प्रधानमन्त्रीले भने : २० जनाको कोरोनाकै कारण निधन भएको होइन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीले भने : २० जनाको कोरोनाकै कारण निधन भएको होइन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्रीले नेपालमा कोरोनाका कारण मृत्यु भएको संख्या बढीमा ३ रहेको हुनसक्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भइसकेको तथ्यांक जारी गरे पनि प्रधानमन्त्रीले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या नभएको बताएका हुन् । 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीले भने, 'कतिपयलाई यथार्थ भन्दा रुचिकर मान्नुभएको छैन । २० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन । एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको । उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ ।'

कोरोना संक्रमण भएका व्यक्तिको जुनसुकै कारणले मृत्यु भएप नि कोरोनाकै कारण मान्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मान्नुपरेको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या न्यून रहेको बताए । उनले भने, 'हाम्रो उपचार विधि र हाम्रो प्रतिरोध क्षमताको कारणले निधन हुनेको संख्या धेरै कम छ ।'

नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशतको मात्रै मृत्यु भएको भन्दै प्रधानमन्त्रीले नेपाल कोरोना संक्रमण र मृत्युमा दक्षिण एसियामा भुटानभन्दा मात्रै पछि रहेको बताए ।

पछिल्लो समय भारतबाट अत्यधिक मान्छे नेपाल आएकाले कोरोनाको संक्रमण वृद्धि भएको प्रधानमन्त्रीले बताए । उनले सरकारले कोरोना भाइरसको परीक्षण बढाउने तयारी गरिरहेको बताए ।

बाहिरबाट भन्न सजिलो भएपनि लाखौंको परीक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्न गाह्रो रहेको बताए । उनले स्थानीय तहहरूले प्रभावकारी काम गरेको भनाइ राखेका थिए ।

प्रधानमन्त्रीले यसअघि पनि कोरोनाबाट मृत्यु हुनेहरूको संख्या वास्तविक त्यो नभएको बताउँदै आएका थिए । उनले अन्य रोगका कारण मृत्यु भएकाहरूलाई पनि कोरोनाबाट मृत्यु भएको मान्नुपर्ने बाध्यता रहेको बताउँदै आएका थिए ।

प्रकाशित : असार ४, २०७७ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्

पर्वतका ८ जना कोरोना संक्रमित निको भए

अगन्धर तिवारी

पर्वत — कोरोना संक्रमण देखिएका पर्वतका ८ जना निको भएका छन् । गत जेठ २० गते पहिलोपटक संक्रमण देखिएकाहरुको बिहीबार रिपोर्ट नेगेटिभ आएको हो ।

पर्वतको कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरुमध्ये फलेबास–१० कुर्घाका २ जना, महाशिला–३ का ३ जना तथा फलेबास–११ र २ का १–१ जना छन् । त्यस्तै बिहादी–४ का १ जना रहेको पर्वत अस्पतालले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको दोस्रोपटक स्वाब परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार नै उनीहरुलाई स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको छ । उनीहरुसँगै संक्रमण देखिएका बिहादीका पुरुषमा भने दोस्रो पटक पनि रिपोर्ट पोजेटिभ आएको छ ।

बिहीबार संक्रमण पुष्टि भएका ९ सँगै पर्वतमा संक्रमितको संख्या ३८ पुगेको छ । त्यसमध्ये ४ महिला र ३४ पुरुष छन् । बिहीबार ८ जना निको भएसंगै सक्रिय संक्रमितको संख्या ३० जना भएको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत एवं कोरोना रोकथाम जिल्लास्तरिय कमाण्ड फोर्सका सूचना अधिकारी प्रविण भण्डारीले बताए । उनका अनुसार संक्रमणमुक्त हुनेहरुरुले कम्तीमा दुई सातासम्म सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बस्नुपर्छ ।

प्रकाशित : असार ४, २०७७ १४:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×