कोरोनाबाट काठमाडौंसहित ३ जिल्लामा ३ को मृत्यु, मृतकको संख्या ७३ पुग्यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट काठमाडौंसहित ३ जिल्लामा ३ को मृत्यु, मृतकको संख्या ७३ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा काठमाडौंसहित ३ जिल्लामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका-६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती महिलालाई साउन १८ गते कोभिड-१९ पुष्टि भएको थियो । पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेकी ती महिला आईसीयूमा उपचाररत थिइन् । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको हो ।

यस्तै कोरोनाबाट पर्सा वीरगन्ज महानगरपालिका-३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको मन्त्रालयले जनाएको छ । ती पुरुषमा मृत्युपछि लिइएको स्वाब नमुनाको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । उनी मधुमेह तथा दमका रोगी थिए ।

यस्तै, मोरङ विराटनगर-९ बस्‍ने ५८ वर्षीय पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको थियो । उनी उच्च रक्तचापका रोगी थिए ।

प्रकाशित : श्रावण २४, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्

थप ३७८ मा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ७ हजार ७ सय ८८ पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

तस्बिरः सटरस्टक ।

यस्तै २४ घन्टामा ४ सय ९९ जना डिस्‍चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय १३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा शनिबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । मुलुकभर ६ हजार २ सय ६ जना आइसोलेसनमा र क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेको प्रवक्ता गौतमले बताए ।




स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


प्रकाशित : श्रावण २४, २०७७ १६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×