१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु

चीनतर्फ पनि हताहत भएको अनुमान

नयाँदिल्ली — भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ ।

लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु

सुरुमा भारतीय सेनाले झडपमा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृत्यु भएको बताएको थियो । मंगलबार राति भारतीय सेनाले एक वक्तव्यमार्फत झडपमा गम्भीर घाइते भएका अन्य १७ जना सैनिकको मृत्यु भएको जानकारी दिएको हो ।

चिनियाँतर्फको क्षति भने यकिन हुन सकेको छैन । भारतीय सञ्चारमाध्यमले भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ पक्षबाट ठूलो संख्यामा हताहत भएको उल्लेख गरेका छन् । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् ।

करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन् । एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिंसात्मक झडप विगत ४५ वर्षकै पहिलो हो । यो घटनाले दुई देशबीच युद्ध हुन सक्ने भय पनि सिर्जना गरेको छ ।

चीनले एकतर्फी रूपमा ‘यथास्थितिको अवस्था’ मा परिवर्तन गर्न खोज्दा सोमबार साँझदेखि रातिसम्म हिंसात्मक झडप भएको भारतले जनाएको छ । झडपमा कर्णेलसहित तीन जनाको तत्कालै र गम्भीर घाइते १७ सैनिकको पछि मृत्यु भएको भारतीय सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । शून्यभन्दा कम तापक्रम र हाई अल्टिच्युडका कारण घाइतेहरूको मृत्यु भएको सेनाले जनाएको छ । ‘माथिल्लो तहमा भएको सहमतिलाई चिनियाँ पक्षले इमानदारीपूर्वक पालना गरिदिएको भए दुवै पक्षमा हताहत हुने गरी भएको झडप रोक्न सकिन्थ्यो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चीनले भने भारतीय पक्षले अनधिकृत रूपमा निषेधित क्षेत्रमा प्रवेश गरेर सहमति उल्लंघन गरेकाले झडप भएको दाबी गरेको छ । चिनियाँ सेना पीएलएका पश्चिम क्षेत्र कमान्डका प्रवक्ता झाङ सुइलीले भारतीय सेना गलवन उपत्यकामा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) नाघेर सुनियोजित रूपमा उत्तेजक आक्रमणमा ओर्लेकाले भीषण झडप भएको जनाएका छन् । कालापानी क्षेत्रको सीमा विवादलाई लिएर नेपालसँगको सम्बन्धमा तनाव खेपिरहेको भारतको सीमाकै विषयलाई लिएर अर्को छिमेकी चीनसँगको सम्बन्ध पनि तनावपूर्ण बनेको छ ।

दुई देशका सेनाबीचको भिडन्तपछि कश्मीरस्थित बालटालबाट मंगलबार गलवानतर्फ प्रस्थान गर्नुअघि भारतीय सेना । तस्बिर : रोयटर्स

भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा सीमालाई लिएर भारतको चीनसँग पनि लामो समयदेखि विवाद रहँदै आएको छ । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । त्यही अक्साई–चीन क्षेत्रको चीन र भारतबीचको विवादास्पद सीमालाई एलएसीबाट छुट्याइएको छ । दुवै मुलुकबाट बेलाबखत एलएसीको उल्लंघन हुँदै आएको छ । यस पटकको विवाद पनि त्यही एलएसीको उल्लंघनलाई लिएर भएको हो । त्यसमा पनि केही महिनायता गलवन उपत्यका, तातो पानी र प्यानगङ ताल क्षेत्रमा तनाव थियो ।

लद्दाखको गल्वान उपत्यका फाइल तस्बिर : सटरस्टक

तनाव बढ्ने क्रमसँगै दुवै मुलुकले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति पनि बढाउँदै लगेका थिए । भारतले भारतीय सेना सँगै आईटीबीपीको ठूलो संख्यालाई लद्दाखको एलएसी क्षेत्रमा पठाएको छ । भारतले चीनको सैन्य उपस्थिति बराबर बनाउन लद्दाखको अतिरिक्त फौजबाहेक पनि जम्मु–कश्मीरबाट पनि थप सैनिक पठाएको थियो । पछिल्लो विवादमा चीनले भारतमाथि आफ्नो भूमिमा अनधिकृत रूपमा प्रवेश गरेको र सीमासम्बन्धी पूर्वाधार निर्माण गरेको आरोप लगाएको छ ।

भारतले भने आफ्ना सैनिक आफ्नैपट्टि रहेको बताएको छ । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विभिन्न स्रोतबाट प्राप्त स्याटेलाइट तस्बिरहरूलाई आधार बनाउँदै दुवै पक्षबाट एलएसीको नजिकै सडक र टेन्ट बनाइरहेको खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूले लद्दाखका तीनवटा स्थानमा दुई देशका सैनिकबीच झडप भएको उल्लेख गरेका थिए । त्यसैगरी सिक्किमको नाकुला क्षेत्रमा पनि दुई देशका सैनिकबीच झडप भएको बताइएको छ । यसअघि विवादका कारण सीमामा खटिएका सैनिकहरूबीच हिंस्रक झडप भएका तस्बिर सार्वजनिक भए पनि त्यसको आधिकारिक पुष्टि भएको थिएन ।

