२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सडक विस्तारसँगै काठमाडौं उपत्यकाका भ्यागुता संकटमा

गोविन्द पोखरेल

काठमाडौँ — उपत्यकामा सहरी क्षेत्र र सडक विस्तार बढेसँगै भ्यागुता जस्ता उभयचर प्रजातिहरु संकटमा पर्न सक्ने एक अध्ययनले देखाएको छ । जथाभावी रुपमा बाटो खन्दा सहरी क्षेत्रका भ्यागुतालाई प्रत्यक्ष असर पर्ने र हराउँदै जान सक्ने उक्त अध्ययनले संकेत गरेको छ ।

सडक विस्तारसँगै काठमाडौं उपत्यकाका भ्यागुता संकटमा

ग्लोबल इकोलोजी एण्ड कन्जरभेसन जर्नलमा प्रकाशित उक्त अध्ययनले काठमाडौंका भ्यागुताहरुको फैलावट सहरीकरण बढेसँगै बढेको सडकले प्रभाव पारेको देखिएको हो । ‘क्रोकिङ मनसुन–२०१८’का क्रममा उपत्यकाका भ्यागुताको अध्ययन तथा अनुसन्धानका क्रममा सहभागी संस्था तथा विज्ञहरु मिलेर गरेको उक्त अनुसन्धानले सडक विस्तार र माटोको ओसिलोपना घट्दै जाँदा भ्यागुता प्रजातिहरुको अस्तित्व झन् संकटमा परेको देखाएको छ ।

अनुसन्धानमा संलग्न उभयचर विज्ञ एवं कम्प्यानियनस् फर एम्फिबिएन एण्ड रेप्टाइल्स(क्यारोन)नेपालका संस्थापक प्रकाशचन्द्र अर्यालले सुख्खा क्षेत्र बढ्दै जाँदा भ्यागुताहरु पाउने सम्भाव्यता पनि कम देखिएको बताए । उनले सहरी क्षेत्रमा सुख्खापन बढ्दै जाँदा ग्रामीण तथा खेती हुने र ओसिलो माटोमा बढी पाइन थालेको बताए । ‘सुख्खापन बढ्दै जाँदा भ्यागुताहरुलाई पनि बाँच्न गाह्रो भएको देखियो,’ अर्यालले भने, ‘त्यही भएर सहरमा कमजोर र खेती हुने क्षेत्रमा यसको उपस्थिति बढी देखिएको हो ।’

कसरी संकटमा ?

अध्ययनका अनुसार सडक विस्तारसँगै हुने यातायातका साधनहरुको ध्वनिका कारण भ्यागुताको प्रजनन क्रियामा प्रभाव पार्छ । यस्तै सडकसँगै हुने रसायनहरुको चुहावटका साथै सडकका कारणले गर्दा भ्यागुताको बासस्थानमा खण्डीकरणले गर्दा उनीहरुको फैलावटमा प्रभाव पर्छ । जसका कारण उनीहरुको बासस्थानको विनाश र आनीबानीमा समेत प्रभाव पर्ने अनुसन्धानमा सहभागी एवं वातावरण अध्ययन तथा अनुसन्धान संस्था (इन्प्रोक्स)का अनुसन्धानकर्ता चन्द्रमणि अर्यालले बताए ।

काठमाडौंमा बढिरहेको सहरीकरणका कारण खेतीयोग्य जमिनहरु मासेर बस्ती विस्तार गर्ने क्रमसँगै हुने सडक विस्तारले भविष्यमा भ्यागुताहरु थप असर गर्ने उनको भनाइ छ ।

भविष्यमा विकास निर्माणका कार्य गर्दा भ्यागुता जस्ता साना जीवहरुलाई पनि केन्द्रविन्दुमा राखेर योजना तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । तर विभिन्न भ्यागुताका प्रजातिहरुको वातावरणीय परिवर्तनसँगको प्रतिक्रिया फरक-फरक हुने भएकाले भविष्यमा विकासका गतिविधिले भ्यागुताहरुको संख्यामा के कसरी परिवर्तन गराउँछ साथै उनीहरुको आनिबानीमा कस्तो प्रभाव पर्न गएको छ भन्ने कोणबाट अध्ययन हुनुपर्ने कुरा उक्त आलेखमा जनाइएको छ ।

सहरी क्षेत्रका भ्यागुताले के अर्थ राख्छ ?

सहरी क्षेत्रमा भ्यागुताले मानिसरुलाई प्रत्यक्ष रुपमा सरोकार नराखे पनि यी उभयचर सन्तुलित पारस्थितिकीय प्रणालीको सूचक रहेको विज्ञहरु बताउँछन् । अनुसन्धानमा सहभागी एवं त्रिवि केन्द्रीय वातावरण विज्ञानमा उपप्राध्यापक मनकुमार धमला भ्यागुताको संख्या कम हुँदै जानुले सहरको स्वच्छता र सुन्दरतामा असर पुर्‍याउने बताउँछन् । उनी भन्छन्,‘एउटा सहरको सुन्दरता र स्वच्छता त्यहाँका सीमसार क्षेत्रहरुले पनि गर्छन् । काठमाडौंको हकमा सिमसारहरुको अवस्था नाजुक छन् । प्रदूषण बढ्दै जाँदा पानी पनि प्रदूषित हुन्छ । जसका कारण स्वच्छ वातावरणमा हुर्किने प्रजातिहरु मसिँदै जान्छन् । ’

भ्यागुता जस्ता प्रजातिहरुको संख्या कमी हुँदै जानुले पनि काठमाडौं उपत्यकाको वातावरणमा एकदमै नकरात्मक असर पुगेको उनले बताए । वातावरणको स्वच्छतामा आँच आउँदा त्यसले मानिसहरुको स्वास्थ्यलाई पनि प्रत्यक्ष असर गर्ने उनको भनाइ छ । सहरी क्षेत्रका भ्यागुताले मानिसहरुलाई प्रत्यक्ष रुपमा तात्विक असर नगरे पनि यसको संख्या कम हुँदै जानुले मानिसहरुको पनि अवस्था राम्रो छैन भन्ने देखिएको उनले बताए ।

यसरी गरिएको थियो अध्ययन

उपत्यकाको भ्यागुताको अध्ययन सन् २०१३ देखि गरिँदै आए पनि नागरिक वैज्ञानिक अवधारणाअन्तर्गत गत वर्षदेखि उपत्यकाको भ्यागुता पहिलो पटक अध्ययन गर्न थालिएको थियो । मनसुनको समयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहभागीहरुलाई सम्भावित क्षेत्रमा पठाइएको थियो । 'कम्प्यानियन्स फर एम्फिबिएन एण्ड रेप्टाइल्स'को संयोजनमा गरिएको अध्ययनमा देशका विभिन्न क्याम्पस तथा विश्वविद्यालयमा स्नातक तथा स्नातककोत्तर तहमा अध्ययनरत करिब ४० जना विद्यार्थीहरुलाई भ्यागुताको खोजसम्बन्धी काठमाडौंमा तीन दिने तालिम दिइएको थियो ।

विद्यार्थीहरुलाई विभिन्न विषय विज्ञहरुको सहयोगमा उभयचरहरुको अध्ययन तथा संरक्षणका विविध आयाममा तालिम दिइएको थियो । तालिममा सहभागीहरुबाट २४ जना विद्यार्थीहरु छनोट गरी उनीहरुलाई फिल्डमा गर्नुपर्ने कार्यका बारेमा अभिमुखिकरण समेत दिइएको इन्प्रोक्सका अनुसन्धानकर्ता सन्देश न्यौपानेले बताए । ती २४ जना स्वंयसेवकले ६ समूहमा बाँडिएर काठमाडौंका विभिन्न १६१ स्थानमा भ्यागुता र तीनको बासस्थानबारे अध्ययन गरेका थिए । अभियानका क्रममा रात्रिकालीन अध्ययन टोलीका सदस्यहरुले रात्रिकालीन सर्भेमा आफैं सहभागी भएको न्यौपानले बताए ।

कति प्रजातिका भ्यागुता भेटिए ?

