकै जिम्मेवारीमा आइपर्‍यो । सात वर्षसम्म अस्पतालले झन्डै ४ करोड रुपैयाँको उपचार गरिदिएको छ । त्यस क्रममा दूतावासका अधिकारीहरू उनलाई भेट्न गएका थिए । ‘२०७० मै अस्पतालले बिरामीलाई नेपाल लैजानका लागि पत्राचार गरेको थियो । त्यतिखेर उनको ठेगाना केही खुलेको थिएन,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘दूतावासले परिवार पत्ता लगाउने कोसिस गरिरहेको थियो ।’

साउदी सरकारको प्रणालीमा उसको नाम र हस्तलिखित राहदानीको नम्बरमात्रै थियो । त्यसमा उनको जिल्ला खुलेको थिएन । दूतावासले ठेगाना पत्ता लगाउन राहदानी विभाग, म्यानपावर कम्पनी र वैदेशिक रोजगार विभागलाई अनुरोध गरेको थियो । सरकारी निकायबाट परिवारको पहिचान हुन सकेन । परिवारले भने आफ्नै तर्फबाट खोजिरहेको दाइ रुपकले बताए । ‘एक जना दाइ साउदी नै हुनुहुन्थ्यो, उहाँले आफ्नो हिसाबले खोज्नुभयो, साथीभाइले पनि खोजे,’ उनले भने, ‘आफै सम्पर्कविहीन भएर कतै काम गरिरहेकै होला वा जेलतिर बसेको होला जस्तो पनि लाग्यो । तर पनि बाटो हेरेर बस्यौं ।’

दूतावासका अनुसार परिवारका तर्फबाट प्रकाशको खोजीका लागि लिखित निवेदन आएन । प्रकाश एक वर्षअघि मात्रै कोमाबाट फिर्ता भएका हुन् । उनको बोली नआएपछि थप औषधि आवश्यक नरहेको भन्दै अस्पतालले लैजाने प्रबन्ध मिलाउन दूतावासलाई दबाब बढाएको थियो । काठमाडौंस्थित साउदी दूतावासले पनि कोमाका बिरामी ल्याउने वातावरण बनाउन सरकारलाई अनुरोध गरेको थियो । साउदीमा अझै सात जना कोमामा छन् ।

‘प्रकाशको परिवार पहिचान गर्न मैले चार–पाँच सय जनालाई फोन गरेँ,’ दूतावासका कन्सुलर भरत खनालले भने, ‘सबै उपाय नलागेपछि बिरामीको फोटोसहित सार्वजनिक सूचना प्रकाशन गर्नुपर्‍यो ।

त्यसपछि उनका गाउँका साथीहरू सम्पर्कमा आए । उनीहरूलाई हेर्न पठाएपछि मात्रै निश्चित भयो । अनि परिवारलाई भेट्यौं ।’ उनको घरमा ६८ वर्षीय बुबा, ६५ वर्षीया आमा, ५ दाजुभाइ र दुई बहिनी छन् । साउदीमा कार्यरत गाउँका साथीहरू भेट्न जाँदा अस्पताल प्रशासनले यति लामो समयसम्म किन भेट्न नआएको भन्दै गालीसमेत गरेको थियो । परिवारले प्रकाशबारे जानकारी पाउनासाथ दूतावासलाई उद्धार गरिदिन कात्तिक २ गते कन्सुलर विभागमा निवेदन लेखेका थिए । दूतावासले अस्पतालबाट दमाम एयरपोर्टसम्म लैजान एम्बुलेन्सको प्रबन्ध गरेको थियो । दूतावासको आग्रहमा साउदी अरबस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दमामदेखि काठमाडौं र काठमाडौंदेखि भद्रपुरसम्मको हवाई टिकट, ह्विलचियरको प्रबन्ध गरेको मध्यपूर्वका उपसंयोजक राजेन्द्र जोन अर्यालले बताए ।

प्रकाश घर फर्किएको तीन दिनमै सुधारका संकेत देखिन थालेका छन् । ‘अहिले मान्छे नै अर्कै देखिन्छ, फ्रेस भइसक्यो,’ दाइ रुपकले भने । उनका अनुसार प्रकाशले खाना खान थालेका छन् । हात–खुट्टा चलाउँछन् । अलिअलि बोली पनि आइरहेको छ । जिब्रो बाहिरभित्र गर्न सक्ने अवस्थामा छ ।

‘ओढ्ने आफैले तान्छ, आँखा पनि हेर्न थालेको छ । दिनभर टेलिभिजन हेरेर बस्छ,’ उनले भने, ‘उसका साथीभाइ भेट्न आउँदा खुसी हुन्छ ।’ प्रकाशको स्वास्थ्य अवस्था सुधार भएकाले बुबाआमा पनि दंग छन् । यसपालि दसैंमा उनले बुबाआमाको हातबाट टीकासँगै आशीर्वाद थाप्न पाए ।

प्रकाशित : कार्तिक १३, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

डाक्टर ल्याउन मासिक लाख खर्च

आनन्द गौतम

ताप्लेजुङ — सिरिजंगा गाउँपालिकाले असोज तेस्रो साता मोरङका एमबीबीएस डाक्टर भुवन सुवेदीलाई तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्रमा करारमा नियुक्त गर्‍यो । चार वर्षको कार्यानुभव भएका सुवेदीलाई अधिकृत आठौं तहमा नियुक्ति दिइएको छ ।

