पोखरा — कास्कीको मादी–१० मकैखोलाकी कोपिला परियारको शव अर्धनग्न अवस्थामा सडेगलेको फेला परेको थियो । असार २५ मा मादी–११ मुखियाशेरको पातीघारीमा फेला परेको शवको नमुना भिसेरा जाँचका लागि प्रहरीले काठमाडौंको विधि विज्ञान प्रयोगशाला पठाएको थियो । तीन महिना बितिसक्दासमेत रिपोर्ट नआउँदा मृत्यु कारण अझै रहस्यमय छ ।
कोपिला सानै छँदा बुबा र आमाको सम्बन्ध बिग्रियो । बुबा खाडीतिर हानिए । कोपिला मामाघरकै हजुरबा/ हजुरआमासँग बस्न थालिन् । पछि उनलाई नेपाल नामक गैरसरकारी संस्थाले पोखरामा संरक्षणमा राखेको थियो । १० वर्षपछि पोहोर मकैखोला फर्केकी थिइन् ।
मानसिक अवस्था कमजोर थियो । असार १५ मा उनी अबेरसम्म घर फर्किनन् । हजुरबुबा कुलबहादुरले सोधखोज गरे । असार २५ मा मुखियाशेरमा गोठालाले कुहिएको अवस्थामा शव देखे । शरीरको माथिल्लो भागमा कुर्ता थियो । कम्मरमुनि सुरुवाल थिएन । काका मैतलाल परियारले असार २६ मा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिए ।
अनुसन्धान भइरहेको जवाफ दिने गरे पनि प्रहरीले उक्त घटनाको वास्तविकता बाहिर ल्याउन सकेको छैन ।
