कान्तिपुरका सहायक–सम्पादक बानियाँको दु:खद निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको दु:खद निधन भएको छ । 

कान्तिपुरका सहायक–सम्पादक बानियाँको दु:खद निधन

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।

एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।

बानियाँले सोमबार दिउँसो करिब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएका थिए । त्यसपछि उनी सम्पर्कमा थिएनन् । कोभिड-१९ को संक्रमणका कारण कान्तिपुरका अधिकांश सम्पादकीय कार्य घरबाट भइरहेका छन् ।

बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित : श्रावण २८, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?