दिनहुँ ७ जनाको बलात्कार, चैतयता १२२१ बलात्कृत - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिनहुँ ७ जनाको बलात्कार, चैतयता १२२१ बलात्कृत 

अपराध ढाकछोप गर्न पञ्चायती बसे तत्काल नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयको निर्देशन
मातृका दाहाल

काठमाडौँ — बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको शव असोज ७ गते स्थानीय शिवमन्दिर नजिकै फेला पर्‍यो । घटना भएकै दिन खिकालाकै राजेन्द्र बोहरा पक्राउ परे । सम्झनालाई बलात्कार र त्यसपछि हत्या बोहराले गरेको दाबी प्रहरीले गर्दै आएको छ । बोहराले आरोप स्विकारेका छैनन् । शव अझै जिल्ला अस्पतालमा छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया संगीता मण्डलमाथि गत भदौ २९ गते सामूहिक बलात्कार भयो । पीडित युवती परिवारको सहयोगमा उजुरी दिन प्रहरीमा जान खोजिन् । तर पञ्चायती (कचहरी) बसी युवतीलाई पैसा दिएर घटना सामसुम पार्न खोजियो । पञ्चायती बसेको जानकारी भए पनि प्रहरीले देखेको नदेखै गर्‍यो । उजुरी दिनसमेत नपाएकी किशोरीले आत्महत्या गरिन् ।

धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरकी १५ वर्षीया किशोरी गत भदौ १ मा धनुषाधामको नौ सय बिघास्थित दिदीको घरबाट फर्किने क्रममा धर्मपुरमा युवाको समूहबाट बलात्कृत भइन् । परिवारको सहयोगमा किशोरीले प्रहरीमा उजुरी दिन खोज्दा पञ्चायती राखेर केस सामसुम गर्न खोजियो । पीडित र परिवारले मानेनन् । आरोपितमध्येका एक विजय यादवका बाबु सत्यनारायणले १२ लाख दिने भन्दै किशोरी र परिवारलाई ज्यान मार्नेसम्मको धम्की दिए । तर पीडितले प्रलोभन अस्वीकार गर्दै प्रहरीमा जाहेरी दिइन् ।

बर्दियाको राजापुर नगरपालिकाकी विवाहित युवतीले आफूलाई बलात्कार र आफ्नी बहिनीलाई यौनदुर्व्यवहार गरेको आरोप लगाउँदै कैलालीस्थित नेपाल–भारत सीमा क्षेत्र श्रीलंका गाउँमा तैनाथ सशस्त्र प्रहरी जवानविरुद्ध आइतबार स्थानीय वडा कार्यालयमा उजुरी दिइन् । जघन्य आरोपसँग सम्बन्धित उजुरी अझै प्रहरीमा दर्ता भएको छैन । गम्भीर किसिमका अपराध र आरोपसम्बन्धी उजुरी पीडितले नदिए पनि प्रहरी आफैंले दर्ता गरेर अनुसन्धान गर्न सक्छ ।

यी चारवटै अपराध पछिल्लो समय चर्चामा आएका घटना हुन् । बझाङको हत्या घटनाले २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याकै झल्को दिएको छ । सतहमा आएका बाहेक पनि बलात्कारका घटना दिनहुँजसो भइरहेको प्रहरीले जनाएको छ । अधिकांश घटना चिनेजानेकै व्यक्तिबाट हुने गरेको पाइएको छ ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार धनुषा र सप्तरीका घटनापछि फौजदारी अपराध ढाकछोप गर्ने तथा प्रहरीमा उजुरी दिन रोक्नेलाई पक्राउ गरेर मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । स्थानीय तहका न्यायिक समितिले पनि जानअन्जानमा यस्ता घटना मिलाउन खोजे संलग्नलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याउन देशभरका युनिटलाई परिपत्र गरिएको छ । कडायतले कोरोना महामारी सुरु भएपछि दिनमा औसत ७ जनाको बलात्कार हुने गरेको उल्लेख गर्दै यस्तो अपराधमा संलग्न एकाधबाहेक अधिकांश कारबाहीको दायरामा ल्याइएको दाबी गरे ।

