अरू रोगले भन्दा कोरोनाबाटै बढी मृत्यु- समाचार - कान्तिपुर समाचार

अरू रोगले भन्दा कोरोनाबाटै बढी मृत्यु

करिब ३२ प्रतिशत मृत्यु कोरोनाजन्य जटिलताका कारण
जनस्वास्थ्यविद् भन्छन्– ‘विकसित देशहरु बढी उमेर समूहका व्यक्तिहरुलाई पनि बचाउन सफल भएका छन् । नेपालमा भने बचाउन सकिने उमेर समूहहरु पनि जोखिममा पर्ने खतरा छ ।’
स्वरूप आचार्य

काठमाडौँ — हालसम्म मुलुकमा कोभिड–१९ कै कारणले भन्दा पनि अरू नै स्वास्थ्य समस्या भएकामा यसको संक्रमण हुँदा बढी मृत्यु भएको ठानिँदै आएकामा अब यो गलत सावित भएको छ । कोभिड–१९ बाट बुधबारसम्म मृत्यु भएका १ सय ७५ जनाको तथ्यांक केलाउँदा कोरोनाजन्य जटिलताकै कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ ।

कोभिड–१९ सँग मात्रै सम्बन्धित जटिलताले देशभरमा ५६ जनाले ज्यान गुमाएका छन् । त्यसपछि क्रमशः पहिल्यै निमोनिया, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको छ ।

कोभिड–१९ का कारण मृत्यु पुष्टि भएकामध्ये करिब ३२ प्रतिशतको कोभिडसम्बद्ध कुनै न कुनै प्रकारको जटिलताले ज्यान गएको छ । बाँकीमा अरू स्वास्थ्य समस्या रहेको देखिन्छ । अन्य स्वास्थ्य समस्यासँगै निमोनिया भएका बिरामीको संख्या पनि बढी छ । अरू रोगसँगै निमोनिया देखिएका बिरामी करिब १७ प्रतिशत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ६० वर्षभन्दा माथिका ६८ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी ज्यान गुमाएकामा ४१ देखि ६० वर्ष उमेर समूहका छन् । यो उमेर समूहका ७१ जनाको मृत्यु भएको छ । यो उमेर समूहमा पनि विभिन्न रोगका साथै केहीमा कोभिड–१९ सँग सम्बन्धित जटिलता मात्रै देखिएको थियो ।

१९ वर्षदेखि ४० वर्ष उमेर समूहका २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो उमेर समूहकामा भने प्रायः सबैमा कोभिड–१९ सँग सम्बन्धित जटिलता नै मृत्युको मुख्य कारण छ । यस्तै नवजात शिशुदेखि १८ वर्ष उमेर समूहका ७ जनाको मृत्यु भएको छ । यो उमेर समूहका अधिकांशलाई झाडापखालाको समस्या देखिएको थियो । म्याग्दीका ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ती बालकको मिर्गौलामा गम्भीर समस्या थियो ।

मन्त्रालयको तथ्यांकअनुसार कोभिड–१९ का कारण बुधबारसम्म काठमाडौं उपत्यकामा २२ जनाको मृत्यु भएको छ, जसमा १३ पुरुष र ९ महिला छन् । तीमध्ये ४ जनाको मात्रै कोभिड–१९ ले निम्त्याएको जटिलताले ज्यान गएको देखिन्छ । अन्यमध्ये ७ जनामा मिर्गौलाको समस्या थियो भने ७ जनालाई उच्च रक्तचाप थियो । बाँकीमा मुटु रोग र मधुमेहलगायत समस्या थियो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पूर्ववत् स्वास्थ्य समस्या भएका तथा विभिन्न कारणले रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई नै कोरोना संक्रमणले सबैभन्दा बढी असर गरेको छ । ‘बढी उमेर समूह, कमजोर स्वास्थ्य तथा रोग प्रतिरोधी क्षमता कम भएकालाई नै कोरोनाले बढी असर गर्छ भनेर विश्व स्वास्थ्य संगठनले भन्दै आएको छ । नेपालमा पनि त्योभन्दा फरक अवस्था रहेको देखिँदैन,’ उनले भने, ‘त्यसैले हामीले समुदायमा रोग फैलन दिनु हुँदैन । समुदायमा गयो भने हताहती हुनेको संख्यामा वृद्धि हुने जोखिम रहन्छ ।’

जोन्स हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत डा. दिनेश न्यौपानेका अनुसार विश्वमा जस्तै नेपालमा पनि कुल मृत्युदर शून्य दशमलव ५ प्रतिशत छ । ‘केही समय अगाडि धेरैले नेपालीलाई केही हुँदैन, यहाँ विदेशमा जस्तो मान्छे मर्दैनन् भन्थे,’ उनले भने, ‘अब त्यो सबै गलत रहेछ भनेर देखिएको छ । विश्वको तथ्यांकले जे देखाएको छ, अहिले यहाँ त्यही देखिएको छ । डर त विश्वको त्यो तथ्यांकभन्दा बढीको मृत्यु हुन्छ कि भन्ने हो ।’

सरकारले कोरोनाको परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङमा यथोचित कार्य गर्न सकेको छैन । त्यसैले नेपालमा अहिले पनि कोरोनाको जोखिम घटेको छैन । ‘सरकार अघिअघि, कोरोना पछिपछि हुनुपर्ने हो । तर नेपालमा कोरोना अघिअघि, सरकार पछिपछि भइरहेको छ,’ उनले भने, ‘अझै पनि एक लाखभित्र नियन्त्रण गर्न सके धेरै हदसम्म हताहत हुनेको संख्यालाई कम गर्न सकिन्थ्यो । नत्र धेरै ठूलो क्षति नहोला भन्न सकिन्न ।’ डा. न्यौपानेका अनुसार विकसित देशहरू बढी उमेर समूहका व्यक्तिहरूलाई बचाउन सफल भएका छन् । नेपालमा भने स्रोत साधनको कमीका कारण बचाउन सकिने उमेर समूहकाहरू पनि जोखिममा पर्ने खतरा छ ।

जनस्वास्थ्यविद् डा. न्यौपानेका अनुसार रोग कति गम्भीर छ भनेर थाहा पाउन सीएफआर (केस फ्याटालिटी रेट) प्रयोग गरिन्छ । यो निश्चित समयभित्र सो रोगले मृत्यु भएका जम्मालाई जम्मा संक्रमितहरूको संख्याले भाग गरेर निकालिन्छ । कुनै रोगको वास्तविक सीएफआर त्यो रोग पूरा नियन्त्रणमा आएपछि मात्र निकाल्न सकिन्छ । कोभिडको सन्दर्भमा अहिले निकालिने सीएफआर प्रारम्भिक मात्रै हुन्छ । यो रोगको प्रकृतिले अहिलेसम्म निको भएका वा मृत्यु भएकाहरूलाई मात्र समावेश गरेर सीएफआर निकाल्नु सान्दर्भिक देखिन्छ । यसरी निकाल्दा संसारको कोभिड–१९ को सीएफआर करिब ४.७ प्रतिशत, अमेरिकाको करिब ५ प्रतिशत, भारतको करिब २.३५ प्रतिशत, श्रीलंकाको करिब ०.४ प्रतिशत र नेपालको करिब १ प्रतिशत हुन्छ । पछिल्ला केही महिनाको तथ्यांक मात्र लिने हो भने नेपालमा सीएफआर योभन्दा बढी देखिन्छ । ‘नेपालमा परीक्षणको सीमितताले सबै संक्रमितहरूको पहिचान हुन सकेको छैन । त्यसैले अहिले नै कोभिडको सीएफआर कम छ भनेर भन्ने बेला भएको छैन,’ डा. न्यौपानेले भने, ‘पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गइरहेकाले सीएफआर पनि वृद्धि हुने देखिन्छ ।’

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै ७१ जनाको प्रदेश २ मा मृत्यु भएको छ । प्रदेश २ को पनि पर्सामा सबैभन्दा बढी ३१ जनाले ज्यान गुमाएका छन् । त्यही प्रदेशको धनुषामा १२ जनाको कोभिडका कारण मृत्यु भएको छ । पर्साको छिमेकी जिल्ला बारामा पनि १० जनाले ज्यान गुमाएका छन् । प्रदेश २ का अन्य जिल्लामा भने मृत्युको संख्या दोहोरो अंकमा छैन । कोरोनाले वाग्मती प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । नेपालमा सबैभन्दा पहिले वाग्मती प्रदेशकै सिन्धुपाल्चोककी एक महिलाको संक्रमणले ज्यान गएको थियो । वाग्मतीमा मृत्यु भएकामध्ये अधिकांश अस्पतालमा उपचाररत थिए । यो प्रदेशमा संक्रमित हुनेको कुल संख्या ५ हजार ४ सय ९४ रहेको छ भने निको हुनेको संख्या केवल ९ सय १९ छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ७५ छ ।

प्रदेश ५ मा २३ जनाले ज्यान गुमाएका छन् । यस प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार ९ सय २२ छ । यो प्रदेशमा सबैभन्दा धेरै रूपन्देहीमा ६ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १० जनाको ज्यान गएको छ । मुलुकमा सबैभन्दा पहिलोपटक दोस्रो स्तरको संक्रमण देखिए पनि यो प्रदेशमा धेरै हताहती भएका छैनन् । हाल यो प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार ६ सय ३१ रहेको छ । तीमध्ये ४ हजार ५ सय ९४ जना संक्रमण मुक्त भएको तथ्यांक छ । गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । गण्डकीमा संक्रमितको संख्या २ हजार ६५ छ । कर्णालीमा २ हजार ४ सय २ जनालाई संक्रमण देखिएको छ जहाँ ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित : भाद्र ११, २०७७ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्

परीक्षण टुंगो नलाग्दै खोप किन्‍ने होड

बेलायत, अमेरिका, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, इटाली, नेदरल्यान्ड्सलगायत देशले विभिन्न कम्पनीसँग खोप किन्ने सम्झौता गरिसकेका छन् । बेलायतले निर्माण प्रक्रियामा रहेका विभिन्न खोपको ३४ करोड डोज किन्ने सहमति गरिसकेको छ ।
नवीन पोखरेल

लन्डन — विश्वभरका वैज्ञानिकहरू यतिखेर कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप विकासमा जुटिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हाल १ सय ७० भन्दा बढी वैज्ञानिकहरूको समूह खोप विकासमा जुटेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय सहित ७ समूह अहिले तेस्रो चरणको परीक्षणमा व्यस्त छन् । तेस्रो चरणमा हजारौं जनालाई खोप दिएर यसको प्रभावकारिता, साइड इफेक्टस् अनि मानवमा सुरक्षित भए/नभएको जाँचिन्छ ।

सामान्यतः कुनै पनि खोप विकास गर्न वैज्ञानिकलाई वर्षौं लाग्ने भए पनि कोभिड–१९ को खोप एकदेखि डेढ वर्षभित्रै विकास गर्न विश्वका वैज्ञानिक क्रियाशील छन् । अनुसन्धान जारी रहँदा विश्वका कतिपय मुलुकले भने अहिले नै खोप खरिदको सम्झौता गरिसकेका छन् ।

बेलायत सरकारले सम्भाव्य खोपका ३४ करोड डोज लिने सम्झौता गरिसकेको छ । बेलायतले हालसम्म अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँग मिलेर विकास गरिरहेको खोप १० करोड, फर्मास्युटिकल जाइन्ट ‘बायोएनटेक’ र फाइजर तथा भल्नेभासँग ९ करोड डोज, जोन्सन एन्ड जोन्सनको स्वामित्व रहेको बेल्जियन फर्मास्युटिकल कम्पनी जेनसिन र अमेरिकी बायोटेक कम्पनी नोभाभ्याक्सको ९ करोड डोज र जीएसके र सानोफी पास्चर्सले परीक्षण गरिरहेका ६ करोड डोज लिन सम्झौता गरिसकेको छ । यसले बेलायतवासी प्रत्येकलाई ५ डोजका दरले खोप पुग्ने सरकारको विश्वास छ । सामान्यतः मानिसलाई दुई खोप भए पुग्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

बेलायती व्यापारमन्त्री आलोक शर्माले सरकारको रणनीतिको खास उद्देश्य सम्भावित खोपहरूमध्ये कुनै एकले काम गर्छ भन्ने निश्चिन्त हुनु रहेको बताए । यो सम्झौताले बेलायती जनतामात्र लाभान्वित नभई विश्वभर नै निष्पक्ष र उचित पहुँचले लाखौं जनताको जीवन रक्षा गर्ने शर्माले जनाएका छन् ।

अमेरिकाले मोडर्नासँग गत मंगलबार १ करोड खोपका लागि सम्झौता गरिसकेको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ छ । अमेरिकाले जोन्सन एन्ड जोन्सनसँग पनि करिब १ अर्ब डलरमा १ करोड खोप लिने सम्झौता गरेको छ । अमेरिकाले थप २ करोड अतिरिक्त खोप लिन सक्ने सम्झौतामा उल्लेख छ । ट्रम्प प्रशासनले औषधि उत्पादक सानोफी र ग्लाक्सो स्मिथ क्लाइन (जीएसके) लाई २.१ बिलियन डलरमा १ करोड, फाइजर र बायोएनटेकसँग पनि १.९५ बिलियन डलरमा १ करोड खोपका लागि सम्झौता गरेको छ ।

