खाडीबाट ८७ शव ल्याइयो, १०७ बाँकी

साउदीबाट ५९, मलेसियाबाट २३, कतारबाट ११ र यूएईबाट १४ शव ल्याउन बाँकी

असार १४, २०७७

होम कार्की

काठमाडौँ — अन्तर्राष्ट्रिय चार्टर उडानमार्फत विदेशमा रहेका नेपालीको शव ल्याउन झन्डै तीनदेखि पाँच लाख रुपैयाँसम्म खर्च भएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार शनिबारसम्म ८७ जनाको शव नेपाल ल्याइएको छ ।

सम्बन्धित देशका विभिन्न अस्पतालमा राखिएका शवलाई अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याउँदा भाडा महँगो भएको र त्यहाँबाट चार्टर उडान भएकाले पनि सामान्य अवस्थाको भन्दा बढी खर्च लागेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएयता मात्रै प्रमुख गन्तव्य देशमा तीन सय ३३ जनाको विभिन्न कारणले मृत्यु भएको थियो । शुक्रबार मलेसियाबाट १९ र शनिबार बिहान साउदी अरबबाट १५ जनाको शव ल्याइएको हो । मलेसियाबाट १८ शव नेपाल एयरलाइन्स र एक हिमालय एयरलाइन्सको चार्टर उडानबाट ल्याइएको छ । साउदीबाट पनि नेपाल एयरलाइन्समै शव काठमाडौं ल्याइएको बोर्डले जनाएको छ ।

मलेसियाबाट सिरहाका बलराम ठाकुर, जाजरकोटका वीरबहादुर कामी, धनुषाका विपिन महरा, बाराका राजाराम चौधरी, सल्यानका प्रेम विक, पाँचथरका जगतबहादुर राई र सुरेन्द्रप्रसाद सुब्बा, रोल्पाका विजयबहादुर बोहरा, इलामका पदमबहादुर सारु, बागलुङका शिव पुन मगर, नवलपरासीका पुनरवासी पुरी, नुवाकोटका दीपक भट्टराई, महोत्तरीका भरोसी यादव, महोत्तरीका दु:खीलाल मण्डल खान र मनोजकुमार यादव, बाराका प्रवेश कुमार खत्वे र रुकुमका कुवीराम ओलीको शव ल्याइएको हो । यसअघि पनि मलेसियाबाट ११ जनाको शव काठमाडौं ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकिएको छ ।

साउदीबाट ल्याइएका शवमा बागलुङका रविन किसान, मकवानपुरका खड्गबहादुर राई, रोल्पाका ढकप्रसाद भट्ट, राजेन्द्र विक, सर्लाहीका शुक्रबहादुर थापा मगर, महोत्तरीका जयनाथ मण्डल खत्वे, धनुषाका बेच्चन मुखिया विन, मकवानपुरका जीवन नेगी र लमजुङका खिमबहादुर मजाकोटीको हो । मलेसियाबाट शव ल्याउन प्रतिव्यक्ति एक लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

सबैभन्दा महँगो खाडी राष्ट्रबाट ल्याउँदा भएको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार विभिन्न स्थानमा मृत्यु भएका नेपालीको शवलाई राजधानी रियादसम्म ल्याएर नेपाल पठाउनुपर्दा १६ हजार रियाल (झन्डै ५ लाख रुपैयाँ) सम्म खर्च भएको छ । कानुनी हैसियत भएका शवको खर्च रोजगारदाता आफैंले व्यहोरेका छन् भने गैरकानुनी हैसियत भएका नेपालीको शव पठाउँदाको खर्च व्यहोर्न बोर्डलाई अनुरोध गरिएको साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए ।

कतिपय रोजगारदाता भने शव पठाउने खर्च महँगो भएको भन्दै पछाडि हटेका छन् । रोजगारदाताले सहयोग नगर्दा शनिबार पठाउन तय गरिएको डडेलधुराका नवराज पाण्डेको शव आउन सकेन । ‘राजधानी रियादबाट झन्डै एक हजार किलोमिटर टाढाका अस्पतालमा शवहरू छन् । ती शवलाई रियादसम्म ल्याएर नेपाल पठाउँदा खर्च बढेको हो । धेरैजसो रोजगारदाताले दूतावाससँग प्रभावकारी समन्वय गरेका छन् । यसले गर्दा महामारीका बेला शव पठाउन कठिन भए पनि सम्भव भएको छ,’ राजदूत राजपुतले भने, ‘सामान्य अवस्थामै साउदीबाट शव पठाउन कठिन हुन्थ्यो । अहिले त झन् महामारीको समय पर्‍यो ।’