पछिल्ला दिनमा बलात्कारका घटना बढ्दै गएपछि सर्वसाधारणदेखि सांसदसम्मले दोषीलाई मृत्युदण्ड हुने कानुन ल्याउनुपर्ने माग अघि सारेका छन् । केही महिला सांसदले अनौपचारिक छलफलका क्रममा बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय हुने गरी प्रस्ताव अघि सारे पनि त्यो तत्काल असम्भव रहेको नेकपा सांसद बिन्दा पाण्डेले बताइन् । ‘बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय हुनुपर्ने माग आएको छ तर यो अहिले सम्भव देखिँदैन,’ उनले भनिन्, ‘यो विषयमा बहस र छलफल गर्न सकिन्छ तर राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुन तथा सन्धिसम्झौताले हामीलाई यसमा जान दिँदैन ।’ भएका कानुनको पालना र तल्लो तहसम्म जनचेतना फैलाए बलात्कार र यसका प्रयाससम्बन्धी अपराध नियन्त्रणमा सघाउ पुग्ने उनले बताइन् । उनले दाताको पैसासँग हाम्रा स्वविवेकीय अधिकार साटेका कारण एक्लै विशिष्टीकृत किसिमका कानुन बनाउन कठिन रहेको बताइन् ।

कतिपयले हालै जारी गरिएको एसिड अपराधविरुद्धको कानुनजस्तै बलात्कारका घटनामा पनि कठोर सजायको व्यवस्था हुनुपर्ने माग उठाएका छन् । भएका कानुन कडाइका साथ पालना गर्न भने धेरैको नजर पुगेको देखिँदैन । मुलुकी अपराध संहिता २०७४ मा जबर्जस्ती करणीसम्बन्धी अपराध गर्नेविरुद्ध कडा सजायको प्रावधान छ । संहिताको दफा २१९ मा विवाहिता श्रीमतीसँग करकापमा शारीरिक सम्पर्क राख्नसमेत नपाइने उल्लेख छ । करकारपमा सम्बन्ध राखे श्रीमान्लाई ५ वर्षसम्म कैदसजाय हुन सक्छ । करणी कसुरमा उमेर र अवस्था तथा घटनाको प्रकृतिअनुसार ५ वर्षदेखि २० वर्ष सम्म कैद सजाय हुन सक्छ । दोषीलाई सजाय माफी/मिनाहा पनि हुँदैन ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी यस्ता अपराधविरुद्ध प्रभावकारी अनुसन्धान र अभियोजन तथा बिनादबाब र प्रभाव न्याय सम्पादन हुन सके अहिलेकै सजायका प्रावधान कठोर रहेको बताउँछिन् । भएकै कानुन पालनामा इमानदारी नदेखाएर सस्तो लोकप्रियताका लागि मृत्युदण्ड चाहिन्छ भन्नु अतिवाद भएको उनको धारणा छ । ‘हामी प्रजातान्त्रिक पद्धति र हरेक व्यक्तिको बाँच्न पाउने अधिकार भएको कानुनमा छौं, संविधानले पनि यही व्यवस्था अँगालेको छ,’ अन्सारीले कान्तिपुरसँग भनिन्, ‘अनुसन्धान गर्ने प्रहरी र मुद्दाको अभियोजन गर्ने सरकारी वकिलले दबाब र प्रभावमा नपरी

जिम्मेवारी निर्वाह गर्ने हो भने बलात्कार र बलात्कारको प्रयास गर्नेलाई कारबाही गर्न अहिले भएकै प्रावधान पर्याप्त छन्, मृत्युदण्डको कुरा अतिवादी सोच हो ।’ पहुँच र प्रभाव नभएको पीडितले बिनाभनसुन सहजै कानुनी अनुभूति गर्ने गरी अनुसन्धान र न्याय सम्पादन हुनुपर्ने उनको भनाइ छ ।

