कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडकै मुखमा समेत भारत जानेको लर्को

दलालबाट नक्कली कागजात बनाएरै भए पनि दैनिक एक हजार जना भारत पस्दै
मोहन बुढाऐर

धनगढी — कैलाली बर्दगोरियाका सन्दीप कामी हरेक वर्ष यतिबेला भारतबाट दसैं मनाउन घर आउँथे । तर, यो वर्ष दसैं आउनुअघि नै उनी रोजगारी खोज्दै भारत पसे । उनले घरआँगनमै रमाएर दसैं मनाउन नपाउने भएका छन् ।

चाडकै मुखमा समेत भारत जानेको लर्को

‘दसैं सप्रिए हिउँद सप्रियो, बिसु (नयाँ वर्षको पहिलो दिन) सप्रिए बर्खा पनि सप्रियो भन्छन् नि,’ उनले भने, ‘यो वर्ष कोरोनाले गर्दा दसैंको मुखमा परिवारबाट बिछोडिनुपर्‍यो ।’ बुधबार कैलालीको गौरीफन्टा नाकामा भेटिएका सन्दीपले घरमा खान पनि नपुगेपछि भारत पस्नुपरेको दुखेसो पोखे । उनले यो महिनाभित्र ५/७ हजार खर्च पठाउन सके परिवारले दसैं मनाउला भनेर भारत जान लागेको बताए ।

डोटी नानेकेदारका जग्गु विकले पनि घरमा एक मुठी अनाज नभएको र कमाइ केही नभएपछि दसैंतिहार पर्खेर बस्न नसकिएको बताए । ‘परिवारका अरू सदस्यको दसैं सपार्न पनि एक जनाले भारतबाट कमाएर पठाउनुपर्ने बाध्यता छ,’ उनले भने । उनले नेपालमै काम पाउन नसकेसम्म भारत जाने पीडाबाट मुक्त हुन नसकिने बताए । जग्गु गत वैशाखमा कोरोना महामारीको डरले भारतबाट घर फर्केका थिए । ६ महिना घरमा बस्दा केही गर्न नसकेको र रोजगारी पनि नपाएकाले अन्तिममा फेरि भारत पसेको उनको भनाइ छ ।

मुख्य चाड दसैंतिहारको मुखैमा भारत जाने सयौं जनाको लर्को हरेक दिन गौरीफन्टा नाकामा देखिन्छ । गौरीफन्टा नाकास्थित सशस्त्र सुरक्षा बलका प्रहरी निरीक्षक राजेन्द्र कुँवरले भारत जानेको संख्या दिनहुँ बढ्दै गएको बताए । उनका अनुसार हरेक दिन एक हजारभन्दा बढी नेपाली भारत पसिरहेका छन् । गौरीफन्टा नाकाबाट लकडाउन खुलेयता ३९ हजार २ सय ८५ जनाले सीमा पार गरेको उनले जानकारी दिए ।

नाकामै भेटिन्छन् दलाल

भारतले आधारपत्र, रासन कार्ड र मजदुर पास पाएकालाई मात्रै प्रवेश गर्न दिएको छ । कागजात नबोकेका नेपालीले नाकामा बसेका दलालहरूले बनाइदिने नक्कली कागजात बनाएर समेत सीमा पार गरिरहेका छन् । ‘खान नपाएर मर्नुभन्दा जसरी पनि भारत पस्नुपरेको छ,’ एक युवकले भने । उनका अनुसार नाकामा नक्कली कागजात बनाउने दलाल भेटिने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले नक्कली कागजात मिलाएर भारत पठाउने तीन जना नेपालीलाई पक्राउ गरेको बताए ।

कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारीले कोरोना महामारीमा घर आएका नेपालीलाई तीन महिना पनि रोक्न नसक्नु सरकारको निकम्मापन भएको बताए । ‘कृषिमा आधारित थुप्रै कार्यक्रम तुरुन्तै दिएर रोजगारी दिन सकिन्थ्यो,’ उनले भने, ‘रोजगारी सिर्जना गरेर तरकारी उत्पादनमा आत्मनिर्भर पनि हुन सकिथ्यो ।’

स्वरोजगार कार्यक्रमबारे अनभिज्ञ

सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयका प्रवक्ता हेमराज अवस्थीले कोरोना महामारीका बेला भारत जाने युवालाई रोक्न कृषिमा आधारित कार्यक्रममा सहभागी हुन भदौ १६ गते सूचना जारी गरेको बताए । उनका अनुसार १५ करोडको बजेट रहेको उक्त कार्यक्रमबाट ९ हजारभन्दा बढीले कृषिका विभिन्न उद्योग र व्यवसाय सञ्चालन गरेर स्वरोजगार प्राप्त गर्न सक्छन् । तर यस कार्यक्रमबारे अधिकांश युवाले थाहै नभएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : आश्विन १५, २०७७ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?