कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भदौ १ देखि सञ्‍चालन गर्ने भनिएका सेवा तत्काल नखुल्ने

जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले कोभिड १९ को संक्रमण र मृत्युको संख्या बढ्न थालेकाले आउँदो भदौ १ गतेबाट सुचारु गर्ने भनिएका सेवाहरु तत्काल सञ्‍चालन नगर्ने भएको छ ।

भदौ १ देखि सञ्‍चालन गर्ने भनिएका सेवा तत्काल नखुल्ने

भदौ १ बाट लामो दूरीको यातायात सेवा, हवाई सेवा र विद्यालय भर्ना खोल्नेलगायतका निर्णय सरकारले गरेको थियो तर संक्रमणका कारण जोखिम झन् बढेकाले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आइतबार बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा मन्त्रीहरूबीच तत्कालका लागि सरकारले यसअघि सञ्‍चालन गर्ने भनिएका कुनै पनि सेवालाई अघि नबढाउने निष्कर्षमा पुगेको एक मन्त्रीले जानकारी दिए । यसबारे निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्छ ।

‘सीसीएमसी निर्देशक समितिमा मन्त्रीहरु सदस्य भएका कारण उनीहरुले नै मन्त्रिपरिषद्मा कुरा गर्ने र त्यसपछि मन्त्रिपरिषद्बाट भएको निर्णयलाई मन्त्रिपरिषद्ले नै परिमार्जन वा संशोधन गर्न सक्नेछ,’ सीसीएमसी सचिवालयका संयोजक महेन्द्रप्रसाद गुरागाईंले भने ।

साउन ६ गतेबाट लकडाउन पूर्ण रुपमा हटेपछि सरकारले भदौ १ बाट आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक र अन्य उडान, अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल र विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्‍चालन गर्ने तथा लामो दूरीको यातायात सञ्‍चालन गर्ने निर्णय गरेको थियो । तर लकडाउन खुलेसँगै कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि सरकारले सुचारु गर्ने भनेर निर्णय गरेका सेवा तत्कालका लागि नखोल्ने निष्कर्षमा सीसीएमसी पुगेको हो । भदौ १ बाट खोल्ने भनिएका सेवाहरू कति दिन पछि खोल्ने भन्ने सम्बन्धमा भने सीसीएमसीमा सहमति भएको छैन । ‘कसैले १५ दिनपछि सारौं भन्नुभएको छ, कोही एक महिना सार्नुपर्छ भनिराख्नुभएको छ, कसैले यो संक्रमण नसकिँदासम्म सेवा सञ्‍चालन नगर्ने कुरा गर्नुभएको छ,’ ती मन्त्रीले भने, ‘यसको अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ ।’


प्रकाशित : श्रावण २५, २०७७ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?