अपराधमा संलग्न आफन्त, नातागोता, छरछिमेकलाई जोगाउन अपराधका तथ्य र प्रमाण लुकाउने, उजुरी दिन व्यवधान खडा गरेको, अपराधीको इज्जत/प्रतिष्ठा पीडितले धानिदिनुपर्ने प्रवृत्ति हाबी हुँदा अपराधीको मनोबल बढ्ने गरेको अन्सारीको टिप्पणी छ । प्रहरी प्रवक्ता कडायतले जघन्य अपराधमा सम्झौतारहित अनुसन्धान हुने गरेको र प्रहरीका कामकारबाही पीडितकै पक्षमा भएको दाबी गरे । ‘पीडितलाई संरक्षण गर्दै अपराधमा संलग्नलाई तथ्य र प्रमाणका आधारमा कारबाहीको दायरामा ल्याइएको छ, एकाध घटना अनुसन्धानकै क्रममा भएकाले नतिजा ढिलो आउन सक्छ,’ उनले भने, ‘मुख्य कुरा अपराध नियन्त्रणमा प्रहरीले तत्काल रेस्पोन्स गर्‍यो कि गरेन, अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन सत्प्रयास भयो कि भएन वा वैज्ञानिक प्रमाणमुखी अनुसन्धान छ कि छैन भन्ने हो ।’

पीडक चिनेजानेकै

प्रहरीका अनुसार बलात्कार र बलात्कार प्रयाससम्बन्धी ८२ प्रतिशतभन्दा बढी अपराध आफन्त, नातेदार, छिमेकी तथा अन्य चिनेजानेकैबाट हुने गरेको छ । जसका कारण कतिपय केस प्रहरी अनुसन्धानमा नआई गुपचुप मिलाउने गरेको देखिन्छ । पछिल्ला ४ वर्षको तथ्यांकले पनि यौनजन्य अपराधमा चिनजानकै मानिसको संलग्नता बढी देखिन्छ । कोरोना महामारीका बेला २०७६ चैत देखि २०७७ भदौसम्ममा मात्रै मुलुकभर १ हजार २ सय २१ जनाको बलात्कार भएको छ जुन दिनमा औसत करिब सात जना हुन्छ ।

चैतमा १ सय ३४, वैशाखमा १ सय ५२, जेठमा १ सय ९६, असारमा २ सय ४०, साउनमा २ सय ६६ र भदौमा २ सय ३३ जनाको बलात्कार भयो । यो आँकडाअनुसार भदौबाहेक हरेक महिना अपराधको ग्राफ बढ्दो छ । यो अवधिमा विवाहिता महिलादेखि युवती र किशोरी/बालिकासम्मको बलात्कार भएको छ । २०७५ चैतदेखि २०७६ भदौसम्ममा भने बलात्कारका घटना १ हजार २ सय २४ वटा घटना भएका थिए । अपराधमा नातेदार र चिनेजानकैको संलग्नता तथा ‘अपराधीको प्रतिष्ठा’ जोगाइदिन यस्ता केही केस दर्ता नै नहुने प्रवृत्ति देखिएको छ ।

पञ्चायतीजस्ता अनौपचारिक संयन्त्र प्रयोग गरी केस प्रहरीसम्म जानै नदिने प्रपञ्च हुने गरेका छन् । २०७४ पछि स्थानीय तहमै उपाध्यक्ष/उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिबाट पनि यस्ता अपराध गुपचुप मिलाउँदा अपराधी सजिलै उम्किन सक्ने जोखिम रहेको अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकारी बताउँछन् । २०७३/०७४ देखि २०७६/०७७ सम्मका ४ वर्षमा बलात्कारका ७ हजार ८ सय २५ वटा घटना भए । यसमध्ये ५ हजार ९ सय ९४ वटा घटनामा नातेदार, साथी, शिक्षक, छरछिमेक र अन्य चिनजानका मानिसको संलग्नता देखिएको छ । जसका कारण अपराध लुकाउन धेरै पक्षबाट दबाब दिने वा प्रहरीमा उजुरी गर्नबाट रोक्ने प्रवृत्ति बढेको हुन सक्छ ।

अपराधमा संलग्नको ‘तथाकथित सामाजिक प्रतिष्ठा’ मा आँच आउन नदिन भन्दै स्थानीयबाटै अपराध गुपचुप राख्ने, आर्थिक प्रलोभनमा पार्ने, धम्की दिने जस्ता हर्कतले पीडितलाई न्याय दिलाउनेमा थप चुनौती खडा हुन पुगेको छ । मानवअधिकार आयोगकी सदस्य अन्सारी वलात्कार जस्तो जन्य अपराधमा भोटको राजनीतिले पनि पीडितलाई थप पीडामा राख्ने गरिएको बताउँछिन् । अनुसन्धान र अभियोजन गर्ने पक्षले पीडितको संरक्षण गर्न नसकेको उनको भनाइ छ ।

५ वर्षमा ८ हजार ७४ घटना

बलात्कार र बलात्कार प्रयासविरुद्ध कठोर कानुनी कारबाही गर्नुपर्ने माग हरेक घटनापछि उठ्ने गर्छ । राजनीतिक दलका नेता/कार्यकर्तादेखि सामाजिक अभियन्ता हुँदै सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालसम्म यसको चर्चा हुन्छ । तर अपराधमा सार्वजनिक पद धारण गरेकादेखि ‘प्रतिष्ठा’ आर्जन गरेका व्यक्ति मुछिएपछि सार्वजनिक धारणा र बहस पनि विभाजित हुने गरेका छन् ।

कतिपय यौनजन्य हिंसामा पीडित भनिएका पक्षबाट पनि अर्को पक्षमाथि आर्थिक मोलमोलाईमा अपराध ढाकछोप गर्न खोजिएका घटना पनि हुने गरेका छन् । तर यसविरुद्ध सबैको एकमत अझै हुन सकेको छैन । नेपाल प्रहरीको तथ्यांक अनुसार २०७२/७३ देखि २०७६/७७ सम्मको ५ वर्षमा बलात्कारका ८ हजार ७४ घटना र बलात्कार प्रयासका ३ हजार १ सय ८८ वटा केस प्रहरीमा दर्ता भए । यो अपराध आरोपमा बहालवाला सभामुख कृष्णबहादुर महरादेखि नेपाल प्रहरीका एसएसपी सौरभ राणासम्म मुछिए । तर दुवै जनाले आरोपबाट सफाइ पाए ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा १ हजार ८०, २०७३/७४ मा १ हजार ३ सय ३१, २०७४/०७५ मा १ हजार ४ सय ८०, २०७५/७६ मा २ हजार २ सय ३० र २०७६/७७ मा २ हजार १ सय ४४ जनामाथि बलात्कार भएको छ । २०७२ देखि २०७६/७७ को अवधिमा क्रमशः ४ सय ५२, ५ सय ३६, ७ सय २७, ७ सय ८६ र गएको वर्ष ६ सय ८७ जनामाथि बलात्कार प्रयास भए ।

प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले देशभर बलात्कारलगायत लैगिक हिंसाका अपराधसम्बन्धी ८५ प्रतिशत घटनामा महिला/बालबालिका पीडित हुने गरेको बताए । लैगिक हिंसामध्ये ११ प्रतिशत बलात्कारका घटना छन् ।

