प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी, नाम लुम्बिनी राख्‍न प्रस्ताव

आश्विन १६, २०७७

अमृता अनमोल

रूपन्देही — प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका छन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।

यसअघि शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको मन्त्री केसीले बताए ।

दाङको देउखुरीलाई केन्द्रमा राखेर गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव मन्त्री केसीले प्रदेश सभामा प्रस्तुत गरेका हुन् । 

नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । प्रदेश सभाले स्थायी राजधानी र नामको बारेमा निर्णय गर्नका लागि कार्यदल गठन गरेको थियो । 

प्रदेश सभामा मन्त्री केसीले प्रस्ताव पेस गरेपछि केही सांसदहरूले भने विरोध जनाएका थिए ।

यसअघि गण्डकी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशले नाम र राजधानीबारे टुंगो लगाइसकेको छ । प्रदेश १ र प्रदेश २ ले भने नाम र राजधानीबारे टुंगो लगाउन सकेको छैन । 

प्रदेश मन्त्रिपरिषद्को यो निर्णयसँगै प्रदेश ५ मा प्रदेश राजधानी  रुपन्देही बनाउने कि दाङलाई बनाउने भन्ने विषयमा विवाद थियो । अब उक्त विवाद टुंगिएको छ ।

प्रदेश सभाको अर्को बैठक असोज १९ गते बोलाइएको छ ।

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully