२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अझै भएन राजकुमारको पोस्टमार्टम

रमेशकुमार पौडेल

चितवन — निकुञ्जका सेनाले नियन्त्रणमा लिएर कुटपिट गरेपछि मृत्यु भएको भनिएका राजकुमार चेपाङको शनिबार पनि पोस्टमार्टम भएन । चितवन निकुञ्जको सीमाभित्र रहेको ज्युँडी खोलामा घोंगी टिप्दै गरेका बेला साउन १ गते राजकुमारसहित राप्ती–२ मिलनटोलका ७ जनालाई सेनाले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । गत बुधबार राजकुमारको निधन भएको हो ।

अझै भएन राजकुमारको पोस्टमार्टम

सेनाले नियन्त्रणमा लिएर कुटपिट गरेर आफ्नो छोराको मृत्यु भएको भन्दै राजकुमारका बाबु विष्णुलाल चेपाङले शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । त्यसपछि परिवारका सदस्य सम्पर्कमा नआएकाले शवको पोस्टमार्टम प्रक्रिया अगाडि नबढेको डीएसपी सूर्य थापाले बताए । ‘जाहेरी परेको छ, त्यसैका आधारमा हामीले घटनास्थलको मुचुल्का उठाइसकेका छौं । परिवारका कोही सम्पर्कमा नआएकाले अस्पतालले पोस्टमार्टम नगरेको हो,’ डीएसपी थापाले भने ।

भरतपुर अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ड डा. श्रीराम तिवारीले भने ‘परिवारका सदस्य आए पोस्टमार्टम यहीं गर्न तयार हो कि काठमाडौं लैजान खोजेको हो भन्ने बुझेर काम गर्न सकिन्थ्यो ।’ भरतपुर अस्पतालमा मेडिकल अफिसरले पोस्टमार्टम गर्छन् । यसैका लागि छुट्टै विशेषज्ञ छैनन् । ‘विशेषज्ञ डाक्टर नै चाहिन्छ भन्ने हो भने काठमाडौं लैजान सल्लाह दिनुपर्ने हुन्छ, त्यसैले परिवारका सदस्यको सहमति र सल्लाह खोजिएको हो,’ डा. तिवारीले भने । अस्पताल आउँदा राजकुमारको मृत्यु भइसकेको थियो । अस्पतालमा मुटुको चाल हेरेर ज्यान रहे/नरहेको निर्क्योल गर्नुबाहेक अरू केही नगरेको उनले बताए । ‘ल्याउँदा नै ज्यानै नरहेपछि अरू ओल्टाइपल्टाइ गरिएन । पोस्टमार्टम गर्दा नै हेर्ने हो, सबै कुरा पोस्टमार्टमबाटै खुल्छ,’ डा. तिवारीले भने ।

मृतकको परिवारका सदस्य र नेपाल चेपाङ संघका प्रतिनिधिसँग प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको शुक्रबार दिनभरजसो जिल्ला प्रशासन कार्यालयमा वार्ता भएको थियो । दोषीलाई कारबाही गर्नुका साथै मृतकका परिवारको उचित रेखदेखका लागि राहतको व्यवस्था हुनुपर्ने माग छलफलमा उठेको थियो । ‘तत्कालका लागि किरिया खर्च लिएर पोस्टमार्टम सुरु गर्ने भनेपछि हिजोको छलफलमा सहमति भएन,’ नेपाल चेपाङ संघका पूर्वकेन्द्रीय अध्यक्ष तथा पूर्वसभासद गोविन्दराम चेपाङले भने ।

राप्तीका नगरप्रमुख प्रभा बरालले राहतको विषय सम्बोधन गरेर पोस्टमार्टम प्रक्रिया सुरु गराउन शनिबार आफूले परिवारसँग छलफल गरिरहेको भए पनि टुंगोमा नपुगेको बताइन् ।

यो पनि पढ्नुहाेस् :

प्रकाशित : श्रावण ११, २०७७ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?