तनाव भए पनि सैनिक र कूटनीतिकस्तरबाट अवस्था सामान्य पार्ने कोसिस भइरहेको थियो । दुवै पक्षबीच औपचारिक र अनौपचारिक संवाद पनि भइरहेका थिए । भारत र चीनबीच सीमामा आइपर्ने तनावसम्बन्धमा छलफल गर्न सैनिक अधिकारीहरूको नेतृत्वमा एउटा विशेष संयन्त्र नै गठन गरिएको छ । पछिल्लो समय पनि उक्त संयन्त्रमार्फत दुई देशका सैनिक अधिकारीहरूबीच छलफल भएको थियो । गएको ६ जुनमा सैनिक अधिकृत तहमा पाँच घण्टा लामो बैठक भएको थियो । उक्त बैठकमा सीमामा तनाव कम गर्न नेतृत्व तहबाट भएको सहमति कार्यान्वयनमा लैजाने समझदारी गरिएको थियो ।

तर सोमबार फेरि अचानक दुई पक्ष आमनेसामने भएका हुन् । यो घटना भने पूर्वी लद्दाखको गलवन उपत्यकाको हो । भारतीय रक्षा स्रोतको भनाइमा कर्णेल सन्तोष बाबु एउटा सानो टुकडीसहित सोमबार साँझ गलवन उपत्यकाको १४ नम्बर बिन्दुमा परिस्थिति अवलोकन गर्न पुगेका बेला चिनियाँ पक्षले घेराउ गरेर आक्रमण गरेको थियो । त्यसपछि सहयोगका लागि भारतीय पक्षबाट थप जवान पुगे र दुई पक्षबीच हिंसात्मक झडप हुन पुगेको हो । स्रोतका अनुसार झडप छ घण्टासम्म चलेको थियो । त्यसक्रममा केही भारतीय सैनिक भीरबाट खसेको बताइएको छ । भारतले चीनतर्फबाट पनि ठूलो संख्यामा हताहत भएको दाबी गरे पनि मंगलबार साँझसम्म यकिन हुन सकेको छैन ।

लद्दाखतर्फ जाँदै गरेको भारतीय सेनाका गाडीहरु तस्बिर : रोयटर्स

घटनाको समीक्षा गर्न मंगलबार दिनभरि नै दिल्लीमा उच्चस्तरीय बैठकहरू चलेका थिए । रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा चिफ अफ डिफेन्स स्टाफ विपिन रावत, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे, प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलले विभिन्न चरणमा बैठक गरेका हुन् । भारतीय सञ्चारमाध्यमहरूले ती बैठकमा परिस्थितिको समीक्षा गरिएको उल्लेख गरेका छन् । ‘पूर्वी लद्दाख क्षेत्रको सीमा क्षेत्रमा देखिएको तनावलाई मत्थर पार्न भारत र चीनबीच सैनिक र कूटनीतिक तहमा छलफल चलिरहेको छ,’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारतले सीमा क्षेत्रको विवादलाई वार्ताबाट हल गर्दै शान्ति कायम गर्न सकिनेमा विश्वस्त रहेको समेत जनाएको छ । सँगै भारतको सार्वभौमिकता र भौगोलिक अखण्डताको सुनिश्चित गर्न पनि दृढ प्रतिबद्ध रहेको समेत विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सन् १९६२ मा दुई मुलुकबीच सीमालाई लिएर युद्ध भएपछि लामो समयसम्म दुई मुलुकबीच सामान्य कूटनीतिक सम्बन्धसमेत थिएन । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले चीनको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा ‘आइस ब्रेक’ गरेका थिए । त्यसपछि यी दुई मुलुक आर्थिक र कूटनीतिक रूपमा नजिकिँदै गए । दुई देशबीचको व्यापार बढेर नब्बे अर्ब डलर नाघिसकेको छ । र, शीर्ष तहको राजनीतिक भेटघाट पनि बाक्लो बन्दै गएको थियो । तर सन् २०१७ मा भुटानको दोक्लम क्षेत्रको त्रिदेशीय विन्दुलाई लिएर दुई देशबीच तनाव सिर्जना भएको थियो । त्यतिबेला दुई देशका सैनिकहरूबीच ७३ दिनसम्म घम्साघम्सी परेको थियो । अन्तत: उच्च राजनीतिक तहमा वार्ता भएपछि स्थिति मत्थर भयो । त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वुहान र ममाल्लापुरम अनौपचारिक शिखर वार्तासमेत भइसकेको छ ।

चीन र भारतबीचको हालको तनावलाई भूराजनीतिक द्वन्द्वका रूपमा हेरिएको छ । पछिल्लो समय भारतले अमेरिकालगायत मुलुकहरूसँग हिमचिम बढाउँदै लाँदा चीन असन्तुष्ट बन्दै गएको थियो । आफूलाई घेर्ने उद्देश्यका साथ ल्याइएको इन्डो–प्यासिफिक रणनीतिमा अमेरिकासँगै अस्ट्रेलिया, इन्डोनेसियालगायतसँग नजिकिएकामा चीन भारतसँग पछिल्लो समय असन्तुष्ट रहँदै आएको थियो । त्यसमाथि ५ अगस्ट २०१९ मा जम्मु–कश्मीर र लद्दाखलाई छुट्याएर नयाँ नक्सा सार्वजनिक गरेपछि चीन भारतसँग थप रुष्ट भएको थियो ।

आफ्नो नियन्त्रणमा रहँदै आएको अक्साई–चीनलगायत क्षेत्र नयाँ नक्सामा समावेश गरेको भन्दै चीनले तत्कालै विरोध जनाएको थियो । भारतीय विश्लेषकहरूले चीनले सीमा विवादलाई लिएर बढी आक्रामक रूप लिनुका पछाडि भारतप्रतिका यिनै असन्तुष्टिको नतिजाका रूपमा हेरेका छन् । र, पछिल्लो घटनाक्रमले यी दुई छिमेबीचको अविश्वास थप बढाउने उनीहरूको दाबी छ ।

प्रकाशित : असार ३, २०७७ ०६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?