नेकपा विवाद चर्किएकै बेला अध्यक्ष दाहाललाई भेटिन् चिनियाँ राजदूतले- समाचार - कान्तिपुर समाचार

नेकपा विवाद चर्किएकै बेला अध्यक्ष दाहाललाई भेटिन् चिनियाँ राजदूतले

हामी नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकास चाहन्छौं : चिनियाँ दुतावास
जगदीश्वर पाण्डे

काठमाडौँ — सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्ष चलिरहेको बेला भेटघाट श्रृंखला सुरु गरेकी चिनियाँ राजदुत होउ यान्छीले बिहीबार पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेताहरु माधव नेपाल र झलनाथ खनाललाई उनले नेकपामा विवाद बढेपछि भेटघाट गरिसकेकी छन् । अध्यक्ष दाहाललाई राजदुत यान्छीले बिहीबार उनकै निवास खुलमटारमा गएर भेटेको खुलासा भएको हो ।

राजदुत होउ र दाहालबीचको भेटबारे दाहालको सचिवालयले पुष्टि नगरे पनि चिनियाँ दुतावासबाट भेटको जानकारी प्राप्त भएको हो । दुतावासका प्रवक्ता चाङ सीले उक्त भेटवार्तामा दुवै पक्षले साझा विषयमा आफ्ना धाराणहरु आदान–प्रदान गरेको कान्तिपुरलाई बताए । उनले भने, ‘हामी (चीन) नेपाली जनताको चासोलाई ध्यानमा राखेर जहिले पनि नेपालमा राजनीतिकस्थिरता र आर्थिक विकास होस भन्ने चाहन्छौं ।’

नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष दाहाल–माधवकुमार नेपाल बीच चलिरहेको शक्ति संघर्षका कारण राजदुत होउले राष्ट्रपतिसहित नेकपाकै नेताहरुलाई गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चीन मामिला विज्ञ रुपक सापकोटा चिनियाँ राजदुत होउको पछिल्लो गतिविधिलाई चीनले नेपालमा राजनीतिक स्थिरता चाहेको मान्छन् । ‘चीनलाई नेपालको आन्तरिक राजनीतिमा चासो छैन । तर, नेपालमा राजनीति स्थिरता होस् भन्ने उसको चाहना हो,’ उनले भने । राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले यस अघि नै राजदुत होउका भेटघाटहरुलाई ‘असामान्य अवस्थामा सामान्य भेट’ को रुपमा संज्ञा दिइसकेका छन् ।

राजदुत होउले असार २३ गते पूर्व प्रधानमन्त्री खनालसँग उनकै निवास डल्डुमा पुगेर भेटवार्ता गरेकी थिइन् । यसको दुई दिन आइतबार (असार २१ गते) अर्का पूर्व प्रधानमन्त्री नेपालसँग उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेकी थिइन् । यी दुई नेतासँग भेटवार्ता गर्नु अघि उनले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन् ।

चिनियाँ राजदुतका पछिल्ला ७ भेट, कहिले कसलाई भेटिन् ?

  • असार २५ गते पुष्पकमल दाहालसँग
  • असार २३ गते झलनाथ खनालसँग
  • असार २१ गते माधव कुमार नेपालसँग
  • असार १९ गते बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग
  • वैशाख १९ गते पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग
  • वैशाख १८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग

प्रकाशित : असार २५, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय संचारमाध्यमविरुद्ध कूटनीतिक, राजनीतिक र कानुनी बाटो खोज्नुपर्ने हुनसक्छ : सरकारका प्रवक्ता

दुर्भाव फैलाउने समाचारको भर्त्सना
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले भारतीय संचार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल-चीन सम्बन्धबारे प्रचार गरिरहेका सामग्रीबारे राजनीतिक र कानुनी उपचार खोज्ने अवस्था आउनसक्ने बताएका छन् । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भारतीय संचार माध्यमले प्रधानमन्त्री ओली, नेपाल-चीन सम्बन्धलाई लिएर भारतीय संचार माध्यमका सामग्रीबारे सोधिएको प्रश्नमा भने, 'दुर्भाव फैलाउन र चरित्र हत्या गर्ने, मर्यादालाई आँच पुर्‍याउने, प्रतिष्ठा घटाउने गरी गरिएका समाचारको भर्त्सना गर्छौं ।'

मन्त्री खतिवडाले थपे, 'सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफैं अनुशासनमा बसोस् । उसले स्वस्थ र सही समाचार मात्रै सम्प्रेषण गरोस् भन्ने हुन्छ ।'

भारतीय संचार माध्यमले प्रकाशित र प्रचार गरिरहेका सामग्रीबारे कूटनीतिक, राजनीतिक र कानुनी बाटो खोज्ने अवस्था आउने मन्त्री खतिवडाले बताए । 'यो कुरामा कूटनीतिक माध्यम पनि परिचालन गर्नुपर्ने हुन्छ,' उनले भने, 'अस्वस्थ र हाम्रो राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र नेपालीहरूको स्वाभिमानमा आँच पुर्‍याउने किसिमका समाचारहरू सम्प्रेषण नगर्न सबै मिडियाहरूलाई हामी अनुरोध पनि गर्छौं । त्यसमा छिमेकी देशका मिडियाहरू पनि पर्छन् । राजनीतिक र कानुनी दुवै उपचार खोज्नु पर्ने हुन्छ ।'

पछिल्लो समय भारतीय संचार माध्यमहरूले प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतलाई लिएर आपत्तिजनक सामग्री तयार पारेर प्रचार गरिहरेका छन् । त्यसलाई लिएर नेपालमा भारतीय मिडियाको आलोचना भइरहेको छ ।

सम्बन्धित समाचारः




प्रकाशित : असार २५, २०७७ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×