वाल्मीकि आश्रमको बेवास्ता
चितवन — जिल्लाको दक्षिणी क्षेत्र माडीमा द्वापर युगको राम जन्मभूमि अयोध्याबारे अनुसन्धान गर्न संघीय सरकार र स्थानीय तहको दौडधुप चलेको छ । तर माडीकै एउटा कुनामा रहेको द्वापर युगकै धार्मिक कथासँग सम्बन्धित वाल्मीकि आश्रमको मन्दिरमा दैनिक पूजा चलाउनै समस्या सुरु भएको छ । ऋषि वाल्मीकिले संस्कृत रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेहुर्केको विश्वास गरिने यो ठाउँको संरक्षण र संवर्द्धनमा सरकारको ध्यान गएको छैन । आश्रम वरपर बस्नेहरूलाई छाक टार्ने पिरलो छ ।
‘ऋण काढेर पूजाका सर्जाम जुटाउँदै आएको छु । १५/२० हजार ऋण पुग्यो । यसरी खै कति दिन चल्ला,’ आश्रमको पुरानो मन्दिर हरिहर मन्दिरका पुजारी रामशरण गिरीले भने । पूजा गर्न आउनेहरूले दिने दानदक्षिणाले नै मन्दिरको खर्च चल्दै आएको थियो । राम नवमीमा भारत र नेपालका भक्तहरूको ठूलो जमघट हुन्थ्यो । तर कोरोनाका कारण दैनिक आउजाउ र धार्मिक भेला ठप्प भयो । मन्दिरको स्रोत सुक्यो । ‘पूजा गर्न र बिहान–बेलुका खानकै समस्या सुरु भएको छ । कोरोना र लकडाउनका कारण भक्तहरू नआएपछि उपाय लागेन,’ पुजारी गिरीले दुःखेसो गरे । नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा रेखाकै आडमा चितवन निकुञ्जको जंगलभित्र आश्रम रहेको छ । राजनीतिक सिमानाअनुसार चितवनको माडी नगरपालिका–१ मा यो आश्रम पर्छ । तर यहाँ न माडीबाट जान सकिन्छ, न चितवनकै अरू भूभाग हुँदै सिधै पुग्न सकिन्छ ।
चितवनको नारायणगढ हुँदै दाउन्ने पहाड पार गरेर महेन्द्र राजमार्गको बर्दघाट आएपछि त्यहाँबाट दक्षिण लाग्दा नवलपरासीको धार्मिक क्षेत्र त्रिवेणी पुगिन्छ । त्रिवेणीबाट डुंगामा नारायणी नदी पार गरेर आश्रम जान सकिन्छ । नदी तरेपछि निकुञ्जको जंगल हुँदै पैदल आश्रम जानुपर्ने भएका कारण यो बाटो त्यति चल्तीमा छैन । गाडीमा नदीमाथि बनेको गण्डक ब्यारेजको पुल तरेर भारतीय भूमि हुँदै आश्रम पुग्ने सजिलो बाटो पनि छ । ‘कोरोना कहर बढेपछि भारतबाट जान–आउन सकिन्न । अन्तर्राष्ट्रिय सिमाना पूरै सिल भएको छ,’ पुजारी गिरीले भने, ‘नदी तरेर त्रिवेणी आउन पनि सजिलो छैन । कोरोना सर्छ भनेर डुंगा चलाउन कम भएको छ ।’ आउजाउमा समस्या भएका कारण आश्रम क्षेत्रमा बाहिरबाट कोही पनि नजाने गरेको उनले बताए ।
पहिला आश्रममा भारतीयहरू धेरै आउँथे । भारतीय सरकारी निकायले पनि यो क्षेत्रलाई ऋषि वाल्मीकिको आश्रमका रूपमा स्वीकार गरेको छ । बिहार राज्यका मुख्यमन्त्री र अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि पटकपटक आश्रममा आएको पुजारी गिरीले बताए ।
आश्रम वरपर ०२४ सालदेखि बस्दै आएका मगर समुदायका १२ घर छन् । मगरकै चेली बिहे गरेका एक जना गुरुङ पनि सोही ठाउँमा बस्छन् । उनीहरू आश्रम आडको तमसा र सोनाहा नदी तरेर सात किलोमिटर परको भारतीय बजार वाल्मीकि नगरमा किनमेल गर्न र काम खोज्न जाने गर्थे । ‘अहिले भारतीय बजार जान भारतीय सुरक्षा फौजले रोक्छ । त्रिवेणी जान पनि सजिलो छैन,’ आश्रम नजिक बस्ने गरेकी सुनिता रानामगरले भनिन्, ‘काम नपाएपछि गुजारा चलाउनै गाह्रो भयो ।’ सोही ठाउँका दलबहादुर चिडीमगरले नवलपुरको त्रिवेणी गाउँपालिका र चितवनबाट एकपटक राहत आएको बताए । ‘मन्दिरमा अहिले कोही आउँदैन । भक्तहरूलाई धूपध्वजा र प्रसाद बेचेर अलिअलि पैसा जुट्थ्यो । हातपाखुरा बलियो भएकाहरू काम गर्न भारतीय बजारतिर लाग्थे । तर लकडाउनले केही गर्नै सकिएन,’ अर्का बासिन्दा दलबहादुर चिडीमगरले भने ।
मन्दिर र मगर समुदाय बसेको आश्रम क्षेत्रको झन्डै १४ बिघा जग्गा निकुञ्जभित्रै परे पनि निकुञ्जको अधिकार क्षेत्रभन्दा बाहिर राखिएको छ । जंगलैजंगलले घेरिएको ठाउँमा ०२२ सालमा राजा महेन्द्र पुगेपछि पुजारी राखेर पूजा गर्ने चलन सुरु भएको पुजारी गिरीले बताए । पहिलो पुजारी उनैका पिता थिए । सो ठाउँमा पहिलो मन्दिर ०५२ सालमा बनेको हो । त्यसपछि ०५५ सालमा अर्को मन्दिर तयार भएको छ ।
प्रकाशित : श्रावण २५, २०७७ ०९:१०