यूएईबाट ९४ जना गर्भवतीसहित १४८ नेपाली बोकेर नेपाल एयरलाइन्स उड्यो 

असार ५, २०७७

होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)बाट एकसय ४८ जना नेपाली कामदार बोकेर नेपाल एयरलाइन्सको उडान शुक्रबार बिहान उडेको छ । जसमा एक सय एक जना महिला  र ४७ जना पुरुष छन् । जसमा ९४ जना महिला गर्भवती छन् ।

नेपाल एयरलाइन्सको उडान नम्बर आरए २२९२ ले स्थानीय समय ५ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलको लागि उडेको हो । यूएईबाट अलपत्र नेपालीलाई फिर्ता पठाएको यो दोश्रो पटक हो । यसअघि एयर अरेबियाले १६८ जना यात्रु ल्याएको थियो ।

यो उडानमा नेपाली दूतावासले प्राथमिकताको सूचीमा राखेको नेपाली कामदार रहेका छन् ।  उनीहरु आफैले टिकटको प्रबन्ध मिलाएको हो । रोजगार करार अवधि समाप्त भएका कामदारलाई भने रोजगारदाता आफैले टिकटको व्यवस्था गरिएको छ ।

स्वदेश फिर्नुअघि विमानस्थलमै कोरोनाको परीक्षण गरिएको थियो ।  स्वदेश फिर्न उत्साहित भएका उनीहरु ५ घण्टा अगाडि नै विमानस्थल पुगेका थिए । चार वर्षदेखि युएईमा कार्यरत झापाका सुवास संग्रौलाले साढे चार महिने गर्भवती श्रीमती लिएर स्वदेश फिर्ने अवसर पाएको बताए । ‘कम्पनीले लामो बिदा दिएकोले स्वदेश फिर्न लागेको हो’, उनले भने ।    

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully