कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले सडकमा बास

गणेश चौधरी

टीकापुर — भजनी नगरपालिका–८ का पुरन चौधरी बाढीका कारण घर छाडेर बुधबारबाट हुलाकी सडकमा छन् । सबैतिर पानी भरिएपछि उनी ६ जनाको परिवार लिएर हुलाकी सडकको अग्लो ठाउँमा आएका हुन् ।

बाढीले सडकमा बास

कतैबाट खानेकुराको जोहो नभएपछि उनी आफैंले सडकमै खाना पकाउने प्रयास गरिरहेका छन् । भिजेका दाउरा बलिरहेका छैनन् । उनी जेनतेन आगो बाल्ने प्रयास गरिरहेका छन् । उनले भने,‘हिजोदेखि भोकै छौं । सबै भिजेको छ । घरबाट अलिकता चामल बोकेर ल्याएको थिएँ । ’

बाढीका कारण विस्थापित भइ हुलाकी सडकमा रहेको आस्मा चौधरीको परिवारलाई पनि त्यस्तै समस्या छ । उनले भनिन्, ‘घरमा ८ फिटसम्म पानी छ । अन्नपात केही छैन । भए जतिको सबै भिजेर नष्ट भैसकेको छ । खानालाई धेरै समस्या भइरहेको छ ।’ खाना मात्र होइन खानेपानीको पनि समस्या भइरहेको उनले सुनाइन् । २ किलोमिटर टाढाबाट पानी बोकेर काम चलाइरहेको उनले सुनाइन् ।

हुलाकी सडकको भजनी नगरपालिकाको कृष्ण नगरदेखि सोनहाफाँटासम्मको उच्च स्थानमा बाढी पीडित विस्थापित परिवार बसिरहेको खेम पाण्डेले बताए । हुलाकी सडक नै आफूहरुको उच्च सुरक्षित स्थान भएकाले सबै जसो हुलाकी सडकमा आएर बसेको उनले बताए । हुलाकी सडकमा अहिले करिब ५ सय परिवार आश्रय लिइरहेको अनुमान छ ।बिहीबार दिउँसो वर्षा रोकिएपनि पानीको सतह कम नभएकाले घरसम्म जान सक्ने अवस्था नरहेको सोनहाफाँटाका सुकै डगौरा थारुले बताए ।

सडकमा बसिहरहेकालाई बिहीबार साँझसम्म चाउचाउ, भुजा र पानी वितरण गर्ने भजनी–८ का वडाध्यक्ष पंकज थारुले बताए । बिहान कृष्ण ध्वज माविमा बसेका विस्थापित परिवारलाई वितरण गरिएको उनले बताए । उनले भने,‘को कहाँ आश्रय लिएर बसका छन् अहिलेसम्म थाहा नभएकाले तत्काल कति आवश्यक छ भन्ने एकिन गर्दै ठाउँ-ठाउँमा पुगेर राहत वितरण गरिरहेको र अन्य निकायसँग पनि समन्वय गरी राहत तथा स्वास्थ्यको कार्यलाई अगाडी बढाउने तयारी भइरहेको छ ।’

कैलालीको भजनी नगरपालिका-८ को पुरै बस्ती बाढीले विस्थापित भएको छ । कान्द्रा, काढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा वडाको करिब डेढ हजार परिवार विस्थापित भएको वडाध्यक्ष चौधरीले बताए । विस्थापित भएकाहरु अधिकांस हुलाकी सडकमा आश्रयस्थल बनाएर बसिरहेका छन् । अन्य कृष्णध्वज चन्द माध्यमिक विद्यालयमा बसेका छन् ।

बुधबारको तुलनामा पानी केही कम भएपनि अझै पनि भजनी नगरपालिकाको अधिकांश भाग जलमग्न रहेको छ । बाढीले ठाउँ-ठाउँमा बाटो बिगारेकोले ओहोरदोहोरमा पनि समस्या छ । हुलाकी सडकको कतिपय ठाउँमा बिहीबार पनि सडक माथिबाट पानी बगिरहेको छ ।

प्रकाशित : श्रावण १५, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?