कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियामा नेपाली नागरिकलाई बन्धक बनाई १६ लाख असुल्ने पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियामा एक जना नेपाली नागरिकलाई नै बन्धक बनाई रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरपुरका ४४ वर्षीय डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी फिरौती असुलेको आरोपमा नेपालको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको हो ।

मलेसियामा नेपाली नागरिकलाई बन्धक बनाई १६ लाख असुल्ने पक्राउ

मलेसियामा टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने दुर्गाबहादुर श्रेष्ठले श्रीमती धनमाया श्रेष्ठ र ड्राइभर श्याम नेपालीको सहयोगमा मलेसियामै काम गर्ने रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएको ब्यूरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले बताए । रैदासलाई ७ दिनसम्म बन्धक बनाई उनकी श्रीमतीलाई फोन गरी हिमालयन बैंकको खातामा ६० हजार रिङ्गिट हालेमा मात्र श्रीमानको ज्यान रहने भन्दै दुर्गाबहादुरले धम्की दिएका थिए ।

रैदासकी श्रीमतीले पटक-पटक गरी १५ लाख ९२ हजार आफ्नो खातामा हालिदिएपछि मात्रै दुर्गाबहादुरले अपहरणमुक्त गरेका थिए । उनले रैदासको राहदानीसमेत आफ्नो कब्जामा लिई उनलाई नेपाल आउन दिएका थिएनन् ।

पीडितकी श्रीमतीको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा दुर्गाबहादुर नेपाल आएको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो । त्यसैका आधारमा खोजतलास गर्दा उनलाई असोज १३ गते काठमाडौंको कान्ती बाल अस्पतालनजिकबाट बा १४ च २११२ नम्बरको जिपबाट पक्राउ गरिएको एसपी पाण्डेले जानकारी दिए ।

साथै दुर्गाबहादुरले मलेसियामा काम गर्न गएका अन्य नेपाली कामदारलाई समेत धम्काई कुटपिट गरेको पनि खुल्न आएको प्रहरीले बताएको छ । अन्य व्यक्तिलाई समेत मध्म रैदासलाई गरेजस्तै अपराध गरेको हुनसक्ने देखिएकाले अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।

प्रकाशित : आश्विन १४, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?