कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

वीरगन्जका मेयर सरावगी भन्छन्, 'राज्यको गलत नीतिका कारण कोरोना समुदायमा फैलियो'

भूषण यादव

वीरगन्ज — अव्यवहारिक नीतिले पछिल्लो समय वीरगन्ज महानगरपालिकाको समुदायमा कोरोना संक्रमण फैलिएको चिकित्सकहरुले बताएका छन् । वीरगन्जवासीहरुले आफ्नै पैसा तिरेर पीसीआर विधिबाट कोरोना संक्रमण चेकजाँच गरेपछि समुदायस्तरमै कोरोना फैलिइसकेको अवस्था देखिएको हो । 

वीरगन्जका मेयर सरावगी भन्छन्, 'राज्यको गलत नीतिका कारण कोरोना समुदायमा फैलियो'

नारायणी अस्पतालको विवरणअनुसार बुधबारसम्म एक सय ८८ जनाले पैसा तिरेर स्वाब परीक्षण गराएका छन् । जसमध्ये २५ जनामा कोरोना संक्रमण देखिएको छ । अधिकांश संक्रमितमा लक्षण पनि देखिएको चिकित्सकले जनाएका छन् । संक्रमित हुनेहरुमा उद्योगका सीइओ, कामदार, चिकित्सक, विद्यार्थी, अस्पतलामा भर्ना भएका विरामी रहेका छन् ।

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी राज्यको गलत नीतिका कारण वीरगन्जमा कोरोना समुदायमा फैलिएको बताउँछन् । ‘सुरुदेखि नै मैले भन्दै आएको थिएँ कि एक ठाउँमा ४ जना भेला हुन नदिउँ, नाकामा कडाई गरौं,’ उनले भने, ‘तर, स्थानीय प्रशासनले मतलब राखेनन्, नाका खुल्ला बराबर नै छ ।’

सरकारले भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गर्ने निर्णय गरे पनि त्यो लागू नभएको उनी बताउँछन् । 'सरकारले नेपाल-भारतको बोर्डर शील गरेर आवागमन ठप्प गर्ने निर्णय गरेको छ,’ मेयर सरावगीले भने, ‘तर, यहाँ दैनिक सयौंको संख्यामा मान्छेको ओहोरदोहोर भइरहेको छ । नाकाबाट विगतझैं चोरी तस्करीको धन्दा जारी नै छ ।’ सरकारले कल–कारखाना खोल्ने निर्णय गरेसँगै घर गएका भारतीय कामदार पुन फर्किएको उल्लेख गर्दै उनले भने, ‘जब बोर्डर शील छ, तब कामदार कहाँबाट आए ?’ मेयर सरावगीले भने, ‘अहिले चालु रहेका उद्योगमा भारतीय कामदार काम गरिरहेका छन् ।’

सीमावर्ती भारतको विहार राज्यमा कोरोना तीव्र रुपले फैलिएका कारण त्यहाँ पुन लकडाउन गरिएको छ । सीमापारी रक्सौलबासी कतिपयको वीरगन्जमा पसल छन्, कतिले यता काम गर्छन् । विहान रक्सौलबाट आएर वीरगन्ज पसलमा काम गरेर साँझ घर फर्किने पनि धेरै रहेको उनले बताए । ‘सुरक्षा निकायले बोर्डरबाट हुने आवागमन रोक्न सकेनन्,’ उनले भने, ‘भित्रभित्रै वीरगन्जको अवस्था भयावह भइसकेको छ ।’

वीरगन्जमा तीव्र परीक्षण गरियो भने हजारभन्दा बढी संक्रमित फेला पर्नसक्ने उनको अनुमान छ । यहाँका निजी अस्पतालमात्र पैसा कमाउने ध्याउन्नमा लागेको उनले आरोप लगाए । ‘कसैले स्वास्थ्य प्रोटोकलको पालना गरेका छैनन् । वीरगन्जमा मास टेस्टिङ गर्न आवश्यक भइसकेको छ । समुदायस्तरमा कोरोना गइसकेको छ । सबभन्दा डरलाग्दो कुरा के छ भने, पहिलेको कोरोना संक्रमितमा लक्षण थिएन, अहिले करिब सबैमा लक्षण देखिएको छ,’ उनले भने, ‘ज्वरो, झाडापखाला, घाँटी दुख्ने लक्ष्यण छ र एउटै घरमा ४/५ जना संक्रमित देखिएका छन् ।’

नारायणी अस्पतलको ओपीडी, जेनरललगायतको हरेक सेवा सुचारु भइसकेको छ । अस्पतालकै भवनमा पीसीआर परीक्षण प्रयोगशाला पनि सञ्चालनमा छ । स्वाब परीक्षण समेत नारायणीमै गर्ने गरिएको छ । यसले पनि संक्रमण फैलाएको उनले बताए ।

'मास परीक्षण आवश्यक'

कोभिड १९ को महामारीबाट छिटोभन्दा छिटो छुटकारा पाउन र यसलाई नियन्त्रणमा लिई जनजीवन सामान्य बनाउनका लागि वीरगन्ज महानगरपालिकाले महानगरवासीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्ने योजना ल्याएको थियो । यसका लागि आर्थिक सहयोगको अपिल गरिएको थियो । यहाँका उद्योगी/व्यवसायी, नागरिक समाज, बैंकर्स लगायतको सहयोगबाट महानगरपालिकाले ६३ लाख रुपैयाँको लागतमा पीसीआर मेसिन समेत खरिद गरेको थियो । गत असार ६ मा एक कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महानगरको पीसीआर मेसिन नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।

हाल उक्त मेसिन सञ्चालनमा रहे पनि महानगरपालिकाले महानगरवासीको स्वाब परीक्षण गराउन सकेको छैन । ‘मास टेस्टिङका लागि सबै तयारी पूरा भए पनि केन्द्र सरकारको स्वीकृति नआउँदा हामीले परीक्षण गर्न सकेका छैनौं,’ कान्तिपुरसँग मेयर सरावगीले भने, ‘केन्द्रले हामीलाई पंगु बनाएको छ ।’ समुदायमा कोरोना परीक्षण सम्बन्धमा अनुमतिका लागि महानगरपालिकाले गत साउन २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरे पनि हालसम्म कुनै सुनवाई नभएको उनले गुनासो गरे । ‘५४ लाख रुपैयाँ लागतमा २५ हजार थान भीटीएम किट, २ हजार थान पीसीआर किट, २ हजार आरएनए एक्सट्राक्सन किट खरिद गरिसकेका छौं,’ उनले भने, ‘पुलिङ सिस्टमबाट करिब २० हजारजनाको स्वाब परीक्षण गर्न सक्छौं ।’ केन्द्र सरकारले समयमै निर्णय लिन सकेन भने वीरगन्जको अवस्था झन भयावह हुन सक्ने सरावगीले बताए ।

प्रकाशित : श्रावण ८, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?