यस अध्ययनले ग्रामीण क्षेत्रमा ९ प्रजाति, सहरोन्मुख क्षेत्रमा ६ र सहरी क्षेत्रमा ५ प्रजातिका भ्यागुताहरु भेटिएको देखाएको थियो । एमोल्पस फोरमसुस, नानवराना लेइबिग्गी र पोलिपडेट्स म्यागुलेट्स ग्रामीण भेगका वन क्षेत्रमा भेटिएको अध्ययनले देखाएको छ ।

सन् २००४मा प्रकाशित 'नेपालका उभयचरहरु' नामक किताबमा उपत्यकामा ११ प्रजातिका भ्यागुताहरु भेटिएको बताइए पनि यो अनुसन्धानमा १० वटा प्रजाति मात्रै भेटिएको देखाएको छ । पहिलो अभिलेख नगरेको तर यसपालिको अध्ययनमा ‘चुनाम ट्री फ्रग’ अर्थात् रुख भ्यागुता नयाँ भेटिएको छ । जसमा 'दत्ताफेरनस माइक्रोटिमप्यानियम' र अर्को 'ओमबेराना सिकिमेन्सिस' भने अभिलेख गरिएको छैन । यो भ्यागुता यसअघि भेटिएको बताइए पनि पछिल्ला अध्ययनहरुमा भने रेकर्ड गरिएको थिएन ।

भ्यागुता किन महत्वपूर्ण ?

पारिस्थितिकीय प्रणालीको सन्तुलन, वातावरणीय सन्तुलन, लामखुट्टे तथा किरा नियन्त्रण,पानी शुद्धीकरण,उत्पादकत्व बढाउनका लागि भ्यागुताको भूमिका महत्वपूर्ण मानिन्छ । सफा पानीमा मात्र पाइने एमोलोप्स फर्मोसस् जस्ता भ्यागुताका प्रजातिलाई जैविक सूचकका रुपमा लिइने गरिन्छ ।

खानाका लागि पाहा प्रजातिको भ्यागुताको सिकार, कक्षा १ १मा प्रयोगात्मक अभ्यासमा प्रयोग, भू–उपयोगमा आएको परिवर्तन, पानीको प्रदूषण जस्ता अन्य मानवीय क्रियाकलापहरुले भ्यागुताको प्रजाति संकटमा पर्दै गइरहेका छन् ।

जलवायु परिवर्तनका कारण भ्यागुताको विशिष्ट किसिमको जीवनचक्रमा पनि असर पुर्‍याउने गरेको छ । ‘गोल्डेन टोड’ प्रजातिको भ्यागुता संसारबाटै लोप भएर जानुमा जलवायु परिवर्तन र एक प्रकारको ढुसीलाई कारक मानिन्छ ।

नेपालमा कृषि क्षेत्रमा विषादीहरुको प्रयोगले स-साना जीवहरुमा नकारात्मक प्रभाव पर्दै गए पनि पर्याप्त अनुसन्धान नभएको विज्ञहरु बताउँछन् । भ्यागुतासम्बन्धी अनुसन्धान धेरै कम हुँदा यसका अन्य आयामहरु बारे बुझ्न कठिनाई भइरहेको छ ।

नेपालमा पाइने भ्यागुताको ६ वटा परिवारका ५५ प्रजातिका भ्यागुतामध्ये काठमाडौंमा १२ प्रजाति पाइने योसहितका विगतका अनुसन्धानहरुले देखाएका छन् ।

प्रकाशित : श्रावण २१, २०७७ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?