प्रकाशित : आश्विन १४, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्

चीनले नाका खोल्यो, पहिरोले रोक्यो

चिनियाँ दूतावासले नाका खोलेको घोषणा गरेपछि रसुवागढीबाट करिब १५ कन्टेनर सामान भित्रियो तर पहिरो गएपछि आउजाउ ठप्प छ, तातोपानी नाका खुलेकै छैन
गर्मीका लागि पुस–माघमा किनेको सामान केरुङमै, दसैंलाई झिकाइएका सामान बजार नपुग्ने व्यवसायीको चिन्ता
एक सातापछि तातो पानी खुलाउने चीनको आश्वासन
ऋषिराम पौड्याल

काठमाडौँ — चिनियाँ दूतावासले रसुवागढी र तातोपानी नाका खुलेको घोषणा गरेको एक साता बिते पनि नेपाली व्यवसायीले सहज रूपमा सामान आयात गर्न पाएका छैनन् । रसुवाबाट यो अवधिमा मुस्किलले १५ कन्टेनर सामान राजधानी भित्रिएको छ । यातायातका साधनको आउजाउ ठप्प हुने गरी नाकानजिकै केरुङ सडकमा चार दिनअघि पहिरो गएको छ । एक महिनादेखि बन्द तातोपानी नाका सञ्चालनमै आएको छैन ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियओलङले नेपाललाई मेडिकल लगायतका सामग्रीको आवश्यकतालाई ख्याल गरेर एकतर्फी रूपमा दुवै भन्सार नाका खुलाएको वक्तव्य दिएका थिए । सीमा प्रशासनका नेपाली अधिकारीसँग मंगलबार मितेरी पुलमा भएको बैठकमा ल्हासा प्रशासनबाट आएका चिनियाँ अधिकारीहरूले तातोपानी नाका स्वास्थ्य मापदण्ड अपनाएर सातापछि खुल्ने जानकारी गराएका छन् । तातोपानीबाट करिब ९ किमि टाढा खासामा डेढ सय कन्टेनर सामान ६ महिनादेखि थन्केका छन् । भूकम्पपछि चीनले यो नाका चार वर्ष बन्द गरेको थियो । पाँच वर्षदेखि तातोपानीबाट सर्वसाधारणको आउजाउ पूर्ण रूपमा बन्द छ ।

रसुवागढी नाका खुलेको भनिए पनि सहज रूपमा व्यापार हुने परिस्थिति नबनेपछि व्यापारीले दसैंका लागि झिकाएका चिनियाँ सामान बजार पुर्‍याउन नसक्ने भएका छन् । केरुङमा सयौं कन्टेनर सामान गोदाम गरिए पनि चीनले दिनमा १०–१२ कन्टेनर मात्र रसुवागढी ल्याइदिने गरेको छ । यो दरले भित्र्याउँदा केरुङमा रहेको सामान आइपुग्न महिनौं लाग्ने व्यवसायीको गुनासो छ । गोदाम र बाटैमा अलपत्र अर्बौंका सामान ल्याउन नसक्दा व्यवसायी उठ्नै नसक्ने गरी थला परेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलको भनाइ छ ।

रसुवागढी नाका नजिकैको केरुङ सडकमा गएको पहिरो पन्छाउन अझै कम्तीमा दुई दिन लाग्ने चिनियाँ पक्षले जानकारी दिएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । ‘पारिपट्टि पहिरो ठूलो गएको वारिबाटै देख्छौं,’ उनले भने, ‘उनीहरूले सकभर छिट्टै खुलाउन प्रयास गरिरहेको जानकारी दिएका छन् ।’ खड्काका अनुसार रसुवा प्रशासन र चिनियाँ अधिकारीहरूबीच बुधबार मितेरी पुलमा बैठक बस्दै छ । नेपाली व्यवसायीले ९ महिनाअघि खरिद गरेका १२ सय कन्टेनर सामान केरुङका गोदाममा थन्किएका छन् । सीमामा कोभिड संक्रमण बढ्ने त्रासले चिनियाँले नेपाली कन्टेनर प्रवेश गर्न दिएका छैनन् । उनीहरूले आफ्नै कन्टेनरबाट सीमित सामान ल्याइदिन्छन् । तर सडक नै अवरुद्ध भएपछि व्यवसायीले दसैंअगाडि नेपाली बजारमा सामान बेच्न मुस्किल पर्ने भएको छ ।

