अत्यावश्यक सेवामा प्रहरीको अवरोध, इकमर्स सञ्चालकहरुलाई कार्यालय पुगेर पक्राउ

काठमाडौँ — तीनै जिल्ला प्रशासन कार्यालयले खाद्यान्न डेलिभरीलाई अत्यावश्यक सेवामा राख्दै निषेधाज्ञाको अवधिमा सञ्चालन गर्न दिने निर्णय गरेको भए पनि प्रहरीले भने खाद्यान्न डेलिभरीमा संलग्न व्यक्ति र इकमर्सका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।

अत्यावश्यक सेवामा प्रहरीको अवरोध, इकमर्स सञ्चालकहरुलाई कार्यालय पुगेर पक्राउ

बिहीबार प्रहरीले अनलाइन डेलिभरीको सुविधा दिइरहेका लगभग सबै कम्पनीका प्रतिनिधिरुलाई सडकमा रोकेको छ भने सञ्चालकहरुलाई कार्यालयमै पुगेर पक्राउ गरेको छ । लकडाउनको अवधिमा केकसहित तरकारी र अत्यावश्यक खाद्यान्नको अनलाइन डेलिभरी सुविधा दिइरहेको यूजी केककी सञ्चालिक निकिता आचार्यलाई प्रहरीले बिहीबार ५ बजेतिर कार्यालयबाटै पक्राउ गरेको छ ।

तीनकुनेस्थित प्रहरी कार्यालयबाट खटिएका दुई जना प्रहरीले आचार्यलाई कार्यालयमै पुगेर पक्राउ गरेको हो । ‘तीनकुनेस्थित चौकीमा ल्याएको दुई घण्टा भए पनि कुनै कारण दिइएको छैन,’ कान्तिपुरसँगको टेलिफोन कुराकानीमा आचार्यले भनिन्,‘बिना कारण पक्राउ गरी चौकीमा कुराएर राखिएको छ ।’

उनले अनलाइन डेलिभरी गर्न पाइन्छ भन्ने जिल्ला प्रशासन कार्यालयको भनाइपछि निषेधाज्ञाको अवधिमा अनलाइन डेलिभरी सुचारु राखेको भए पनि प्रहरीले एक्कासी पक्राउ गरेको बताइन् ।

अनलाइन डेलिभरीको सुविधा दिइरहेको अन्य कम्पनीका सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ । खाद्यान्न डेलिभरीको सुविधा दिइरहेको अर्को स्टार्टअप डल्लेका सञ्चालक आलोक योञ्जनलाई पनि प्रहरीले आफ्नो कार्यालय बोलाएको छ । खाद्यान्न स्टोर सेल्सबेरीले अनलाइन डेलिभरीको लागि प्रयोग गरेको सवारी साधन पनि प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।

कोभिड–१९ को कारण भएको लकडाउनमा खाद्यान्न र अत्यावश्यक सामग्री डेलिभरी गरिरहेको राइड सेयरिङ सेवा दिने कम्पनी पठाओका क्षेत्रीय निर्देशक असिम मान बस्नेतका अनुसार प्रहरीले उनका कर्मचारीलाई पनि ठाउँठाउँमा पक्राउ गरेको छ । ‘स्पष्ट कारण नदिइकन ठाउँठाउँमा डेलिभरीमा संलग्न व्यक्तिहरुलाई प्रहरीले रोकेको छ,’ उनले भने,‘कतै सवा नौ बजेदेखि डेलिभरी गर्न नपाइने भनिएको छ भने कतै माथिको आदेशका कारण पक्राउ गरिएको भनिएको छ ।’

कृषि सम्बन्धी सामग्रीको डेलिभरी सेवा दिइरहेको एग्री नेपालका कर्मचारीलाई पनि प्रहरीले बुधबार र बिहीबार पक्राउ गरेको संस्थापक सुनिता नेमाफुकीले बताइन् । ‘बुधबार ग्वार्कोमा प्रहरीले दुई घण्टा भ्यानमा राखेछ,’ उनले भनिन्,‘बिहीबार फेरि आइस् भन्दै तीन घण्टा भ्यानमा राखिएको रहेछ ।’

खानाको अनलाइन डेलिभरी गरिरहेको फुडमाण्डुका संस्थापक मनोहर अधिकारीलाई पनि प्रहरीले बोलाएको छ । मालिगाउँस्थित प्रहरी कार्यालयमा रहेका अधिकारीले कान्तिपुरसँगको कुराकानीमा भने,‘दुई घण्टादेखि मालिगाउँस्थित प्रहरी कार्यालयमा कुरिरहेका छौं ।’

भाटभटेनीस्थित आफ्नो कार्यालयमा आएर प्रहरीले कर्मचारीसँग अधिकारीलाई कार्यालयमा उपस्थित हुनको लागि निर्देशन दिएको थियो । फुडमाण्डुका डेलिभरीमा संलग्न लगभग सबै कर्मचारीलाई प्रहरीले ठाउँठाउँमा रोकेको अधिकारीले जानकारी दिए ।

खानेकुरासहित अन्य अत्यावश्यक सामग्रीको अनलाइन डेलिभरी गरिरहेको फुडमारियोका डेलिभरीमा संलग्न कर्मचारीलाई समेत प्रहरीले पक्राउ गरेको छ । फुडमारियोका सहसंस्थापक रोहित तिवारीका अनुसार बिहीबार ४ बजेपछि डेलिभरी गरिरहेका सबै कर्मचारीलाई पक्राउ गरेको छ । ‘न्यूरोड, बानेश्वर, पुल्चोक, ग्वार्कोमा १२ जना जतिलाई पक्राउ गरिएको रहेछ,’ तिवारीले भने ।

गत बुधबारदेखि उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो । अत्यावश्कीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, आद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार जस्ता सवारी साधन सञ्चालन गर्न अनुमति आवश्यक नपर्ने उल्लेख गरिएको छ ।

प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले निषेधाज्ञा उल्लघंन गरेकाले पक्राउ गरिएको जानकारी दिए । ‘कतिलाई समातियो, संख्या आउन बाँकी छ तर जहाँ भेटियो, त्यहींबाट नियन्त्रणमा लिएका छौं,’ ज्ञवालीले भने ।

एसएसपी ज्ञवालीका भने निषेध आदेश अनुसार बिहान सवा ९ बजेसम्म अत्यावश्यक सामग्रीका पसल खोल्न दिइएको र त्यसबाहेक सबै बन्द गरिएको बताए । ‘यो महामारीबाट बच्‍न सबैले साथ दिनुपर्छ । आफ्नो व्यवसाय बढाउन नागरिकको स्वास्थ्यसँग खेडबाड गर्न पाइन्‍न,’ ज्ञवालीले भने ।

प्रकाशित : भाद्र ११, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?