१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कुवेतबाट फर्केका थप ८ महिलामा संक्रमण

लीला श्रेष्ठ

भक्तपुर — कुवेतबाट फर्केका थप ८ महिलामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जेठ ३० मा फर्किएका उनीहरु भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्र क्‍वारेन्टाइनमा छन् ।

कुवेतबाट फर्केका थप ८ महिलामा संक्रमण

क्‍वारेन्टाइनमा रहेकी एक महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि अन्य १ सय २ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

वीरदल गण सूर्यविनायकका प्रमुख सेनानी शिवप्रसाद पौडेलका अनुसार शनिबार कोरोना संक्रमण पुष्टि हुनेहरुमा मोरङ रतुवामाईकी ४२ र पथरीकी ४१ वर्षीया, कास्की घान्द्रुककी २३ वर्षीया, नवलपरासी देवचुलीकी २३ र कावासोतीकी २९ वर्षीया, झापा हल्दिबारीकी ३७ वर्षीया, सुर्खेत छिन्चुकी २८ र बाराकी २८ वर्षीया महिला छन् । जसमध्ये, ७ जनालाई पाटन अस्पताल र एक जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको पौडेलले बताए । उनका अनुसार कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

कुवेतबाट आएका ९ बालबालिकासहित १ सय ५० मध्ये २ जना शंकास्पद देखिएको भन्दै उनीहरुलाई सम्बन्धित जिल्ला नपठाई खरिपाटी क्‍वारेन्टाइनमा राखिएको हो । शंकास्पद देखिएकाको सोही दिन ‘नेजल स्वाब’ को नमुना संकलन गरेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको थियो । जसमध्ये एक महिलामा संक्रमण पुष्टि भएको थियो । कन्ट्याक ट्रेसिङ गरेर पीसीआर परीक्षण गराउँदा बुधबार नवलपरासी गैंडाकोटकी २२ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।

उनीहरु जजिरा एयरलाइन्सको जे–९ १५४१ नम्बरको उडानमार्फत नेपाल आइपुगेका हुन्, जसमध्ये प्रदेश नम्बर १, २, ५, गण्डकी र कर्णाली प्रदेशका १ सय ३ जनालाई खरिपाटी क्‍वारेन्टाइनमा राखिएको थियो । वाग्मती प्रदेशका व्यक्तिलाई भने ललितपुर जावलाखेलस्थित स्टाफ कलेज क्‍वारेन्टाइनमा राखिएको छ । गैरकानुनी रूपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारलाई कुवेत सरकारले पठाएको हो ।

यस्तै, यूएईबाट जेठ २३ मा आएर खरिपाटी क्‍वारेन्टाइनमा बसेका १० जनाको शनिबार पुन: ‘नेजल स्वाब’को नमुना संकलन गरिएको छ । यूएईबाट आएका एक महिला र पुरुषमा संक्रमण पुष्टि भएको थियो । अन्यको पुन: पीसीआर परीक्षण गर्न लागिएको वीरदल गणका प्रमुख सेनानी पौडेलले बताए । यूएईबाट जेठ २३ मा एयर अरेबियाको जी–९ १७५१ चार्टर फ्लाइटबाट आएकी सिन्धुली दुधौली–९ की ३० वर्षीया महिला र मोरङ उर्लाबारीका २९ वर्षीय पुरुषमा बुधबार संक्रमण पुष्टि भएको थियो । सोही दिन जापानबाट आएर खरिपाटी क्‍वारेन्टाइनमा बसेका ४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार उनीहरुलाई घर पठाइएको छ ।

प्रकाशित : असार ६, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?