व्यवसायीका अनुसार दसैंलक्षित सामान उपत्यकाबाहिर कम्तीमा १५ दिनअगावै पठाउनुपर्छ । राजधानीलगायत बजारमा निम्न र मध्यम वर्गका नागरिकले प्रयोग गर्ने तयारी पोसाकलगायत सामान यिनै नाकाबाट भित्र्याइन्छ । नेपाली व्यवसायीले गत पुसयता किनेका सामान केरुङबाट ल्याउन सकेका छैनन् । किनेका सामान उत्तरी सीमामा ल्याउने प्रक्रिया मिलाउँदामिलाउँदै व्यापार गर्ने समय गुज्रेको वाणिज्य संघका अध्यक्ष पौडेल बताउँछन् । ‘सीमामा केही न केही विषय उठी नै रहने भएकाले बैठक गरेरै दसैं आउने भयो,’ उनले भने । रसुवागढीमा एक नेपाली मजदुरलाई कोरोना पोजिटिभ देखिएपछि चीनले नाका बन्द गरिदिएको थियो । परराष्ट्र मन्त्रालयले चीनस्थित नेपाली राजदूतमार्फत पहल गरेर व्यापार सञ्चालन गर्ने सहमति भएको थियो । चिनियाँ दूतावासले गत ७ गते वक्तव्य निकालेकै दिन बीसीजी खोपको सिरिन्ज बोकेका कन्टेनर रसुवागढीमा ल्याइएको थियो । चिनियाँ अधिकारीहरूले रसुवामै पीसीआर मेसिन राखेर सीमा क्षेत्रका कामदार र कर्मचारीको कोरोना परीक्षणको व्यवस्था मिलाउन अनुरोध गर्दै आएका छन् । संक्रमण नभएको निश्चित भएपछि आफूहरूलाई नेपालतर्फ सामान पठाउन सहज हुने उनीहरूको भनाइ छ । भन्सार स्रोतका अनुसार चीनले राखेको उक्त प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पुगेको छ । प्रस्तावबारे छलफल भइरहेको स्रोतले जनायो ।

भारतको बाटो हुँदै समुद्रबाट ल्याइएका चिनियाँ सामानले अहिलेको बजार थेगिरहेको व्यवसायी बताउँछन् । चीनबाट मुख्य गरी केरुङ र तातोपानी नाका सञ्चालन हुने सूचनाका आधारमा व्यवसायीले सडकबाट सामान ल्याउन अर्डर गरेका थिए । सामान बाटोमा आएपछि नाका बन्द हुँदा बढी समस्यामा परेको रञ्जना व्यापार मलका व्यवसायी बलराम पराजुलीले बताए । ‘पहिले सडकबाट सामान नआउने अवस्था आउँदा भारत हुँदै र जहाजबाट पनि ल्याउने गरिन्थ्यो,’ उनले भने, ‘अहिले व्यवसायी जताततै लगानी गर्न सक्ने अवस्थामै छैनन् ।’ चिनियाँ नाकाबाट सामान भित्र्याउन नसक्दा पसलहरू खाली हुने अवस्था रहेको सुन्धारास्थित पिपल्स प्लाजाका सञ्चालक रमेशकुमार श्रेष्ठले बताए । ‘एकातिर यो वर्ष कोभिडका कारण व्यापार नै धेरै कम छ, त्यसमा पनि उपभोक्ताले रोजेको सामान पाउने अवस्था भएन । राजधानीबाहिर पठाउनुपर्ने सामान अहिलेसम्म भित्रिएको छैन,’ उनले भने ।

