साम्राज्ञीविरुद्ध कलाकार संघ पुगे भुवन - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साम्राज्ञीविरुद्ध कलाकार संघ पुगे भुवन 

रीना मोक्तान

काठमाडौँ — कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार एवं निर्माता भुवन केसीले कलाकार संघमा उजुरी दिएका छन् । केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै उनले बिहीबार संघमा एक निवदेन दिइ छानबिनको माग पनि गरेका छन् । 

साम्राज्ञीले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्‍नामी भएको भुवनले दाबी गरेका छन् । 'आजभन्दा ५/६ वर्षअगाडि निर्माण गरेको चलचित्र 'ड्रिम्स'मा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ,' उनको उजुरीमा लेखिएको छ ।

बिहीबार नै केसीले फेसुबकमा स्टाटस लेख्दै साम्राज्ञीलाई मानहानी ‍हुने सामाग्री सार्वजनिक नगर्न भुवनले चेतावनी दिएका थिए । उनले साम्राज्ञीलाई साइबर कानून र मानहानीसम्बन्धि कानून प्रयोग गर्ने पनि बताएका छन् ।

साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको लामो स्टाटसमा सामाजिक सञ्जालमा झुटा लाञ्छना लगाएमा कानुनी उपचारमा जाने चेतावनी पनि उनले दिएका छन् ।

'आफूलाई ब्रेक दिने पिता तुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटो कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नुभएको सामाग्रीहरुको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ !' उनले लेखेका छन्, 'अब उप्रान्त तपाईंले म भुवन केसीले विगत करिब ४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्रको क्षेत्रमा रातो दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठाहरुमा आघात पुग्ने गरी पुन: त्यस्ता मानमर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम फेसबुक या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न हुन सुचित गर्दछु ।'

यसअघि अभिनेत्री शाहले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै म्यानेमेन्टको विषयमा बोल्दा उक्त फिल्मको व्यक्तिले अपशब्द प्रयोग गरेर गाली गरेको कुरा बताएकी थिइन् । 'अर्को फिल्ममा म्यानेजमेन्ट राम्रो परेन । मैले त्यस फिल्मको व्यक्तिलाई समयमा खान नपाएको, पानी पनि पिउन नपाएको भनेर म्यानेजमेन्ट नराम्रो भयो भनेर भनेको थिएँ,' उनले भनेकी थिइन् ।

यसअघि साम्राज्ञीले इन्स्टाग्राममा आफूलाई तीन ठूला ब्यानारका फिल्मसँग सम्बन्धित व्यक्तिहरुले दुर्व्यवहार गरेको बताउँदै आएकी थिइन् । उनले कसैको नाम उल्लेख नगरे पनि पछिल्लो समय साम्राज्ञीको भिडियो सार्वजनिक हुनासाथ भुवनले फेसबुकमा प्रतिवाद गर्दै स्टाटस लेखेका थिए । 'खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !' उनको स्टाटसमा उल्लेख थियो । त्यसपछि भने अभिनेत्री शाहले भुवनलाई संकेत गर्दै भनेकी थिइन्, 'त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो। त्यो पुरानो कुरा कोट्याएर के फाइदा । यस्तो कुराहरु नगर भनेर मलाई सम्झाउनु भयो ।'

प्रकाशित : असार १८, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्

दूतावासको नयाँ घरमा बस्‍न हानाथाप

विवाद बढ्दै जाँदा कर्मचारी दुई खेमामा बाँडिए
सुरेशराज न्यौपाने

नयाँ दिल्ली — बाराखम्बा रोडस्थित नेपाली दूतावासभित्र बनेका ६ वटा प्रि–फ्याब घरका कारण दूतावास कर्मचारीबीच विवाद बढेको छ । झण्डै ५ करोड रुपैयाँमा बनेका यी घरमा परराष्ट्र सेवाअन्तर्गतका कर्मचारीले आफू बस्न पाउनुपर्ने दाबी गर्दै आएका छन् भने बाहिरी सेवाकाले पनि यहीँ बस्न ‘लबिङ’ गरिहेका छन् ।

दूतावास परिसरका रहेका आधा शताब्दी पुराना आवासीय भवनहरु २०७२ को भूकम्पले जीर्ण बनाएपछि दूतावासले नयाँ भवन बनाउने प्रक्रिया अघि बढाएको थियो । प्रि–फ्याब घर दूतावासका इकोनोमिक मिनिष्टर (सहसचिव) र सैनिक सहचरी (बिग्रेडियर जनरल) को आवासीय प्रयोजनमा बनाइएका थिए । सरुवा भइसकेकाले सहचरी नयाँ घरमा सर्न चाहेनन् । दुई घर उपसचिवका लागि बनाइए पनि परराष्ट्रकै अधिकृत तहका कर्मचारी बस्दै आएका छन् । यिनै घरमा बस्ने विषयलाई लिएर दूतावासका कर्मचारीबीच बढेको विवादका कारण परराष्ट्र्र सेवा र अन्य सेवाका कर्मचारी दुई खेमामा उभिएका छन् ।

पुराना घरमा बसिरहेका परराष्ट्रका कर्मचारीले भने नयाँ घर बनाउने निर्णयको टिप्पणी आफूहरुका लागि भनेर उठाइएको दाबी गरेका छन् । सुरक्षा र खर्चको कुरा अरु बेला बेवास्ता गरेर आफूहरुलाई थोत्रो घरमै राख्न अनावश्यक ढंगले यो सरोकार उठाइएको उनीहरुको भनाई छ । ‘सबै कर्मचारीलाई परिसरभित्रै ल्याउनुपर्छ भन्नेमा कुनै विवाद नै भएन तर अहिले नै त्यो विषय उठाउनु जायज होइन । यो त सिधै हाम्रो मनोबल गिराउने विषय हो,’ एक कर्मचारीले भने ।

विवाद बढ्दै गएपछि दुवै पक्षले राजदूत नीलाम्बर आचार्यमाथि आफ्नो अनुकूल निर्णय गराउन दबाब बढाउँदै लगेका छन् । राजदूत आचार्यले भने सबैले नयाँ घरमा बस्नका लागि प्रयास गर्नु स्वाभाविक भएको उल्लेख गर्दै आफूले सबैसँग सल्लाह गरेर निर्णय लिने बताए । आफ्नो कसैप्रति आग्रह/पूर्वाग्रह नभएकाले बस्तुगत आधारमा उचित निर्णय लिने उनको भनाइ छ । ‘सबैलाई मान्य हुने गरी छिट्टै निर्णय गर्छु । सबै आधार केलाएर निर्णय लिइनेछ,’ राजदूत आचार्यले भने ।

दूतावासले बनाएका ‘प्रि–फ्याब’ नयाँ घरलाई लिएर पनि शुरुदेखि नै प्रश्न उठ्दै आएको छ । स्रोतका अनुसार पक्की घर नबनाएर प्रि-फ्याबकै घर बनाउनुको सम्बन्धमा दूतावासले ठोस जवाफ नदिएकामा परराष्ट्रले असन्तुष्टि व्यक्त गरेको थियो । विगतमा परराष्ट्र मन्त्रालयबाट आएको एउटा टोलीले ‘प्रि–फ्याब संरचना बनाउनु हुँदैन’ भनेर प्रतिवेदन बुझाएको थियो । दूतावासले स्थायी संरचनाका लागि लामो प्रक्रिया लाग्ने बहाना बनाएर प्रि–फ्याब बनाएको हो । प्रि–फ्याब संरचना बनाउन भारत सरकारको अनुमति आवश्यक नरहने भएकाले यो सजिलो प्रकृया अपनाइएको दूतावास स्रोतले बतायो ।

अन्य नियोगले जस्तै दिल्लीमा पनि खर्च घटाउनुपर्छ भन्ने अर्थ मन्त्रालयको आग्रहप्रति नियोग त्यति गम्भीर देखिँदैन । दूतावासले घरभाडा र सवारीसाधनमा वर्षेनी गरिरहेको ठूलो खर्चबाट पनि त्यो प्रस्ट हुन्छ । हाल दूतावासका प्रमुख सुरक्षा अधिकारीहरु बाहिर डेरामा बस्दै आएका छन् । नेपाली सेनाका बिग्रेडियर जनरल, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक र नेपाल अनुसन्धान विभागका वरिष्ठ प्रहरी उपरीक्षक डेरामा बस्छन् । यसबाट उनीहरुको व्यक्तिगत सुरक्षालाई लिएर प्रश्न उठ्नुका साथै राज्यको ढुकुटीमा अतिरिक्त भारसमेत पर्दै आएको छ । तीन जनाका लागि डेरा भाडामा मात्र वर्षेनी ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । उनीहरुलाई दूतावास आउन जान सवारी साधन प्रयोग गर्नुपर्ने हुँदा इन्धनमा समेत ठूलो रकम खर्च हुँदै आएको छ ।

कर्मचारी संख्या र खर्चका तुलनामा दूतावासको काम अपेक्षाकृत नभएको भन्दै परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत बेलाबखत असन्तुष्टि व्यक्त हुँदै आएको छ । जनशक्तिका हिसाबले दिल्लीस्थित दूतावास विदेशस्थित नियोगमध्ये सबैभन्दा ठूलो हो । दूतावासमा स्थायी र करारका गरेर ४१ कर्मचारी छन् । स्थायी १५ मध्ये एक जना उपसचिव मात्रै काजमा छन्, अरु नियमित दरबन्दीमा छन् । दुतावासका ३ कर्मचारीमात्रै बाहिर बसे पनि दूतावासमा १४ वटा गाडी प्रयोगमा छन् । बिग्रेका पुराना गाडीको हिसाबै छैन । गाडीको इन्धन र मर्मतमा मात्र वर्षेनी ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको एक अधिकारीले जानकारी दिए ।

अर्थ मन्त्रालयले लामो समयदेखि परराष्ट्रलाई विदेश नियोगको भाडा खर्च घटाउन आग्रह गर्दै आएकामा यसलाई महालेखा परीक्षक कार्यालयले पनि ‘कडाइ’ का साथ हेर्न थालेको छ । अर्थले वर्षेनी घर बनाउने वा किन्ने शीर्षकमा ठूलो रकम विनियोजनसमेत गर्ने गरेको छ । तर, त्यसविपरीत विदेशस्थित नियोगको घरभाडा खर्च बढेको बढ्यै छ । आर्थिक वर्ष २०७६/७७ मा नियोगको घरभाडामा ८४ करोड रुपैयाँ खर्च भएकामा यस वर्ष ९२ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

प्रकाशित : असार १८, २०७७ १८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×