यो तहअनुसार उनको तलब स्केल मासिक ४० हजार ३ सय ८० रुपैयाँ हुन्छ । भदौमा बसेको गाउँ कार्यपालिकाको बैठकले उनलाई थप मासिक ५० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार स्थानीय भत्ता ३ हजार ९ सय, महँगी भत्ता २ हजार, ननप्राक्टिस भत्ता ८ हजार र जोखिम भत्तासमेत गरी मासिक ५५ हजार रुपैयाँ पुग्छ । यसमा भ्रमण भत्ता थप हुन्छ । समय निर्धारण नगरी करारमा नियुक्त गरिएका डा. सुवेदीले सबै खालका बिरामी हेर्नुपर्ने सर्त गाउँपालिकाको छ । अध्यक्ष टीका गुरुङले पोस्टमार्टमको तालिम पनि दिलाउने बताए । रेडियोलोजी एक्सरे, ल्याब र यूएसजीको व्यवस्थापनमा गाउँपालिका लागेको छ ।

तीन शय्याको प्राथमिक उपचार केन्द्रमा ७ शय्या थप गर्न लागिएको छ । यसका लागि केन्द्र सरकारले ८५ लाख रुपैयाँ दिइसकेको छ । तर यो रकमबाट चिकित्सक तथा स्वास्थ्यकर्मी राख्न पाइने छैन । पूर्वाधार निर्माण गर्नुपर्ने छ । उपचार केन्द्रमा एक जना डाक्टरको दरबन्दी छ । तर, नियुक्त भएका डाक्टर अध्ययन बिदामा विदेशमा भएकाले गाउँपालिकाले डा. सुवेदीलाई ल्याएको हो । सरकारले अर्को सरुवा नगरे डा. सुवेदीले चार वर्षसम्म यहीं रहन पाउँछन् ।

पश्चिम मेरिङदेन गाउँपालिकाले पनि एमबीबीएस डाक्टर एलिना पौडेललाई असोज अन्तिम साता नियुक्त गर्‍यो । आठौं तह अधिकृतमै नियुक्त उनले तलबबापत ४० हजार ३ सय ८० र त्यत्ति नै रकम भत्ताबापत पाउँछिन् । प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार यसमा दुर्गम र भ्रमण भत्तालगायत थप हुन्छ । सबै गरेर मासिक एक लाख रुपैयाँ अनिवार्य पाउने आङदेम्बे बताउँछन् ।

तर सुवेदीले जस्तो पौडेलले जोसुकै बिरामीलाई हेर्नु र उपचार गर्नुपर्ने बाध्यता छैन । उनी तीन महिनाका लागि कोरोना संक्रमितलाई उपचार गर्न मात्रै नियुक्त भएकी हुन् । यसका लागि संघीय सरकारले गाउँपालिकालाई १० लाख रुपैयाँ उपलब्ध गराएको छ । यो रकमबाट एक डाक्टर, दुई नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरिएको आङदेम्बेले बताए । मेरिङदेन–३ सान्थाक्राको स्वास्थ्य चौकीलाई अस्थायी उपचार केन्द्र बनाइएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिकाले पनि सरकारले दिने तलब स्केलमा शतप्रतिशत भत्ता दिने गरी डा. मनोज नेपालीलाई नियुक्त गरेको छ । गाउँपालिका अध्यक्ष भवानी लिङदेनले कोभिड–१९ अस्थायी अस्पतालमा नियुक्ति भए पनि सबैखालका बिरामी हेर्न अनुरोध गरिएको बताए । ‘उहाँ हाम्रै गाउँपालिकाको मान्छे पनि हो,’ अध्यक्ष लिङदेनले भने, ‘सबै खालका बिरामी हेर्न थाल्नुभएको छ ।’

यी तीनबाहेक ताप्लेजुङ र पाँचथरका हरेक गाउँपालिका यतिबेला एमबीबीएस डाक्टरको खोजीमा छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्व सिटौला अबको एक महिनामा जसरी पनि डाक्टर ल्याएर गाउँपालिकाको स्वास्थ्यचौकीमा राख्ने दाबी गर्छन् । अरूले जस्तै उनको गाउँपालिकाले पनि भत्ता दिने निर्णय कार्यपालिका बैठकबाट गरेको छ । सेवा, सुविधा र सर्तसहितको विज्ञापन पनि खोलेको उनले बताए । आवेदन मागेर पनि डाक्टर नपाएको पाँचथरको फालेलुङ गाउँपालिकाले नर्स राखेर कोभिड अस्पताल सुरु गरेको छ । त्यसका लागि केन्द्र सरकारबाट आएको १० लाख रुपैयाँ दिएको छ । प्रयास जारी रहेको र डाक्टर पाउनेमा आशावादी रहेको प्रमुख प्रशासकीय अधिकृत विनोद चौहान बताउँछन् ।

सिरिजंगाका अध्यक्ष गुरुङले याम्फुदिनमा भएको घटनामा डाक्टरको अभाव अत्यन्तै महसुस भएको वताए । गाउँपालिका केन्द्रदेखि पैदल सात/आठ घण्टा लाग्ने उक्त स्थानमा असोज पहिलो साता एक व्यक्तिले तीन जनालाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए । ‘मान्छेले स्ट्रेचर, ढाकरमा बोकेर ल्याउने सम्भावना नै भएन । हेलिकप्टर मौसमका कारण बस्नैलाई कठिन भयो,’ गुरुङले भने, ‘यस्तो परिस्थितिमा डाक्टरलाई देखाउन सके एउटा सन्तोष हुने रहेछ ।’

प्रकाशित : कार्तिक १३, २०७७ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×