विदेशमा अलपत्र नेपालीका लागि थप ४२ चार्टर उडान हुने 

असार २८, २०७७

सुरज कुँवर

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको छ । बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान हुँदैछन् । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) छाउनीका अनुसार आगामी बुधबार (असार ३१) देखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने छ । सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मेलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिने छ । 

सीसीएमसीले उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको निर्देशक समितिले गरेको शुक्रबारको निर्णय अनुसार तालिका सार्वजनिक गरेको उल्लेख गरेको छ । सरकारले नियमित हुने व्यवसायिक उडान साउन ६ गतेसम्म रोकेको छ । 

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा तेस्रोपटकको उद्धार उडान तालिका सार्वजनिक गरेको हो । 

कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने सरकारको अभियानको आज अन्तिम दिन (असार २८) हो । तेस्रो चरणको उद्धार उडान सुरु हुनअघि सरकारले दुई दिन उडान रोकेको छ । यो दुई दिन सरकारले उद्धार उडानमा भएका कमी कमजोरीमा समीक्षा गर्ने जनाएको छ । 

सीसीएमसीले ६ वटा मुलुकका १० वटा विमानस्थलबाट नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६ वटा गरी ३२ वटा उडान गर्ने अनुमति दिएको छ । 

त्यस्तै विदेशी वायुसेवा कम्पनी अर्न्तगत यसपटक एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् । 

यसअघि उद्धार उडानमा रहेका कतार र टर्किस एयर भने तेस्रो चरणको उद्धार उडानमा सामेल छैनन् । कतार र टर्किसले युरोप र अमेरिकामा अलपत्र परेका नेपालीलाई पहिलो र दोस्रो चरण चलेको एक महिना लामो उद्धार उडानका क्रममा नेपाल ल्याएका थिए । 

कोभिड–१९ को माहामारी रोकथाम गर्ने उदेश्य राखेर सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र चैत ११ गतेदेखि व्यवसायिक उडान रोकेको छ । पटकपटक गरी सरकारले आठौंपटकको निर्णयबाट साउन ६ सम्म उडान रोकेको हो । अहिले आन्तरिकतर्फ सीसीएमसी निर्देशक समितिको निर्णय अनुसार आन्तरिकतर्फ चार्टर उडान भइरहेका छन् ।  

कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रले बुधबारसम्म २४ वटा मुलुक हुँदै १ सय ५९ वटा उद्धार उडानबाट कम्तिमा २६ हजार  नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएको जनाएको छ । सरकारले जेठ २८ देखि उद्धार उडान सुरु गरेको थियो । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully