‘अति भयो अति...’

भाद्र १८, २०७७

दीपक परियार

पोखरा — काठमाडौंलगायत देशका विभिन्न सहरमा जब ‘इनफ इज इनफ’ समूहको नारा घन्किरहेकै थियो । कोरोना कहरकै बीचमा अनेकन घटना क्रम विकसित भए । यसमा सबैका आ–आफ्नै कथाव्यथा थिए । अझ यो बेला सबैभन्दा बढी मारमा परेका गरिब, निमुखा, विपन्न समुदायलाई सम्बोधन गर्ने गरी राज्यका तर्फबाट उच्चतम व्यवस्था केही गरिएन ।

विदेशमा रहेर पनि देशका सबै घटनाक्रमसँग जानकार थिए सर्जक शिव सुवेदी । स्वदेशको अवस्था देखेर अध्ययनको सिलसिलामा स्विट्जरल्यान्डमा रहेका उनको मन बेचैन बन्यो । मनमा उठेका भावनालाई शब्दमा उतारे र संगीत भरे । चर्चित १० कलाकारको स्वरमा तयार भयो गीत ‘अति भयो अति’ । गीतमा उनले उपचार नपाएर गरिब कहिलेसम्म मरिराख्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । उनी यसलाई गरिबको गीत भन्न रुचाउँछन् । 

विकटमा जनता रुन्छन्, उपचार नपाई

मार्छ बरै गरिबीले तिनलाई धपाई–धपाई

अति भयो अति, इनफ इज इनफ

ए सरकार सुन सरकार, अति भयो अति

अस्पताल बन्न गाउँमा निमुखा 

मर्नुपर्छ कति ? 

कहिले चीन र कहिले भारतसँग शिर झुकाउनुपर्ने, देश विकास गर्न अर्कैको शरण लिनुपर्ने तर राजनीति गर्नेले अकुत सम्पत्ति कमाउन नछोड्ने प्रवृत्तिप्रति गीतमा व्यंग्य छ । नेपालमा बग्ने पानीको तालाचाबी अर्कैसँग हुने गरी नदीनाला बेच्ने सम्झौताप्रति गीतमा तिखो प्रहार छ । स्वदेशमै इलम गर्ने वातावरण नहुँदा विदेशमा आफ्ना सन्तान बेचिनुपरेको पीडा पनि उनले गीतमा उतारेका छन् । देश विधिविधानमा नचली व्यक्तिले चलाएकाले जनता विकल्प खोज्न बाध्य हुने प्रसंग गीतमा छ ।

‘देशमा भइरहेको विकृति र विसंगति तथा घटेका घटनालाई हेर्दा जोसुकैलाई पनि लाग्न सक्छ अब त अति भयो,’ उनी भन्छन्, ‘हामीलाई पनि यस्तै लागेकाले समसामयिक गीतको परिकल्पना गरिएको हो । यो गीतको उद्देश्य कुनै पनि वर्ग समुदाय तथा राजनीतिक दल विशेषको पक्ष वा विपक्षमा सन्देश प्रवाह गर्नु हुँदै होइन । हामी समग्र गलत प्रवृत्ति र पद्धतिका बारेमा केही बोल्ने जमर्को गरेका छौं ।’

छिमेकीलाई खुसी पार्न अत्यधिक विषादी हालिएको भारतीय तरकारीलाई कुनै रोकतोक नगरिँदा नेपालका किसानले उब्जाएको तरकारी नबिक्ने समस्यालाई उनले गीतमा उजागर गरेका छन् । श्रीमती हत्यामा जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त हुनु तर निर्मला पन्तलगायतले न्याय नपाउनुलाई उनले गीतमा सम्बोधन गरेका छन् । गीतमा उनले पञ्चायत, राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र जेसुकै आए पनि ठूलाबडाकै मनोमानी चल्ने व्यवस्थाप्रति आक्रोश पोखेका छन् । ‘प्रकृतिले धनी देश गरिब राष्ट्रको सूचीमा छ । जनता गरिबीको रेखामुनि छन् । यसको कारण खोज्ने हो भने सरकार र पद्धतिमा प्रश्न उठ्छ,’ उनी भन्छन्, ‘त्यो स्वाभाविक पनि हो । किनकि देशको मूल नीति राजनीतिले नै निर्धारण गर्दछ ।’

कलाकार कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेन्चुरी, सुनीता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टीका सानुले गीतमा स्वर दिएका छन् । संगीत संयोजन अर्जुन पोखरेलले गरेका हुन् । विनोद भण्डारीको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा इनफ इज इनफको आन्दोलन, एमसीसी, गुठी विधेयकविरुद्धको प्रदर्शन, निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका दृश्य समेटिएको छ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully