कर्मचारी संक्रमित भएकाले लोकसेवाका परीक्षा प्रभावित हुन सक्ने

तीनवटा शाखा बन्द, करिब २० जना कर्मचारी क्वारेन्टाइनमा

आश्विन ३०, २०७७

कृष्ण ज्ञवाली

काठमाडौँ — लोकसेवा आयोगले आगामी मंसिर र पुसमा लिने भनिएको परीक्षा प्रभावित हुन सक्ने देखिएको छ । कर्मचारीहरूलाई कोरोना संक्रमण देखिएपछि आयोगका तीन महत्त्वपूर्ण शाखा बन्द गराइएका छन् ।

ती शाखाका कर्मचारी दसैंअघि काममा फर्किन सक्ने सम्भावना नरहेकाले परीक्षा प्रभावित हुन सक्ने आयोगस्रोतले जनायो ।

विज्ञापन प्रकाशन, प्राविधिक र अप्राविधिकतर्फको लिखित नतिजा प्रकाशन शाखाहरू बन्द गरिएको छ । ‘केही कर्मचारीलाई संक्रमण देखिएपछि सँगै काम गर्ने कर्मचारी क्वारेन्टाइनमा रहनुभएको छ । यी तीन शाखा दसैंअघि खुल्ने सम्भावना छैन,’ स्रोतले भन्यो, ‘कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीहरूमा समेत संक्रमण देखिए परीक्षाको तयारी अझै प्रभावित हुन सक्छ ।’ अब हुने भनिएका परीक्षा प्रभावित भए हालै आयोगले निकालेको विज्ञापन पनि प्रभावित भई परीक्षा तालिका पछाडि धकेलिनेछ ।

सहकर्मीलाई संक्रमण देखिएपछि शुक्रबारसम्म केन्द्रिय कार्यालयका करिब २० जनाभन्दा बढी कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । सामान्य प्रशासन मन्त्रालयबाट रिक्त दरबन्दीबारे पत्राचारमा खटिने कर्मचारीलाई सुरुमा संक्रमण देखिएको थियो । अहिले चार जनामा संक्रमण देखिएको आयोगस्रोतले बतायो । आयोगले केही दिनमै उपसचिवको नतिजा निकाल्ने तयारी गरेकोमा त्यो पनि पछाडि सर्ने भएको छ । 

लोकसेवा आयोगले गत चैतमा लकडाउनपछि रोकिएका परीक्षा फेरि सुरु गर्ने तयारी गरेको थियो । लोकसेवाले गत १९ र २२ गते सूचना निकालेर प्राविधिक अधिकृतको परीक्षा तालिका सार्वजनिक गरेको थियो । 

त्यसै गरी आयोगले नासु र खरिदारको परीक्षा तालिका पनि प्रकाशित गरेको थियो । 

त्यही परीक्षालाई दृष्टिगत गरी लोकसेवाले संक्रमितहरू परीक्षामा सहभागी हुन नपाउने भनी मापदण्ड सार्वजनिक गरेको थियो । मापदण्डका कारण संक्रमितप्रति विभेद हुने भनी दर्ता भएको निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले विभेदकारी प्रावधान कार्यान्वयन नगर्न आदेश दियो । त्यो आदेशपछि समेत परीक्षा तालिका प्रभावित हुने स्रोतले बतायो । ‘संक्रमित परीक्षामा सहभागी नहुँदा एउटा ढंगको तयारी गरे पुग्ने थियो,’ स्रोतले भन्यो, ‘संक्रमितले समेत परीक्षा दिन पाउने भएपछि त्यही अनुसारको तयारी चाहिन्छ, जुन निकै कठिन काम हो ।’ आगामी सोमबार बस्ने आयोगको नियमित छलफलमा यसबारे निर्णय हुनेछ । 

कृष्ण

Link copied successfully