१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजकुमार मृत्यु घटना : महिना बित्यो, कारबाही भएन

परिवारलाई राहत क्षतिपूर्ति दिने सहमति भएको थियो । घटनाको महिनादिन बित्यो, न राहत पाए न न्याय ।
रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटबाट २१ वर्षीय छोराको मृत्यु भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै राप्ती नगरपालिका–२ मिलन टोल पिप्लेका विष्णुलाल चेपाङले चितवन प्रहरीमा उजुरी दिएको महिना दिन नाघेको छ । तर अहिलेसम्म उक्त घटनामा संलग्न कोही पक्राउ परेका छैनन् ।

राजकुमार मृत्यु घटना : महिना बित्यो, कारबाही भएन

मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने प्रतिबद्धता भए पनि उनीहरूले किरिया खर्चबापतको एक लाख रुपैयाँबाहेक अरू पाएका छैनन् । ‘पोस्टमार्टम रिपोर्ट भर्खर आएको छ । त्यसको पूरकका रूपमा अरू परीक्षण प्रतिवेदन आएको छैन । रगत र भिसेरा परीक्षण प्रतिवेदन आएपछि एउटा निचोडमा पुग्ने तयारीमा छौं,’ चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले भने । विष्णुलालले जिल्ला प्रहरी कार्यालयमा साउन ९ मा उजुरी दर्ता गराएका थिए । मृतक राजकुमारको पोस्टमार्टम काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा साउन १२ मा भएको थियो । भिसेरा परीक्षण प्रतिवेदन आएसँगै थप कारबाही प्रक्रिया अगाडि बढ्ने एसपी गुरुङले बताए ।

राजकुमारसहित मिलन टोलका पाँच युवा र दुई महिला साउन १ मा राप्ती नदी पार गरेर जंगलमा अमिलो खोज्ने, खोलामा माछा मार्ने र घोंगी टिप्ने योजना बनाएर निकुञ्जभित्र छिरेका थिए । ज्युडी खोलामा घोंगी टिप्दै गर्दा सेनाले उनीहरूलाई पक्राउ गरेको थियो । सो क्रममा पाँचै जना युवकमाथि कुटपिट भएको थियो । त्यसको साता दिनपछि साउन ८ मा राजकुमारको मृत्यु भएको थियो । कुटपिटमा संलग्नलाई कारबाही प्रक्रिया सुरु नगरेको र राहतको विषयमा चित्तबुझ्दो प्रतिबद्धता नआएको भनेर परिवारले शव बुझ्न इन्कार गर्दै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा १० लाख रुपैयाँ राहत दिने र कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता आएसँगै परिवारले शव बुझेर साउन १८ मा सद्गत गरेको थियो । ‘राहत दिने भनेका छन् । त्यसका लागि बैंकमा खाता खोल्नुपर्दो रहेछ । छोरोको किरिया सकेपछि म खाता खोल्न कागजपत्र मिलाउनतिर लागें । उजुरीको बारेमा के भएको छ बुझ्न पाएको छैन,’ विष्णुलालले भने ।

मृतक राजकुमारकी श्रीमती रिपुमायाकै नागरिकता बनेको रहेनछ । नागरिकता नबनेपछि बिहे दर्ता गर्ने कुरै भएन । डेढ वर्षीया छोरी एलिनाको जन्म दर्ता पनि भएको थिएन । ‘छोराको मृत्यु दर्ता, बुहारीको नागरिकता बनाएर बिहे दर्ता र नातिनीको जन्म दर्ता गरेर बैंकमा बल्ल खाता खोलेको छु । राहत खातामा हाल्दिने भनेका छन्,’ विष्णुलालले भने, ‘यो काम सकेपछि उजुरी के भयो त्यो पनि हेर्नु छ । न्याय त पाउनै पर्छ ।’

उजुरीमाथि छानबिन गरेर न्याय दिन तदारुकता देखाउनुपर्ने र परिवारलाई उचित राहत दिनुपर्ने माग राखेर नेपाल चेपाङ संघले आन्दोलनसमेत गरेको थियो । ‘दिनका दिन बैठक र छलफलपछि सहमति भएको हो । १० लाख दिन्छौं, पिट्नेलाई कारबाही पनि हुन्छ भनेका हुन् । पत्याउनै पर्‍यो । त्यही पत्याएर हामीले आन्दोलन पनि रोकेका हौं,’ संघका जिल्ला सदस्य तथा राप्ती–२ वडा इकाइ अध्यक्ष सन्त चेपाङले भने ।

मृतकका परिवारलाई निकुञ्जले ७ लाख र राप्ती नगरपालिकाले ३ लाख गरी १० लाख रुपैयाँ दिने सहमति भएको थियो । निकुञ्जले लोथर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमार्फत किरिया खर्च भनेर १ लाख रुपैयाँ दिनुबाहेक परिवारले अरू पैसा अझै पाएको छैन । राप्ती नगर प्रमुख प्रभा बरालले नगरपालिकाले ३ लाख रुपैयाँ छिट्टै दिने बताइन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले परिवारलाई राहतको बाँकी रकम उपलब्ध गराउने तयारी भइरहेको बताए । तर कुटपिटमा संलग्नलाई कारबाही गर्नेबारे आफ्नो जानकारीमा नरहेको उनको भनाइ छ । कुटपिट प्रकरणपछि निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत नारायण रूखाखेतीको सरुवा भएपछि बराल चितवन आएका हुन् ।

निकुञ्जको सुरक्षाका लागि बटुक दल गणका सेनाहरू तैनाथ छन् । गणपति अरुण श्रेष्ठ यो विषयमा आफू केही नबोल्ने बताउँछन् । ‘यो विषयमा म बोल्न मिल्दैन । हजुरलाई सूचना आवश्यक भएको हो भने माथि नै सम्पर्क गर्न सक्नुहुनेछ,’ गणपति श्रेष्ठले भने ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र १३, २०७७ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?