कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यका प्रवेश गर्नेहरुले १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने

होम क्‍वारेन्टाइनमा नबसी कोरोना परीक्षण गर्न नपाउने
मातृका दाहाल

काठमाडौँ — राजधानी बाहिरबाट आएका मानिसले १४ दिन होम क्‍वारेन्टाइनमा नबसी कोरोना संक्रमणको परीक्षण गर्न नपाउने भएका छन् । 

कोरोना परीक्षण गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेले १४ दिन क्वारिन्टिनमा बस्नुपर्ने र त्यसपछि लक्षण देखिएमात्रै परीक्षणमा आउने गरी नयाँ व्यवस्था लागू गरेको हो ।

स्वास्थ्य मन्त्रालयको उक्त व्यवस्था कडाइकासाथ लागू गर्न गृह मन्त्रालयले मंगलबार उपत्यकास्थित तीनवटै प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बाहिरी जिल्लाबाट आउनेको हकमा १४ दिन घरमै क्वारिन्टिनमा बस्नुपर्ने र त्यसपछि संक्रमणको लक्षण देखिएमात्रै जनस्वास्थ्य प्रयोगशालामा सम्पर्क गर्ने व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिइएको बताए ।

भारतबाहेक तेस्रो मुलुकबाट आउनेलाई भने राजधानीमा होल्डिङ सेन्टरमा राखेर त्यहीबाट सम्बन्धित प्रदेश हुँदै जिल्लाबाट स्थानीय तहका क्वारिन्टिनमा लैजाने व्यवस्था गरिएको छ ।

असार १ गतेबाट लकडाउन खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट मानिस आउनेको चाप बढेको छ । बाहिरबाट आउनेको चापले प्रयोगशालामा परीक्षण गराउन जानेको संख्या पनि बढेको हो । त्यसलाई मध्यनजर गरेर मंगलबार स्वास्थ्यको सिफारिसमा गृहले १४ दिन अनिवार्य होम क्वारिन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको हो ।

प्रकाशित : असार ९, २०७७ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाकै १६७ क्षेत्र बाढीपहिरो र डुबानको उच्च जोखिममा

काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ स्थान बाढी, पहिरो, डुबानलगायत जोखिममा रहेको भन्दै प्रहरीले गृह मन्त्रालयमा विवरण बुझाएको छ ।
मातृका दाहाल

काठमाडौँ — सरकारले प्रकोप व्यवस्थापनमा उचित कदम चाल्न नसक्दा उपत्यकाभित्रैका डेढ सयभन्दा बढी स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा छन् । खोला तथा नदी तटीय क्षेत्र र सार्वजनिक जग्गाजमिन अतिक्रमण, अव्यवस्थित बसोबास र एकीकृत बस्ती विकासको अभावले काठमाडौं, ललितपुर र भक्तपुरका १ सय ६७ ठाउँ मनसुनी प्रकोपको उच्च जोखिममा छन् ।

ती स्थानमा बाढी, पहिरो, डुबान तथा जीर्ण संरचना भत्किने जोखिम छ । अविरल वर्षा र त्यसपछि सिर्जित बाढी तथा पहिरोले यी क्षेत्रमा मानवीय र भौतिक क्षति गराउने जोखिम भए पनि सरकारले पूर्वतयारी र प्रतिकार्य योजना लागू गर्न सकेको छैन । यी स्थानको सम्भावित जोखिम व्यवस्थापनका लागि बेलैमा कदम चाल्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा विवरणसहित प्रतिकार्य योजना पेस गरे पनि तत्काल यसको सम्बोधन हुने देखिएको छैन ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार गृहमा पेस गरेको देशभरिको बाढी, पहिरो, डुबान, कटान र अन्य विपद्सम्बन्धी विवरण काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा बाढी, १७ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किनेलगायत प्रकोप हुन सक्ने भन्दै यसविरुद्ध बेलैमा सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम रहेको र यस क्षेत्रवरपर विपद् प्रतिकार्य योजना प्रभावकारी रूपमा लागू गर्न सुझाव दिएको छ । भक्तपुरमा डुबान २२, बाढी ८ र पहिरो १३ स्थानमा जान सक्ने प्रक्षेपण गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जोखिमयुक्त क्षेत्र पहिचान गरिएको र त्यस अनुसन्धान सावधानीका लागि कार्ययोजना बनाइएको बताए । बस्ती विस्थापन र एकीकृत बस्ती निर्माण तत्काल सम्भव नभएकाले प्रकोपविरुद्ध अरू नै रणनीति अपनाइने उनले बताए ।

प्रतिकार्य योजना तयार भए पनि सम्भावित प्रकोप न्यूनीकरण तथा व्यवस्थापनका लागि खोज/उद्धार तथा राहतअन्तर्गत अस्थायी आवास, लत्ताकपडा, खाद्यान्न, औषधोपचारजस्ता मानवीय सहायतासम्बन्धी तयारी अझै भएको छैन । विपद् व्यवस्थापन ऐन, २०७४ ले संघ, प्रदेश र स्थानीय तहका सबै संरचना प्रकोपविरुद्ध एकीकृत रूपमा परिचालन गर्ने भनिए पनि सरकारको ध्यान कोभिड–१९ मै केन्द्रित छ । जसका कारण मनसुनी प्रकोपको जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल हुन सकेको छैन ।

२०५२ सालमै पूर्वन्यायाधीश रामबहादुर रावलको अध्यक्षतामा गठित ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ ले नदी तथा तटीय क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सरकारलाई सुझावसहितको प्रतिवेदन दिए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।

यी हुन् राजधानीका जोखिमयुक्त क्षेत्र

राजधानीका वाग्मती, विष्णुमती, गोदावरी, हनुमन्ते, टुकुचा, मनोहरा तथा अन्य खोला/खोस्ला हुँदै बग्ने दुवैतर्फका तटीय क्षेत्र अतिक्रमित गरी बनाइएका संरचनालाई जोखिमको मुख्य कारण देखाइएको छ । वैज्ञानिक नापनक्साबिनै घर तथा भौतिक संरचना बनाउन दिने प्रवृत्तिका कारण पनि वर्षायाममा बाढी र डुबान हुने र त्यसबाट मानवीय क्षतिको पनि जोखिम औंल्याइएको छ ।

कागेश्वरी–मनोहरा नगरपालिका–७ र ९ मनोहरा खोला करिडोर बस्ती, कीर्तिपुर नगरपालिकाका सल्यानथान, ट्याङ्लाफाँट, सुन्दरीघाट, काठमाडौं महानगरपालिकास्थित लाजिम्पाट, टुकुचा खोलाको आसपास, तारकेश्वर नगरपालिकाको जरङखु तथा शान्ति टोल, गुम्बा/नयाँपुल करिडोर, वनस्थली ढुंगेधारा क्षेत्र, धोबी खोला/मैतीदेवी र थापाथली, चन्द्रागिरि नगरपालिकाका थानकोट, नमुना बस्ती, ढुंगेअड्डा पशुपति ट्रान्सपोर्ट क्षेत्र, बालकुमारी मन्दिर आसपास, लामाचौर, खड्कुलेपुल, कञ्चनबस्ती, विष्णुदेवी आसपासलाई डुबानको उच्च जोखिममा राखिएको छ ।

कागेश्वरी–मनोहरा नगरपालिका–८ गोठाटारस्थित वाग्मती नदी करिडोर, त्रिपुरेश्वरदेखि टेकुसम्म वाग्मती किनार, कलंकी–बल्खु खोलालाई बाढीग्रस्त क्षेत्रमा राखिएको छ । दक्षिणकालीका चुत्रघारी र हुमाने, म्हैपी मन्दिर परिसर, नागार्जुन नगरपालिका–८ स्थित भीमढुंगा, छकडोल र टौखेल, चन्द्रागिरिका नागढुंगा, पिप्लामोड राजमार्ग क्षेत्र, ढाक्छी, गैरीगााउँ, गोदाम केबलकार आसपास र कंकाली डाँडा इलाका पहिरोको उच्च जोखिममा समेटिएका छन् । तर यी क्षेत्रमा बस्ती व्यवस्थापन र पूर्वतयारीका लागि कुनै पहल भएको छैन । शान्तिनगर, सुकुम्बासी बस्ती, बुद्धनगर वाग्मती करिडोर, धोबीखोला करिडोर, बूढानीलकण्ठस्थित धोबीखोला करिडोर पनि जोखिमको सूचीमा छन् । भूकम्पबाट क्षतिपछि सामान्य मर्मत गरिएका वसन्तपुर, झोंछे, मखन र रक्तकाली, इन्द्रचोक, असनलगायत क्षेत्रसमेत जोखिमको सूचीमा छन् ।

भक्तपुरका कौशलटारबाट बालकोट जाने पुल, मनोहरा सुकुम्बासी क्षेत्र, नरेफाँट, दिव्यश्वरी जग्गा एकीकरण, सागबारी, नयाँ ठिमी, कमेरोटार, राधेराधे निकोसेरा, सल्लाघारी इवामुरा अस्पताल क्षेत्र, कालीघाट खसाङखुसुङ खोला किनार, मंगल तीर्थ मन्दिर, राम मन्दिर, चुपिङघाट, सिद्धि स्मृति, लिवालीलगायत क्षेत्र डुबानको जोखिममा छन् ।

ललितपुरका गोदावरीस्थित टोकलबास, छम्पी, हुनमाठ, गोदावरी बडिखेल, मानडाँडा, विष्टछाप, उनिउचौर, कतुन भन्ज्याङ, ठोस्ने खोला, चौघरे, तिप्चे भन्ज्याङ, शंखु, दल्चौकीको ठोस्ने खोलालगायत क्षेत्र पहिरोको जोखिममा छन् ।

प्रकाशित : असार ९, २०७७ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×