अमेरिकाले खोप विकासमा अहिलेसम्म करिब ९.५ बिलियन डलर सहयोग गरिसकेको छ । त्यसैगरी, अस्ट्रेलियाले पनि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र बहुराष्ट्रिय कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेको खोप लिने सम्झौता गरेको छ । ती खोपहरूको परीक्षण सफल भएको खण्डमा अस्ट्रेलियामै उत्पादन गर्ने सहमतिसमेत भएको प्रधानमन्त्री स्कट मरिसनको भनाइ छ । गतसाता मरिसनले कोरोना भाइरसविरुद्धको खोप २ करोड ५० लाख अस्ट्रेलियालीका लागि निःशुल्क उपलब्ध गराइने वाचासमेत गरे । मरिसनका अनुसार खोप दिनका लागि आवश्यक पर्ने सुईलगायत अन्य सामग्री खरिदका लागि समेत बेक्टन डिकिन्सन कम्पनीसँग सहमति गरिसकिएको छ । हाल अस्ट्रेलियाका विभिन्न राज्यका करिब आधा दर्जन प्रयोगशालामा भाइरसविरुद्धको खोपको परीक्षण जारी छ ।

उता, रुसले विकास गरेको खोप अगस्टदेखि नै सुरुमा स्वास्थ्यकर्मी र अक्टोबरदेखि सर्वसाधारणलाई दिइने बताइएको छ । रुसका लगानी कोष प्रमुख किरिल डिमिट्राइभले विभिन्न २० देशबाट एक अर्ब बढी डोजको माग भइसकेको दाबी गरेका छन् । मानव परीक्षणको दुई महिनाभित्रै ल्याइएको ‘स्पुतनिक–५’ नामक उक्त खोपको सुरक्षा र प्रभावकारिताबारे भने कतिपय वैज्ञानिकहरूमा आशंका छ ।

युरोपेली आयोगले पनि गतसाता फर्मास्युटिकल कम्पनी अस्ट्राजेनेकासँग ३ करोड खोप किन्न सम्झौता गरेको छ । आयोगले खोप सुरक्षित र प्रभावकारी भए ईयू सदस्य राष्ट्रहरूका निमित्त थप एक करोड डोज किन्नेछ । खरिद गरिएका खोप निम्न तथा मध्यम आय भएका देशमा समेत प्रदान गरिनेछ ।

आफ्नो घरमा मात्र होइन, अत्यावश्यक मानिसलाई विश्वभर नै उपलब्ध गराउन प्रतिबद्ध रहेको आयोगको भनाइ छ । उसले कोरोना महामारीविरुद्ध जुध्न १६ अर्ब युरो उठाइसकेको छ । आयोगले अन्य औषधि कम्पनीहरूसँग पनि खोप खरिदका लागि वार्ता गरिरहेको जनाएको छ ।

अस्ट्राजेनेकाले यसअघि विभिन्न देशमा ४० करोड डोज आपूर्तिको पहिलो सम्झौता गरिसकेको छ । अमेरिकी सरकारबाट १ अर्ब डलर बढी सहयोग पाएको उक्त कम्पनीसँग सन् २०२१ सम्म १ अर्ब डोज उत्पादन गर्ने क्षमता छ ।

अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा अस्ट्राजेनेकाले अहिले तेस्रो चरणमा ३० हजार जनामा मानव परीक्षण गरिरहेको छ । उसले विश्वभर सहज र उचित तबरले खोप उपलब्ध गराउन कैयौं देशहरूसँग सहकार्य गरिरहेको पनि जनाएको छ । कम्पनीसँग जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्सले पनि ३ करोड खोप किन्न प्रारम्भिक सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।

बेलायतको बर्मिङघम विश्वविद्यालयका औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्याल बेलायतले विभिन्न प्रविधि प्रयोग गरेर विकसित गरिएका खोप लिने सम्झौता गरेको बताउँछन् । ‘सरकारले धेरै डिल गर्नुको अर्थ एउटा प्रविधि असफल भए अर्कोले काम गर्ने सम्भावना हुन्छ भन्ने विश्वास लिएर हो,’ डा. पौड्यालले भने, ‘अहिले कुनैमा निर्जीव भाइरस, कुनैमा सक्रिय प्रोटिनजस्तै बनोट भएको कृत्रिम संरचना राखेर खोप विकास भइरहेको छ ।’

बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय जनस्वास्थ्य विषयका प्राध्यापक डा. पदम सिंखडा विकसित देशहरूले अग्रिम खोप खरिद सम्झौता गरेर जनतालाई आश्वस्त पार्न खोजेको बताउँछन् । ‘खोप विकासमा सकारात्मक संकेत छ । तर, सबै खोप सफल हुने सम्भावना भने रहन्न,’ डा. सिंखडाले भने, ‘खोपको एन्टिबडी कुन तहमा विकास हुन्छ ? खोपले दीर्घकालीन रूपमा कस्तो असर गर्छ वा असर कति समय रहन्छ अहिले नै भन्न सकिने अवस्था छैन ।’

प्रकाशित : भाद्र ११, २०७७ ०६:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×