कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

‘ठूलाबडा’ नै लगाउँदैनन् मास्क, जनतालाई चाहिँ जरिवाना !

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणको स्थिति दिनानुदिन भयावह बन्दै छ, तर साउन लागेयताका गतिविधिलाई मात्र नियाल्दा पनि हामीले राष्ट्रका अगुवाहरू प्रधानमन्त्री, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री, मन्त्री, सांसद, सेना र प्रहरीका उच्च अधिकारी, सरकारी निकायका उच्च तहका व्यक्तिले समूहमा रहँदासमेत मास्क नै नलगाएको पायौं  ।

‘ठूलाबडा’ नै लगाउँदैनन् मास्क, जनतालाई चाहिँ जरिवाना !

र, लगाउँदा पनि सही तरिकाले नलगाउने, चिउँडोमा अड्काउने, बोल्दा खोल्ने जस्ता विश्व स्वास्थ्य संगठनले समेत ‘गर्न नहुने’ भनेकै कुरा गरेको पायौं ।

प्रधानमन्त्री केपी शर्मा ओली साउन १ गते बालुवाटारमा यातायात व्यवसायी र मजदुरहरूको ज्ञापनपत्र बुझ्दै तस्बिर : रासस

सरकारले शुक्रबार मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने करिब हजार सर्वसाधारणलाई सय रुपैयाँ जरिवानासहित दण्डित गरेको छ । असार २२ यता मास्क नलगाई हिँड्ने करिब १० हजार जना कारबाहीमा परिसकेका छन् । तर यही अवधिमा उच्च ओहदामा बसेकाहरू भने मास्क नलगाई निर्बाध रूपमा विभिन्न सार्वजनिक कार्यक्रममा समेत सहभागी हुँदै आएका छन् । संक्रामक रोग ऐन २०२० को दफा ३ को प्रावधान उल्लंघन गरेको आरोपमा सर्वसाधारण दण्डित भइरहँदा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सचिव र सुरक्षा निकायका अधिकारीलाई भने ऐनको यो प्रावधानले असर पारेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा साउन १५ गते पार्टी कार्यालय सानेपामा तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

कोरोना संक्रमणको जोखिम कायम रहे पनि अति संवेदनशील र सार्वजनिक स्थलमा मास्क नलगाई हिँडेको कसुरमा सर्वसाधारणलाई प्रहरीले सय रुपैयाँ जरिवाना गराएर छाड्ने गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म १० हजार जनालाई जरिवाना गरिएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम साउन ३ गते बालुवाटारमा आयोजित सचिवालय बैठकमा तस्बिर : राजन काफ्ले/प्रधानमन्त्रीको निजी सचिवालय

महानगरीय प्रहरी प्रधान कार्यालयकी एसएसपी किरण बज्राचार्यका अनुसार शुक्रबार एकै दिन उपत्यकाका तीन जिल्लाबाट १ सय २५ जनासहित देशभर करिब एक हजार जनालाई जरिवाना गराइएको हो । पछिल्लो एक महिनामा जरिवाना र सम्झाइबुझाइ गरेर १४ हजार ४ सय २१ जनालाई कारबाहीको दायरामा ल्याइएको उनले बताइन् ।

सभामुख अग्निप्रसाद सापकोटा साउन १४ गते सिंहदरबारमा प्रतिनिधिसभाकी नवनिर्वाचित सांसद लीलादेवी सिटौलालाई शपथ गराएपछि तस्बिर : रासस

गृह मन्त्रालयले मास्क लगाएर मात्र सार्वजनिक स्थलमा हिँडडुल गर्ने गरी व्यवस्था मिलाउन असार पहिलो साता नै प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार सम्झाइबुझाइ गर्दासमेत मास्क प्रयोगमा अटेर गरेपछि जरिवाना लिएर दण्डित गर्नुपरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल (बीच) साउन १६ गते रक्षा मन्त्रालयमा आयोजित कार्यसम्पादन सम्झौतापत्र आदानप्रदान कार्यक्रममा तस्बिर : रासस

‘अटेर गर्ने क्रम बढ्दै गए संक्रामक रोग ऐन २०२० मा कैदसमेत गर्न सक्ने प्रावधान छ,’ उनले भने । पछिल्लो एक महिनामा प्रहरीले लकडाउन उल्लंघन गर्ने २ लाखभन्दा बढीलाई नियन्त्रणमा लिएकामा १ लाख ९० हजार जनाभन्दा बढीलाई सम्झाइबुझाइ छाडेको र बाँकीलाई जरिवाना गराएको छ ।

गृहमन्त्री रामबहादुर थापा साउन ११ गते गृह मन्त्रालयमा विभिन्न प्रदेशका आन्तरिक मामिलामन्त्रीहरूसँग छलफल गर्दै तस्बिर : रासस

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल (बीचमा), महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह साउन १५ गते सानेपामा आयोजित पत्रकार सम्मेलनमा तस्बिर : इलिट जोशी/कान्तिपुर

सेनाका विभिन्न विभागका प्रमुखहरू साउन १६ गते सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा तस्बिर : रासस

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली (बीचमा) साउन १३ गते बरामद गरिएका हतियार र नक्कली सुनबारे सञ्चारकर्मीलाई जानकारी दिँदै तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर

खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा (बीच) साउन १४ गते सिंहदरबारमा राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवाललाई शपथ गराउँदै तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साउन ११ गते पोखरामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका प्रमुख सचिव हरिप्रसाद बस्याललाई बिदाइ गर्दै तस्बिर : रासस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र विभिन्न प्रतिष्ठानका कुलपतिहरू साउन ११ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित छलफलमा तस्बिर : रासस

प्रकाशित : श्रावण १७, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?