चीनबाट मुख्यतः तयारी पोसाक, जुत्ता, चप्पल, ब्याग, खेलौना, फर्निचर, मेसिनरी सामान, कम्प्युटर पार्ट्स, गार्मेन्टका कच्चापदार्थ, इलोक्ट्रोनिक, स्टेसनरी सामान, स्याउ, प्याज, लसुन, बीउबिजन ल्याइने गरेको छ । पछिल्लो समय कोभिड–१९ संक्रमणको रोकथाम र उपचारमा प्रयोग हुने प्रायः स्वास्थ्य सामग्री चीनबाट ल्याइएका छन् । कोभिड–१९ संक्रमण फैलन थालेपछि बन्द गरिएको तातोपानी नाका स्वास्थ्य सामग्री पठाउनैका लागि गत चैतमा चीनले खोलेको थियो ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा चीन, भारतलगायत मुलुकबाट करिब १२ खर्ब रुपैयाँको सामान आयात भएको छ । चीनबाट मात्र बर्सेनि सरदर १ खर्ब ८२ अर्बको सामान भित्र्याउन गरिएको छ । चीनसँगको निर्यात व्यापार भने सरदर १ अर्ब १९ करोड छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार चीनसँगको व्यापारबाट संकलन हुने कुल राजस्वमा रसुवा र तातोपानीको योगदान १५ देखि २० प्रतिशत छ । तातोपानीबाट ०७२ वैशाखदेखि निर्यात ठप्प छ । रसुवाबाट ०७२ मंसिरदेखि आंशिक निर्यात भए पनि एक वर्षयता ठप्प छ । आर्थिक वर्ष ०७१/७२ मा तातोपानी नाका भएर २ अर्ब ३४ करोडको निर्यात व्यापार भएको थियो ।

खासाको सामान १९ गतेदेखि मितेरी पुलमा

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार चिनियाँ अधिकारीहरूले खासा गोदाममा रहेको सामान १९ गतेदेखि मितेरी पुलमा ल्याउने बताएका छन् । ‘नाका सञ्चालन गर्न तातोपानी भन्सार हातामा भएको तयारी बुझ्न ल्हासा प्रशासनबाट टोली आएको थियो । टोलीले १८ गतेदेखि भन्सारको काम सुरु गर्ने र सामान १९ गते मितेरी पुलमा ल्याउने जानकारी दिएको छ,’ ढकालले भने ।

तिब्बतको नेलाम काउन्टी (स्थानीय प्रशासन) ले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने सम्भावना भएकाले तातोपानीबाट कारोबार नगर्न भन्दै आफ्ना नागरिकलाई आन्तरिक सूचना जारी गरेपछि नाका ठप्प भएको थियो । चिनियाँले सीमामा रहेर भन्सारको काममा सहभागी हुने थप लोडर र चालकको पीसीआर परीक्षण गर्ने ढकालले बताए । उनीहरूले यही साता २८ जना लोडर र चालकको पीसीआर परीक्षण गराएका थिए । चिनियाँले दुई समूह बनाएर काम गर्न अरू थप लोडर र चालकको पनि परीक्षण गर्ने वचन दिएको ढकालले जानकारी दिए ।

खासाबाट ल्याइएको सामान मितेरी पुलमा खसालेपछि चिनियाँ फर्कने गरेका छन् । उनीहरू फर्केपछि नेपाली चालक र लोडरले ती सामान अनलोड गरेर लार्चास्थित सुक्खा बन्दरगाहमा ल्याउने तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । नेपाली अधिकारीहरूले स्याउ, लसुन, प्याज, अदुवालगायत छिट्टै कुहिने र खेर जाने वस्तुको कन्टेनर भने भन्सार यार्डसम्म ल्याइदिने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

प्रकाशित : आश्विन १४, २०७७ ०७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×