१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

५० वर्षमा विश्‍वबाट ६८ प्रतिशतले जीवजन्तु घटे, मानवीय क्रियाकलाप मुख्य कारण

नेपालका लागि खतराको घण्टी– घनश्याम गुरूङ, राष्ट्रिय प्रतिनिधि डब्लूडब्लूएफ नेपाल

काठमाडौँ — बासस्थान र आहार प्रजातिको अत्यधिक दोहनका कारण करिब ५० वर्षमा विश्वभर चरा, माछा, स्तनधारी, उभयचर र सरिसृप (घस्रिने) लगायतका जीवमा ६८ प्रतिशतले गिरावट आएको छ ।

५० वर्षमा विश्‍वबाट ६८ प्रतिशतले जीवजन्तु घटे, मानवीय क्रियाकलाप मुख्य कारण

संयुक्त राष्ट्र संघको ७५ औं महासभाको पूर्व सन्ध्यामा बिहीबार डब्लूडब्लूएफले सार्वजनिक गरेको ‘लिभिङ प्लानेट रिपाेर्ट २०२०’ मा अत्यधिक मात्रामा माछा मारिँदा, जंगलमा डढेलो लाग्दा र मानवीय क्रियाकलापले वन्यजन्तुको आश्रयस्थल विनाश हुँदा दुई तिहाई जीव घटेको उल्लेख छ । संयुक्त राष्ट्रसंघको महासभामा ३० सेम्टेम्बरमा जैविक विधितासम्बन्धी छुट्टै सम्मेलन हुँदैछ ।

डब्लूडब्लूएफले प्रत्येक दुई वर्षमा लिभिङ प्लानेट रिपाेर्ट निकाल्ने गरेको छ । यस्तो प्रतिवेदन ‘लिभिङ प्लानेट इन्डेक्स’ र ‘इकोलोजिकल फुटप्रिन्ट’का आधारमा निकाल्ने गरिन्छ । यो प्रतिवेदन लण्डनमा मुख्यालय रहेको जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) सँगको सहकार्यमा डब्लूडब्लूएफले निकाल्ने गरेको छ ।

प्रतिवेदनमा विश्वभरबाट वन्यजन्तुको संख्या सन् १९७० देखि २०१६ सम्म ६८ प्रतिशतले गिरावट आएको उल्लेख छ । यो प्रतिवेदन ४ हजार ३ सय ९२ प्रजाति र २० हजार ८ सय ११ वटा जीवहरुको तथ्यांकलाई आधार मानेर प्रकाशित गरिएको हो ।

अध्ययनका क्रममा ढाड भएका मात्रै ४ हजार जीवहरु थिए । स्वच्छ पानीमा पाइने जीवहरु ८४ प्रतिशतले घटेका प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार अस्ट्रेलियामा मात्रै केही प्रजातिहरु ९७ प्रतिशतसम्मले घटेको छ ।

अस्ट्रेलियामा १ हजार १ सय प्रजाति बर्सेनि घट्दै गइरहको पनि प्रतिवेदनमा उल्लेख छ । अस्ट्रोलियाको ‘ब्राम्बल के मेलोमाइस’ मुसा प्रजातिको जीव जलवायु परिवर्तनको असरबाट लोप भएर गएको प्रतिवेदनले निष्कर्ष निकालेको छ ।

वन फडाँनी, वन्यजन्तुको अवैध व्यापारलगायत जैविक विविधिता घट्दै जाँदा कोभिड–१९ जस्ता 'जुनोटिक रोग'हरुको उदय हुन थालेकोसमेत प्रतिवेदनमा उल्लेख छ ।

प्राकृतिक स्रोतमाथि मानवीय अतिक्रमण बढ्दै जाँदा वैज्ञानिकहरुले नयाँ भौगर्भिक समय सुरु भएको पनि यसै प्रतिवेदनमार्फत् उल्लेख गरेका छन् । यसलाई ‘एन्थ्रोपोसिन’ भनिएको छ । विगत सय वर्षदेखि पृथ्वीको पारिस्थितीकीय प्रणाली परिवर्तनमा मानवको प्रमुख भूमिका भएको निष्कर्ष निकाल्दै विज्ञहरुले पृथ्वीको यो समयलाई ‘एन्थ्रोपोसिन’ भनेर नामाकरण गरेका हुन् ।

१३ औं संस्करणको यो प्रतिवेदनले कोभिड–१९ पछि पृथ्वीलाई पहिलोभन्दा राम्रो, स्वस्थ्य तथा दिगो विकासलगायतका क्षेत्रमा काम गर्नुपर्ने औंल्याइएको छ । अहिले भइरहेको विनाशको पूर्ति गर्नका लागि सन् २०३० सम्म प्राकृतिक बासस्थानलाई पुनरुत्थान गरिसक्नुपर्ने खाँचो प्रतिवेदनमा औंल्याइएको छ ।

प्रतिवेदन सम्बन्धमा डब्लूडब्लूएफका कार्यकारी निर्देशक मार्को लम्बर्टिनीले मानवीय क्रियकलापले वन्यजन्तुलाई मात्रै असर नगरेर स्वयं मानिस र उसको दैनिक जीवनलाई असर परिरहेकोबारेमा प्रतिवेदनमा लेखिएको बताएका छन् ।

‘हामी तथ्यलाई कहिल्यै पनि नर्कान सक्दैनौं । तर, प्रतिवेदनमा उल्लेख भएका कुराहरु सूचक हुन्,’ उनले भनेका छन, ‘समुद्रका माछादेखि कृषिबालीमा योगदान पुर्‍याउनु मौरी तथा भमरा, वन्यजन्तुको संख्या घट्दा कृषिमा उत्पादनमा मात्रै नघट्ने भएकाले पौष्टिक आहरामा समेत असर गर्छ, यसले खाद्य सुरक्षा र पृथ्वीका अर्बौं मानिसहरूको दैनिकीमा असर पर्ने निश्चित छ ।’

उनले कोरोना महामारीपछि विश्वका सबै मुलुकहरु प्रकृतिमाथिको दोहनको विरुद्धमा एकजुट हुनुपर्ने समय आएको बताएका छन् । ‘मानव जातिको भविष्य, स्वास्थ र जीवनको रक्षाका लागि एकजुट हुनुको विकल्प छैन,’ उनले भनेका छन् ।

डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङ भने विश्वमा जैविक विविधतामा व्यापक ह्रास आइरहेको र नेपालमा त्यस्तो समस्या ननिम्तिनु सुखद् भएपनि आगामी दिनका लागि भने खतराको घण्टी भएको विश्लेषण गर्छन् ।

‘अत्यधिक वनक्षेत्रले ढाकेको ब्राजिल, अफ्रिकी मुलुक र अमेरिकी मुलुकहरुमा व्यापक मात्रामा वन्यजन्तुको संख्यामा गिरावट आएको छ,’ गुरूङले कान्तिपुरसित भने, ‘नेपालले बाघ, गैंडाजस्ता ठूला जीव र वन क्षेत्रमा बढोत्तरी गरे पनि मुलुक विकासको चरणमा भएकाले खतरा बाँकी नै छ ।’

ठूला विकासहरु; सडक, रेलमार्ग, विद्युत आयोजना, विद्युत प्रशारणलाईन जस्ता विकास गर्दा विचार नपुर्‍याउने हो भने जैविक विविधतामाथि जतिबेलै खतरा निम्तिन सक्ने उनको तर्क छ । ‘अबका विकासका चरणलाई बुद्धिमतापूर्वक प्रयोग गर्न यो प्रतिवेदनले झक्झक्याएको छ,’ गुरूङले थपे, ‘विकासलाई वातावरणमैत्री बनाउनुको विकल्प छैन ।’

सोसाइटी फर बायोडाइभर्सिटी कन्जरभेसन नेपाल च्याप्टरका अध्यक्ष प्रकाशकुमार पौडेलले नेपालमा बढ्दो विकासको अवस्था, बढ्दो सहरीकरण र जलवायु परिवर्तनजन्य समस्याका कारण नेपालबाट धेरै जीव लोप हुनसक्ने खतरा रहेको औंल्याए । ‘हिमाली क्षेत्रमा नयाँ प्रजातीहरुको विकास हुने क्रम बढिरहेको छ,’ उनले भने,‘ यो बीचमा धेरै प्रजाति लोप भएका पनि छन् ।’

विश्वका १ सय २५ जना विज्ञहरुले तयार पारेको प्रतिवेदनमा कंगोको खहुजी–बेइगा निकुञ्जमा संरक्षित गोरिल्लाहरुको संख्या सन् १९९४ देखि २०१५ को बीचमा ८७ प्रतिशतले घटेको उल्लेख छ । यसको मुख्य कारण चोरीसिकारी नै भएको औंल्याइएको छ ।

घानामा पाइने ‘अफ्रिकन ग्रे प्यारोट’ प्रजातिको चरा ९९ प्रतिशतले घटेको छ । अवैध व्यापार र बासस्थानको विनाशले यो प्रजातिको चरा सन् १९९२ देखि २०१४ सम्म ९९ प्रतिशतले त्यस क्षेत्रमा घटेको प्रतिवेदनमा उल्लेख छ ।

चीनको याङ्जी नदीमा पाइने ‘चाइनिज स्टरजियोन’ नामक माछा प्रजाति सन् १९८२ देखि २०१५सम्म ९७ प्रतिशतले घटेको छ । यसका कारण नदीमा निर्मित ड्यामहरुलाई औंल्याइएको छ ।

बढ्दो बासस्थान विनाशलाई नरोकेर बासस्थान सुधार कार्यक्रम नल्याइने हो भने विश्वको जैविक विविधतामा अझै घट्ने औंलयाएको छ । उक्त सम्मेलनमा विश्वभरका नेता, व्यपारी, सामाजिक अगुवाहरुलाई तत्काल यसको विष्याको बारेमा जानकारी गराउँदै दिगो विकासमा सघाउ पुर्‍याउन भनिएको छ ।

पछिल्लो समय अगालागी, सलहको प्रकोप र कोरोना भाइरसले विश्वको वातावरणीय, जैविक विधिताको क्षेत्रलाई हल्लाएको छ । यसको असर स्वास्थ्य, खाद्य सुरक्षा र सम्पत्ति सबैमा परेको प्रतिवेदनमा औंल्याएको छ ।

औद्योगिक क्रान्तिपछि विश्वका सबै अधिकांश महासगर तथा नदीहरु प्रदूषित भएको, ८५ प्रतिशतभन्दा बढी सिमसार क्षेत्रहरु सुकेको पनि प्रतिवेदनमा उल्लेख छ । संरक्षण र बासस्थान तथा सुधारका कार्यक्रमहरु नल्याए आगामी दिनहरु अझै भयाभह अवस्था हुने पनि प्रतिवेदनमा निर्क्यौल गरिएको छ ।

प्रकाशित : भाद्र २६, २०७७ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?