२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बेलायतबाट उडेको दोस्रो जहाज भरिएन

गेटविक विमानस्थलबाट शुक्रबार उडेको १ सय ५८ सिट क्षमताको जजिरा एयरलाइन्सको विमानमा ८३ जना मात्र नेपाल फर्किए ।
नवीन पोखरेल

लन्डन — बेलायतको ‘युनिभर्सिटी अफ हडर्सफिल्ड’ मा कम्प्युटर साइन्स अध्ययनरत एक नेपाली विद्यार्थी बेलायतमा कोभिड–१९ सन्त्रास फैलँदै गर्दा असुरक्षित महसुस गरी नेपाल उडिहाल्न पाए हुन्थ्यो भनेर खुबै पिरोलिए ।

बेलायतबाट उडेको दोस्रो जहाज भरिएन

विश्वविद्यालय बन्द, जागिर नभएको अवस्थाले उनी निकै भौंतारिए । नेपाल सरकारले उद्धार गर्ने निर्णय लिएपछि नाम दर्ता पनि गरे । तर चार्टर फ्लाइट तय भएपछि उनी पछाडि हटे । ‘अब त केही समयपछि बेलायतमा लकडाउनले बन्द रेस्टुराँ, पब पनि खुल्ने भएर कामको अभाव नहोला भन्ने लाग्यो । अर्को कुरा, विश्वविद्यालय पनि केही महिनापछि खुल्ने भएकाले माइन्ड चेन्ज भयो,’ ती विद्यार्थीले भने ।

वेस्ट लन्डन युनिभर्सिटीमा नर्सिङ अध्ययनरत अर्की विद्यार्थी पनि नेपाल जाने सोचबाट ‘ब्याक’ भइन् । कारण, बेलायतको जनजीवन अब सामान्य बन्दै छ । ‘प्लेन भाडा ९ सय २० पाउन्ड, नेपालमा र फर्किएपछि बेलायत दुवै देशमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने झन्झटले मन परिवर्तन भयो,’ उनले भनिन् । परीक्षा दिन आएका कैयौं नेपाली चिकित्सकले पनि मन परिवर्तन गरे ।

लकडाउनका कारण बेलायतमा फसेका र रोजगारी गुमेर बिचल्लीमा परेका नेपालीको उद्धार गर्न चार्टर गरिएको दोस्रो फ्लाइट शुक्रबार थोरै यात्रु लिएर उडेको छ । शुक्रबार दिउँसो २ बजेर ५० मिनेटमा लन्डन गेटविक विमानस्थलबाट उडेको जजिरा एअरलाइन्सको ‘ए–३२० एयरबस’ मा जम्मा ८३ जना भए । उनीहरु कुवेत ट्रान्जिट हुँदै शनिबार बिहान काठमाडौं ओर्लनेछन् ।

जहाजको सिट क्षमता १ सय ५८ भए पनि नाम दर्ता गरेका धेरैले अन्तिममा योजना परिवर्तन गरेका हुन् । यसअघि दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको सहकार्यमा नेपाल फर्कन जरुरी रहेका करिब ५ सय जनाको विवरण काठमाडौं पठाएको थियो ।

गत बुधबार भएको पहिलो चार्टर उडानबाट १ सय ४६ नेपाली स्वेदश फर्किसकेका छन् । एनआरएनएको सक्रियतामा बेलायतमा अलपत्र नेपालीलाई स्वदेश फर्काइएको थियो । एनआरएनए केन्द्रीय सदस्य रामशरण सिंखडाले बेलायतमा स्थिति सहज हुँदै गएकाले नेपाल फर्कनेहरुको संख्या घटेको जनाए । उनका अनुसार उद्धारका लागि चार्टर फ्लाइटको व्यवस्था गर्न बारम्बार माग गर्दै आएका केही चिकित्सकले भने अन्तिम समयमा नेपाल नफर्कने बताएका हुन् ।

लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरनले बेलायतभन्दा नेपालमा कोरोना भाइरस संक्रमण झन् बढ्दै गएको र नेपालमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने कारणले पनि कैयौं विद्यार्थीले मनस्थिति परिवर्तन गरेका हुन सक्ने बताए ।

बेलायतले पनि बाहिरबाट आउने यात्रुलाई १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ । ‘पहिले केही समय धैर्य नगरी होहल्ला गर्नेहरु फ्लाइट तय भएपछि पछाडि हटेका देखिन्छन्,’ आरनले भने, ‘अब अर्को उडान हुने सम्भावना न्यून छ ।’

नेपाल सरकारले बेलायतमा भ्रमण भिसा म्याद समाप्त भएर रोकिएका, रोजगारी गुमाएर बिचल्ली परेका, अध्ययन पूरा गर्न असमर्थ र जागिरविहीन विद्यार्थी, तालिमका लागि आएका सरकारी कर्मचारी, सेना, परीक्षा दिन आएका चिकित्सक एवं पारिवारिक तथा अन्य जरुरी कामले फर्किनुपर्ने नेपालीका लागि विशेष उडान तय गरेको हो । विमान भाडा ९ सय २० पाउन्ड तोकिएको छ ।

अघिल्लो उडानमा सवार केही यात्रुले महँगो भाडा लिएर पनि स्वास्थ्यको खेलवाड गर्दै सामाजिक दूरी बेवास्ता गरिएको गुनासो गरेका थिए ।

प्रकाशित : असार १३, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?