कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नागरिकता विधेयक र महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले विवादित नागरिकता विधेयक र आगामी महाधिवेशनको मितिबारे छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

नागरिकता विधेयक र महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति

'कोरोनाका बीचमा महाधिवेशनमा कसरी अगाडि बढाउने र नागरिकता विधेयकबारे छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो,' शर्माले भने ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशनको तयारी थाल्नुपर्ने बताएका थिए । कोरोना भाइरसको प्रभावका कारण आगामी फागुनमा हुने भनिएको महाधिवेशनको मितिबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, संघीय संसद प्रतिनिधिसभामा संसदीय समितिको प्रतिवेदन फिर्ता भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे पनि छलफल गर्ने एजेन्डा प्रस्तुत हुने प्रवक्ता शर्माले बताए ।

यसबीचमा नक्सा प्रकाशन र त्यसलाई लिएर गरिएको संविधान संशोधनका विषयमा सबै राजनीतिक दलहरू गम्भीर भएर एकठाउँमा उभएको अवस्थामा नागरिकता विधेयकले अलगअलग गरेकाले त्यस विषयमा छलफल हुन लागेको शर्माको भनाइ थियो ।

नागरिकता विधेयकको वैवाहिक अंगीकृत नागरिकताको प्रावधानमा कांग्रेससँगै राजपा र समाजवादी पार्टीले पनि असहमति राखेका छन् । उनीहरूले नागरिकता ऐन २०६३ को व्यवस्था कायम राख्नुपर्ने अडान राख्दै आएका छन् । नागरिकता ऐन, २०६३ मा विवाह गरेर आएपछि नेपाली नागरिकता लिन चाहेमा प्राप्त गर्ने लेखिएको छ । अर्कोतिर सत्तारुढ नेकपाले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने अडान लिएको छ । नेकपाले उक्त प्रावधानलाई राज्यव्यवस्थाको बहुमतमार्फत अगाडि बढाएको छ ।

वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरुन्जेलसम्मका लागि स्थायी आवासीय अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने राज्यव्यवस्था समितिबाट पास भएको नागरिकता विधेयकको प्रतिवेदनमा लेखिएको छ ।

नागरिकता विधेयकले महिला र पुरुषबीच विभेद गरेका विषय पनि उठेका छन् । नेपाली महिलासँग विवाह गरेर नेपालमै बस्न आउने विदेशी पुरुषलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने माग उठेको छ । त्यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक संजाल ट्विटरमा समान व्यवस्था हुनुपर्ने धारणा राखेका छन् ।

अब नागरिकता विधेयकबारे प्रतिपक्षी कांग्रेसले केन्द्रीय कार्यसमितिमा छलफल गर्ने भएको छ ।

प्रकाशित : असार १४, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?