कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिलीबाट सुरु भएको 'बलात्कारी होस् तँ' अभियान माइतीघरमा

बलात्कार र यौन हिंसाविरुद्ध चिलीबाट सुरु भएको महिला आन्दोलनमा प्रयोग भएको 'द रेपिस्ट इज यु' गीत अहिले विश्वभर बलात्कारविरुद्ध भइरहेका प्रदर्शनमा प्रयोग भइरहेको छ ।
बुनु थारु

काठमाडौँ — देशमा पछिल्लो समय बलात्कारको घटना बढी सुनिन थालेको छ । दोषीलाई कारबाही गर्नुपर्छ भनेर विभिन्न माध्यमबाट आवाज उठिरहेका छन् ।

चिलीबाट सुरु भएको 'बलात्कारी होस् तँ' अभियान माइतीघरमा

यस्तै बलात्कारका घटनाबाट पीडितहरुले न्याय पाउनुपर्ने लगायतका नारासहित शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सबैजनाले कालै कपडा र आँखामा कालोपट्टी बाँधेका थिए । 'पोलिटिकल लिटरेसी फोर वुमन' नामक संस्थाको अगुवाइमा करिब २५ जना युवतीहरु प्रर्दशनमा सहभागी थिए ।

हातमा 'अझै कति सहने' भन्ने मूल नाराका साथ ‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारासहित प्लेकार्ड बोकी युवतीहरुले धिमे बाजाका आवाजमा ‘राज्य बलात्कारी होस् तँ’ भन्दै प्रदर्शन गरेका थिए ।

अभियानकी नेतृत्वकर्ता प्रकृति भट्टराई बस्नेतले विश्वभर नै बलात्कार विरुद्धको प्रर्दशन भइरहेकोले आफूहरु पनि प्रर्दशनका लागि सडकमा उत्रेको बताइन् । प्रकृति भन्छिन्, ‘दिनहुँजसो बलात्कारका घटना भइरहेका छन् तर कसरी यसलाई कम गर्न सकिन्छ त्यो कुरा भएको छैन ।’

‘सबैले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भनेर वकालत गरिरहेका छन् तर यो समस्याको समाधान हो त ? मृत्युदण्ड दिने देशहरुमा पनि यस्ता घटनाहरु देखिन छोडेको छैन । बलात्कारीलाई सजाय हुन्छ भन्ने के ग्यारन्टी छ र ?’ प्रकृतिले भनिन्, ‘चिलीबाट सुरु भएको यो अभियानमा हामीले पनि ऐक्यबद्धता जनाएको हौं । यसलाई देशव्यापी बनाएर लाने सोच रहेको छ ।’

बलात्कार र यौन हिंसाविरुद्ध चिलीबाट सुरु भएको महिला आन्दोलनमा प्रयोग भएको 'द रेपिस्ट इज यु' गीत अहिले विश्वभर बलात्कारविरुद्ध भइरहेका प्रदर्शनमा प्रयोग भइरहेको छ ।

नेपालमा प्रदर्शनहरु सिर्जनात्मक नै छैन भन्नेहरुलाई र सडकमा महिलाहरु पनि यसरी एकजुट भएर प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न पनि यो प्रदर्शन गर्ने सोचेको प्रकृतिले बताइन् ।

तल्लो तहबाट नै यौन शिक्षा दिने तथा प्रहरी र नागरिक समाजबाट बलात्कारविरुद्ध जनचेतना जगाउन आवश्यकता रहेको र बलात्कारका घटनाको राम्ररी छानबिन हुनुपर्ने र बलात्कारीलाई केही समयपछि रिहा होइन कडा भन्दा कडा कारबाही हुनुपर्ने प्रकृतिको भनाइ छ ।

'देशमा महिला राष्ट्रपति हुनुहुन्छ, बलात्कारका घट्ना दिनानुदिन बढ्दैछ तर उहाँले यससम्बन्धी केही सम्बोधन गर्नुभएको छ? उहाँको उपस्थिति नै हामीले महसुस गर्न पाएका छैनौं,' उनले प्रश्न गरिन् ।

प्रकाशित : आश्विन २४, २०७७ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?