नेपाल र ओमानबीचको श्रम सम्झौता अन्तिम चरणमा

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाल र ओमान बीच श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नेपालको तर्फबाट सम्पूर्ण काम भइसकेको छ भने अब ओमानले नेपालले पठाएको मस्यौदालाई अन्तिम रुप दिएर स्वीकृत दिन मात्र बाँकी रहेको छ ।

नेपाल र ओमानबीचको श्रम सम्झौता अन्तिम चरणमा

यसै विषयमा ओमानका लागि नेपालकी राजदूूत शर्मिला पराजुली ढकाल र ओमानका श्रम मन्त्री महद बिन सईद बिन अली बाउइनबीच आइतबार भएको शिष्टाचार भेट भएको थियो ।

उक्त भेटमा मन्त्री बाउइनले ओमानले छिटै दुई मुलुकबीचको श्रम सम्झौता गर्ने विषयलाई लिएर आफ्नो सरकार सकारात्मक रहेको जानकारी दिएको राजदूत ढकालले कान्तिपुरलाई जानकारी दिइन् ।

मस्कटस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार उक्त भेटमा मन्त्री बाउइनले नेपाली कामदारहरुको प्रशंसा गर्दै आगामी दिनमा ओमानमा नेपाली कामदारहरुको संख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताएका थिए ।

मस्कटस्थित नेपाली राजदूतावासका अनुसार हाल ओमानमा १९ हजार नेपाली श्रमिकहरु रहेका छन् । ‘दुई मुलुकबीच श्रम सम्झौता भएपछि नेपाली श्रमिकहरुले भोग्नु पर्ने समस्याको समाधान हुनेछ,’ राजदूत ढकालले बताइन् ।

उनले नेपाली श्रमिकहरुको हकहितलाई केन्द्रमा राखी नेपाल सरकारले श्रम सम्झौताको मस्यौदा बनाइ ओमान सरकारलाई बुझाएको पनि बताइन् । नेपालको मन्त्रिपरिषद्ले यसै वर्ष उक्त श्रम स्वीकृतिको मस्यौदालाई पास गरिसकेको उनले बताइन् । ‘अब ओमान सरकारले यसलाई स्वीकृति दिएपछि दुवै पक्षबीचमा हस्ताक्षर हुन्छ र श्रम सम्झौता कार्यान्वयनमा आउँछ,’ उनले भनिन् ।

नेपालले यसअघि बहराइन, यूएई, कतार, जोर्डन र मलेसियासँग श्रम स्वीकृत गरिसकेको छ । नेपाल र ओमानको प्राविधि समितिहरु बीचमा यसअघि दुई बैठकहरु भइसकेका छन् । एक पटक ओमान र त्यसपछि ओमानको प्राविधिक टोली नेपालमै आएर पनि छलफल भइसकेको छ ।

प्रकाशित : आश्विन १२, २०७७ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?