आकाशको पानी हो वा सतहबाट मूल फुटेको हो वा डिजाइनमा कतै त्रुटि हो भनी भूगर्भ जलशास्त्रीले अनुसन्धान गरिरहेका छन् ।
काठमाडौँ — चार अर्ब २७ करोड रुपैयाँ खर्च गरेर हालै रिह्याबिलिटेसन (जिर्णोद्धार) गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका केही ठाउँमा सिपेज (पानी) देखिएको छ ।
यो धावनमार्ग जिर्णोद्धारको ठेक्का पाएको चिनियाँ कम्पनीसंँग संलग्न हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले आफ्नो ताल्लुक निकाय नागरिक उड्डयन प्राधिकरणलाई ०७६ चैतमा परेको हिउँदे पानीपछि धावनमार्गका ८/१० वटा ठाउमा कतै पानी जमेको, कतै पानी बगेको (सीपेज) देखिएको जनाएको थियो । धावनमार्गको दक्षिण (कोटेश्वर) तर्फ ‘उच्च स्तर’को बिटुमिन प्रयोग गरेर बनाइएको स्थानमा देखिएको पानी नियन्त्रण गर्ने प्रयास अहिलेसम्म भइरहेको छ ।
‘केही ठाउँमा पाइप राखेर पानीलाई छेउतिर ढलमा पठाइएको छ,’ स्रोतले भन्यो, ‘तर पूर्णरुपमा पानी नियन्त्रणमा ल्याइसकिएको छैन । अहिलेसम्म उडानमा असर पनि परेको छैन ।’
‘धावनमार्गको मध्यभागबाट दायाँबायाँ १० मिटर पछाडिको भागमा देखिएकाले ठूलो चुनौती भने छैन’ स्रोत भन्छ, ‘तर, चैतपछि व्यावसायिक उडान रोकिएको अवस्था भएको र धावनमार्ग पूर्ण सञ्चालनमा ल्याई नसकिएकाको अवस्था भएकाले कस्तो प्रभाव पर्छ भन्नेबारे यकिन अध्ययनबिना भन्न नसकिदैन ।’
विमानस्थलका एक उच्च अधिकारीका अनुसार, अरबौं रुपैयाँ खर्च गरेर ४० वर्षपछि पहिलोपटक मर्मत गरिएको धावनमार्गको सतहमा पानी देखिन थालेपछि प्राधिकरणका अधिकारीहरुले पर्यटनमन्त्री योगेश भट्टराईलाई लकडाउनका बेला स्थलगत निरीक्षण गराएका थिए । मन्त्रीको निरीक्षणपछि प्राधिकरणका इन्जिनियरहरुले धावनमार्गको नियमित प्राविधिक निरीक्षण गर्दै आइरहेका छन् । उनीहरुले धावनमार्ग बनाउदाँ खण्डखण्ड गर्दै बनाउनुपरेकाले दुइटा खण्डको जोडाइबाट पानी निस्किएको हुन सक्ने दाबी गरेका छन् ।
हाल प्राधिकरणको आयोजना र चिनियाँ ठेक्कदार कम्पनी एभिकले ‘आकाशको पानी छिरेको हो वा सतहबाट मूल फुटेको हो’ भनी अध्ययन गरिरहेका छन् । ‘पुरानो र नयाँ अलकत्रको जोडाइबाट निस्केको हो वा अरु कुनै डिजाइनमा त्रुटिका कारणले हो भनी पानीसम्बन्धी विज्ञता भएका भूगर्भ जलशास्त्री ल्याएर अनुसन्धान गरीरहेका छौं,’ एक इन्जिनियरले कान्तिपुरसँग भने ।
यो परियोजनाको सम्झौता अवधि सकिन ५ महिना बाँकी छँदै चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन (एभिक इन्टरनेसनल) ले २०७६ पुस १२ गते एक विशेष समारोह आयोजना गर्दै पर्यटन मन्त्री योगेश भट्टराई र चिनियाँ राजदुत हाउ यान्छी सहभागी कार्यक्रममा यो परियोजना विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी र आयोजना निर्देशक मुरारी भण्डारीलाई हस्तान्तरण गरेको थियो ।
नेपाल सरकारको लगानी रहेको यो परियोजनामा विमानस्थल आंशिक बन्द गर्दै चिनियाँ कम्पनीले रातिराति मात्रै काम गरेर ९ महिनामा सम्पन्न गरेको थियो । परियोजनाको काम सकिए पनि एभिक अहिले नेपालमै छ । उसले फेरि विमानस्थलभित्र ७ अर्बको अर्को परियोजनाको काम गर्दै छ ।
‘पहिलो परियोजनाको ग्यारेन्टी अवधि १८ महिनाको भएकाले पानी देखिएको समस्या एभिकले १८ महिनाभित्र पर्ने दुइटा मनसुनमा निगरानी गर्दै समाधान गर्नुपर्ने सम्झौता छ,’ प्राधिकरणका एक अधिकारीले भने ।
भूकम्पअघि घामपानीका कारण धावनमार्गको पिच उप्किने समस्या अत्याधिक थियो । जहाज आकास तथा भुईंमा घन्टौं होल्डमा पर्न थालेपछि सरकारले आंशिक रुपमा विमानस्थल बन्द गर्ने निर्णय गर्दै ०७५ चैतबाट जिर्णोद्धारको काम थालनी गराएको थियो ।
४० वर्ष पुरानो धावनमार्ग भूकम्पमा हल्लिएपछि विमानस्थलले वायुसेवा कम्पनीलाई १ सय ९० टन भन्दा बढी उडान तौल निषेध गरेको थियो । तर, धावनमार्गको मर्मत सकिएपछि यो निषेध हटाउँदै २ सय ३० टनसम्म उडान तौल खुला गरिएको थियो ।
अहिलेको मर्मतपछि यसको आयु २० वर्षसम्म रहने भनिएको छ । अहिले देखिएको पानीको समस्या सहजै हल नभएमा अरबौं लगानी खेर जान सक्ने छ । प्राधिकरणले हाल कम्तीमा २१ अर्ब लागनीमा निर्माण भइरहेको पोखरा, कम्तीमा ६ अर्बमा निर्माण भइरहेको भैरहवा र ३ खर्ब लागत भनिएको निजगढलगायतका परियोजना हेर्दै आइरहेको छ । करोडौं खर्च गरेर परामर्शदाता राख्ने तर हरेक परियोजनामा केही न केही त्रुटि देखिन थालेपछि प्राधिकरणको सिभिल इन्जिनियरिङ क्षेत्रको दक्षताबारे प्राधिकरणकै अधिकारीहरु सशंकित हुन थालेका छन् ।
‘हाम्रा इन्जिनियरहरुको क्षमतामै प्रश्न उठ्न थालेको छ । उनीहरुका कारण प्राधिकरणको पूर्वाधारमा सर्वसाधारणले प्रश्न गर्न थालेका छन् । यो गम्भीर विषय हो । मन्त्रालयको ध्यान पुगेको छैन,’ प्राधिकरणका एक अधिकारीले कान्तिपुरसँग भने, ‘निश्चित व्यक्तिहरुको हालीमुहाली रोकिएन भने यस्तै अवस्थामा प्राधिकरण ऋणमा डुब्ने छ ।’
यसैबीच धावनमार्गमा पानी देखिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले केही समयअघि मन्त्रालयलाई जानकारी गराइएको बताए ।
