१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विदेशमा अलपत्र नेपालीका लागि थप ४२ चार्टर उडान हुने 

सुरज कुँवर

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको छ । बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान हुँदैछन् । 

विदेशमा अलपत्र नेपालीका लागि थप ४२ चार्टर उडान हुने 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) छाउनीका अनुसार आगामी बुधबार (असार ३१) देखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने छ । सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मेलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिने छ ।

सीसीएमसीले उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको निर्देशक समितिले गरेको शुक्रबारको निर्णय अनुसार तालिका सार्वजनिक गरेको उल्लेख गरेको छ । सरकारले नियमित हुने व्यवसायिक उडान साउन ६ गतेसम्म रोकेको छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा तेस्रोपटकको उद्धार उडान तालिका सार्वजनिक गरेको हो ।

कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने सरकारको अभियानको आज अन्तिम दिन (असार २८) हो । तेस्रो चरणको उद्धार उडान सुरु हुनअघि सरकारले दुई दिन उडान रोकेको छ । यो दुई दिन सरकारले उद्धार उडानमा भएका कमी कमजोरीमा समीक्षा गर्ने जनाएको छ ।

सीसीएमसीले ६ वटा मुलुकका १० वटा विमानस्थलबाट नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६ वटा गरी ३२ वटा उडान गर्ने अनुमति दिएको छ ।

त्यस्तै विदेशी वायुसेवा कम्पनी अर्न्तगत यसपटक एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।

यसअघि उद्धार उडानमा रहेका कतार र टर्किस एयर भने तेस्रो चरणको उद्धार उडानमा सामेल छैनन् । कतार र टर्किसले युरोप र अमेरिकामा अलपत्र परेका नेपालीलाई पहिलो र दोस्रो चरण चलेको एक महिना लामो उद्धार उडानका क्रममा नेपाल ल्याएका थिए ।

कोभिड–१९ को माहामारी रोकथाम गर्ने उदेश्य राखेर सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र चैत ११ गतेदेखि व्यवसायिक उडान रोकेको छ । पटकपटक गरी सरकारले आठौंपटकको निर्णयबाट साउन ६ सम्म उडान रोकेको हो । अहिले आन्तरिकतर्फ सीसीएमसी निर्देशक समितिको निर्णय अनुसार आन्तरिकतर्फ चार्टर उडान भइरहेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रले बुधबारसम्म २४ वटा मुलुक हुँदै १ सय ५९ वटा उद्धार उडानबाट कम्तिमा २६ हजार नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएको जनाएको छ । सरकारले जेठ २८ देखि उद्धार उडान सुरु गरेको थियो ।

प्रकाशित : असार २८, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?