साउदीमा तीन महिनायता एक महिलासहित १०२ नेपालीको मृत्यु भएको थियो । २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकाले उनीहरूको शव साउदीमै अन्त्येष्टि गरिएको छ । साउदीबाट अझै ५९ जनाको शव आउन बाँकी छ । मलेसियामा २३, कतारमा ११ र यूएईमा १४ जनाको शव बाँकी छ । नेपाली दूतावासहरूका अनुसार नेपाल एयरलाइन्सको ‘वाइड बडी’ विमानको पालो पाउन मुस्किल भएकाले शव पठाउन समय लागेको हो । वाइड बडी विमानले एकै पटक १८ वटासम्म शव बोक्न सक्छ भने ‘न्यारो बडी’ले तीनवटा मात्रै बोक्न सक्छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जुलाई पहिलो सातासम्म सबै शव नेपाल पठाइसकिने जानकारी दिए । ‘हामीले कम भाडादरमा शवसमेत लैजाने गरी मालिन्दो एयरलाई भनेका छौं । मालिन्दोले नेपाल एयरलाइन्स र हिमालय एयरभन्दा ९० रिंगेट सस्तोमा जुलाईको पहिलो साता उडान गर्दै छ,’ उनले भने । नेपाल र हिमालय एयरलाइन्सबाट आउने यात्रुले १५ सय ९० रिंगेट भाडा तिर्नुपर्छ ।

मृत्युका कारण

दूतावासहरूका अनुसार सबैभन्दा बढी प्राकृतिक कारण, हृदयाघात, सडक दुर्घटना र आत्महत्याका कारण विदेशमा धेरै नेपालीको मृत्यु हुने गरेको छ । साउदीमा प्राकृतिक कारण र सडक दुर्घटना परी तथा कतारमा हृदयाघातका कारण धेरै नेपालीको मृत्यु भएको देखिन्छ । ‘मोइस’को अनुसन्धान प्रतिवेदनअनुसार कामदारले गन्तव्य मुलुकमा प्रतिकूल कार्य वातावरणमा काम गर्नुपर्ने र स्वास्थ्य सेवामा सीमित पहुँच हुने गरेको पाइएको छ । शरीरमा तापक्रमको उतारचढाव, किटनाशक औषधि तथा रसायनिक पदार्थको प्रयोगबाट हुने प्रतिकूल वातावरणीय प्रभाव, काम गर्ने मर्यादित वातावरण (जस्तै– अधिकतम शारीरिक परिश्रम, पेशागत सुरक्षाको अनिश्चितता, कार्यस्थलमा हुने हिंसा, बेचबिखन र बाध्यकारी श्रम) नहुनुले पनि मृत्युदर बढाएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २००८ यता गत जेठ मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा ८ हजार ९७ जनाको मृत्यु भएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए । उनका अनुसार मृतकका परिवारलाई २ अर्ब ४० करोड रुपैयाँ राहत रकम दिइसकिएको छ । विदेशमा नेपालीको मृत्यु हुने कारण पहिल्याई त्यसलाई न्यूनीकरण गर्न चासो नदिइएको बताउँछन् श्रम विज्ञ गणेश गुरुङ ।

‘वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यसम्बन्धी जोखिमलाई न्यूनीकरण गर्न विभिन्न नीति तथा कार्यक्रमहरूमार्फत सम्बोधन गरिए पनि कामदारको मृत्यु तथा अंगभंगका कारक तत्त्वहरूको निदान र न्यूनीकरणका लागि निरोधात्मक उपाय खोजी गरिएको देखिन्न,’ गुरुङले भने, ‘गन्तव्य मुलुकको वस्तुगत स्थितिलाई आधार मानी अभिमुखीकरण तालिमलाई अझ प्रभावकारी बनाइनुपर्छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully