न्यूनतम तलबलाई कार्यान्वयन गर्छाैं : कतार चेम्बर

भाद्र १६, २०७७

होम कार्की

काठमाडौँ — कतारका व्यवसायीहरुको संगठन कतार चेम्बर अफ कमर्सले आप्रवासी श्रमिकको लागि भेदभाव नगर्ने गरी तय गरिएको न्यूनतम तलब कार्यान्वयन हुने विश्वास दिलाएको छ ।

कतार सरकारले १४ भदौमा पहिलो पटक अदक्ष श्रमिकको लागि एक हजार रियाल (३२ हजार रुपैयाँ) न्यूनतम तलब तोकेको थियो । रोजगारदाताको अनुमतिबिना रोजगारदाता परिवर्तन गर्न पाउने नियम जारी गरेको थियो ।

चेम्बर अफ कमर्सले न्यूनतम तलब निर्धारण र रोजगारदाता परिवर्तनले आप्रवासी श्रमिकलाई सुरक्षा प्रदान गर्नुको साथै श्रम बजार सुधारको लागि महत्त्वपूर्ण कदम भनेको छ ।   

‘अदक्ष श्रमिक र घरेलु श्रमिकको लागि तय गरिएको न्यूनतम तलब कार्यान्वयन गर्ने अद्वितिय निर्णय हो । यसले एउटै समयमा श्रमिक र रोजगारदाताको रुचिलाई सन्तुलन राख्छ । स्थानीय श्रम बजारलाई दिगो बनाइराख्न योगदान गर्छ’, चेम्बरका अध्यक्ष शेख खालिफा विन जस्सिम विन मोहम्मद अल–थानीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कतारको अर्थतन्त्रलाई क्षेत्रीय र विश्वव्यापीरुपमा थप प्रतिस्पर्धी बनाउँछ । निजी रोजगारदातालाई दक्ष र प्रशिक्षार्थी श्रमिकसँग सम्बन्ध कायम गर्न अवसर मिल्छ ।’

सम्बन्धित समाचार : कतारले श्रमिकको न्यूनतम तलब एक हजार रियाल तोक्यो

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully