कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘हिउँचितुवा’ आङरिता शेर्पाको निधन

रासस

काठमाडौँ — बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए ।

‘हिउँचितुवा’ आङरिता शेर्पाको निधन

सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिउँचितुवा’ का नामले चिनिने आङरिताको पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्ध परम्पराअनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए ।

सन् १९९६ मा बिनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वाेच्च शिखर सगरमाथा मात्रै नभई बिनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटक-पटक आरोहण गरेका छन् ।

आङरिताको आरोहण यात्रा

सन् १९४८ मा जन्मिएका आङरिताको पुर्ख्यौली पेसा चौंरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलो पटक २० वर्षको उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले बिनाअक्सिजन पहिलो पटक सन् १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।

आरोहणका क्रममै आङरिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानुको मुख्य कारण उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बसेका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उनी आरोहणमा नगएको परिवारको भनाइ छ ।

त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले 'दरबार आउनू' भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए ।

बिनाअक्सिजन दस पटक आरोहणको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताइन् ।

यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण संघले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण संघले मासिक १५ हजार रुपैयाँ दिँदै आएको छ । आङरिताका तीन छोरा र एक छोरी छन् । जेठा छोरा कर्साङ आरोहण पेसामै थिए । सगरमाथा आरोहणका क्रममा ८ वर्षअघि उनको निधन भएको थियो । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा र कान्छा छोरा फुरानुरु खुम्बुमै चौंरीपालन गरेर बसेका छन् । छोरी डोमा जोरपाटीमा बस्दै आएकी छिन् । आङरिता उनै छोरीसँग बस्दै आएका थिए । सात वर्षअघि उनको पत्नीको निधन भएको थियो ।

प्रकाशित : आश्विन ५, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?