जनताले १० रुपैयाँको मास्क किन्‍न सक्छन् कि सक्दैनन् भन्‍ने सरकारले सोचेन : सांसद शाही - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनताले १० रुपैयाँको मास्क किन्‍न सक्छन् कि सक्दैनन् भन्‍ने सरकारले सोचेन : सांसद शाही 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद रंगमती शाहीले जनताको वास्तविक अवस्था थाहा नपाएझैं गरेर निर्णय गरिरहेको बताएकी छन् । सरकारले मास्क नलगाउने नागरिकलाई पक्राउ गर्न निर्देशन दिएकोतर्फ इंगित गर्दै सांसद शाहीले कतिपय नागगिक मास्क किन्न सक्ने अवस्थामा नरहेको र केही ठाउँमा मास्क नै उपलब्ध नहुने भएकोतर्फ ध्यान दिन आग्रह गरिन् । 

विकास तथा प्रविधि समितिको बुधबार बसेको बैठक तस्बिर : रासस

'लकडाउन लगाउने बेला यसको प्रभाव के हुन्छ ? कसरी लागू गर्ने भन्नेबारे सोचिएन,' सांसद शाहीले भनिन्, अहिले अनिवार्य मास्क लगाउने भनियो । १० रुपैयाँको मास्क किन्ने जनताको क्षमता छ कि छैन भनेर सरकारले सोचेन ।'

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बुधबार बसेको बैठकमा शाहीले सोधिन्, 'मास्क नपाउने ठाउँमा के गर्ने होला ?' मास्कको उपलब्धता नहुने तर त्यहाँ पनि प्रहरी हुने र मानिस बाहिर निस्किँदा पक्राउ पर्ने अवस्था आउने उनको भनाइ थियो ।

समितिले सार्वजनिक यातायात सञ्‍चालनबारे छलफल गरिरहेको छ । यातायात व्यवसायी र युनियनहरूसँग समितिले कसरी कोरोना संक्रमणपछिका दिनमा सार्वजनिक यातायात सञ्‍चालन गर्ने भन्नेबारे छलफल गरिरहेको हो ।

ट्रेड युनियनका अधिकारीकहरूका कुरा सुनेपछि समितिले सरकारी निकायको कुरा सुन्ने भनेको छ ।

स्वास्थ्य सचेतता अपनाएर सार्वजनिक यातायात सञ्‍चालन गर्नुपर्नेतिर सरकार अग्रसर हुनुपर्ने सांसद र यातायात व्यवसायीले बताएका छन् । सांसद रामबहादुर विष्टले स्वास्थ्य सतर्कता अपनाएर यातायात सञ्‍चालन गर्नुपर्ने बताए । सरकारले लकडाउन भएको १०७ दिनसम्म पनि यातायात मजदुरको ख्याल नगरेको उनको भनाइ थियो । 'लकडाउन गर्ने सरकारले १०७ दिनसम्म पनि यातायात मजदुरको अवस्था बुझ्नु पर्दैन ? मजदुर र व्यवसायीलाई उदार मात्रै हुनुस् भन्ने ? काम गरेर खानुपर्ने अवस्थामा कामै छैन गर्ने के ?,' उनको प्रश्न थियो ।

नेकपा सांसद लिलानाथ श्रेष्ठले सबै पक्ष बसेर एक निर्णयमा पुग्नुपर्ने बताए । स्वास्थ्य सचेतता अपनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

यातायात सम्बद्ध युनियनका प्रतिनिधिले भने सरकारसँग बारम्बार माग राख्दा पनि सुनुवाइ नभएको बताएका छन् । उनी सरकारले सञ्‍चालन गर्ने निर्णय नलिए कि सडकमा आउनुपर्ने कि आत्महत्याको बाटो अपनाउनुपर्ने अवस्था आएको गुनासो गरे ।

प्रकाशित : असार २४, २०७७ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्

धरानमा सर्वसुलभ औषधि नै मिश्रण गरेर लागूऔषधको विकल्पमा प्रयोग

धरानमा फेरि ५ जना पक्राउ, एक मेडिकल सिल
प्रदीप मेन्याङ्बो

(सुनसरी) — धरानमा स्थानीय मेडिकल हलमा सर्वसुलभ रुपमा पाइने केही औषधिहरु मिश्रण गरेर लागुऔषधको विकल्पको रुपमा प्रयोग बढ्न थालेको छ । यसरी विभिन्न औषधिको मिश्रणबाट तयार हुने ‘वैकल्पिक लागुऔषध’ बनाउन प्रयोग हुने औषधिहरु अवैध रुपमा बिक्री गर्ने र सेवन गर्नेहरु ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–७ भानुचोक नजिकै सुमन मेडिकल हल संचालक औषधि व्यवसायी विनय कुमार गुरुङ, खरिद गरी सेवन गर्ने धरान १० बस्ने सम्यक श्रेष्ठ, धरान–१५ बस्ने सहबाज सिद्धिकी, अमिर नेपाली र अर्जुन बराइली रहेका छन् ।

पछिल्लो समयमा धरानमा औषधी व्यवस्था विभागले स्वीकृति दिएका विभिन्‍न रोगको उपचारमा प्रयोग गरिने औषधिहरु मिश्रण गरेर लागूपदार्थको विकल्पको रुपमा खाने र विक्री गर्ने मेडिकल हलहरुको संख्या बढेको जानकारी पाएपछि छापामार्दा पाँचजना पक्राउ परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए ।

उनले भने, ‘कोरोना महामारी र लकडाउनका कारण भारतीय बजारबाट प्रतिबन्धित लागूऔषध ल्याउन नसक्दा विकल्पको रुपमा सर्वसुलभरुपमा पाइने औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको सूचनाको आधारमा धरानका तीन मेडिकल हलमा छापा मार्दा गुरुङको सुमन मेडिकल हलबाट उनीहरु पक्राउ परेका हुन् ।’

विराटनगरस्थित औषधि व्यवस्था विभागको समन्वयमा प्रहरीले औषधिको अनुचित प्रयोग र दुरुपयोग गर्नेहरुलाई पक्राउ गरेको हो । विभागले मेडिकल हलमा सिल गरेको छ । बरामद गरिएका औषधिसहित थप अनुसन्धान तथा कारबाहीका लागि मेडिकल हल सञ्चालक गुरुङसहित पाँचैजनालाई औषधि व्यवस्था विभाग पठाएको प्रनाउन बस्नेतले बताए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका वरिष्ठ चिकित्सक प्राडा निदेश सापकोटाका अनुसार बरामद गरिएको औषधि मध्ये एकमा डाइजेपामको मात्र हुने भएकाले झुम्म हुने, निद्रा लगाउने हुन्छ । उक्त औषधि सामान्यतया पेट दुख्दा दिने गरिन्छ । ‘लागूपदार्थका दुर्व्यसनीहरुले लागूऔषधको विकल्पको रुपमा बजारका मेडिकल हलमा सजिलै र सस्तोमा पाइने औषधि नै लागूऔषधको रुपमा प्रयोग गर्नु र मेडिकल हल सञ्चालकले पनि मेडिकल काउन्सीलमा दर्ता भएका चिकित्सकको बिना प्रेस्किप्सन पैसा कमाउने उद्देश्यले अनुचित रुपमा बिक्री वितरण गर्नु अपराध हो,’ उनले भने ।

तीनसाता अघिमात्र प्रहरीले धरान उपमहानगरपालिका– १५ बाझगरास्थित मनिषा राईको घरबाट डाइसाइक्लोमाइन हाइड्रोक्लोराइड आईपी ३ सय ५५ ट्याब्लेट र ट्रमाडोल हाइड्रोक्लोराइड ३ सय ५५ क्याप्सुल (५० एमजी मात्राको) बरामद गरेसँगै मनिषा र उनका साझेदारी धरान–५ देउराली बस्ने २९ बर्षीय उमेश राईलाई पक्राउ गरेको थियो । ती औषधिहरु टाउको दुखाई, नशा सम्बन्धी बिरामीहरुलाई चिकित्सकले पेस्क्राइव गर्ने गरेका छन् ।

पक्राउ गरेपछि लिएको प्रारम्भिक बयानमा लागूऔषधको विकल्पको रुपमा ती औषधिहरु विक्री वितरण र प्रयोग गर्ने गरेको बताएपछि लागूऔषधका कारोबारी र प्रयोगकताहरुले नयाँ ‘ट्रेन्ड’ पच्छ्याएको प्रहरीले अनुमान गरेको छ ।

इप्रका धरानका प्रनाउ बस्नेतले भने, ‘हामीले बरामद गरेका ती औषधि बजारका औषधि पसल र क्लिनिकहरुमा सर्वसुलभरुपमा पाइन्छन् । अनुसन्धान गर्दा उनीहरुले ती औषधिहरु धरानमा लागूऔषधकै रुपमा खाने र विक्री वितरण गर्ने गरेको पाइयो ।’ यस्ता सर्वसुलभ पाइने औषधिलाई नै लागूऔषधको रुपमा प्रयोग र विक्रीवितरण गर्दा प्रहरीलाई पनि छल्न सहज हुने र प्रतिबन्धित लागूऔषध ओसार पसार गर्दा पक्राउ परे जस्तो कडा दण्ड सजाय र जरिवाना पनि नहुने भएकाले दुर्व्यसनी र कारोबारीहरु त्यतातिर आकर्षित भएको हुनसक्ने प्रनाउ बस्नेतले बताए ।

प्रकाशित : असार २४, २०७७ १५:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×