प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए रअ प्रमुख गोयल

कार्तिक ६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख  सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । 

रअ प्रमुख गोयल बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

भेटका क्रममा उनले नेपाल-भारतबीचको  मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको पनि प्रेस सल्लाहकार थापाले  बताएका छन् । 

केही सञ्चारमाध्यममा रअ प्रमुख गोयलले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेको समाचार प्रकाशित भए पनि त्यसलाई दाहालको सचिवालयले खण्डन गरेको छ । त्यस्तै नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि रअ प्रमुखलाई भेटेको भन्ने खबर झुटो भएको स्पष्टीकरण दिएका छन् । 

रअ प्रमुख गोयल बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । विमानस्थल स्रोतका अनुसार गोयल सोही विमानमा बिहीबार बिहान सवा १० बजे नयाँ दिल्ली फर्किएका हुन् ।

कान्तिपुर

Link copied successfully