३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जे सम्भव छ, त्यही माध्यमबाट पढौं : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइसम्बन्धी अभियानको सुरुवातको अवसरमा शुभकामना सन्देश दिँदै सबैलाई यसमा सहभागी हुन आग्रह गरेका छन् ।

जे सम्भव छ, त्यही माध्यमबाट पढौं : प्रधानमन्त्री

उनले विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई स्थानीय स्तरमा जुन विधि सम्भव छ, त्यही माध्यमबाट पठनपाठन गर्न गराउन आह्वान गरेका छन् । अनलाइन, अफलाइन, टेलिभिजन, रेडियो र स्वअध्ययन सामग्रीको प्रयोग गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन सकिने उनले जनाए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सोमबारदेखि रेडियो र टेलिभिजनबाट वैकल्पिक कक्षा सञ्चालन थालेको छ । प्रधानमन्त्रीले ती कक्षामा सहभागी हुन आग्रह गरेका हुन् । ‘शैक्षिक सत्र प्रभावित हुन नदिन र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सरकारले वैकिल्पक कक्षा सञ्चालन गरेको हो,’ उनले भने ।

सरकारले कोरोना भाइरसको जोखिम आकलन गरी यथासम्वभ छिटो विद्यालयहरु पुन: सञ्चालन गर्ने समेत उनले बताए । वैकल्पिक कक्षाले विद्यार्थीको ज्ञानमा महत्वपूर्ण योगदान गर्ने प्रधानमन्त्रीले बताए । वैकल्पिक कक्षाका लागि आवश्यक सामग्री शिक्षा मन्त्रालयले व्यवस्थापन गर्ने प्रधानमन्त्री ओलीले जनाए ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई सहयोग गर्न शिक्षक, अभिभावक र स्वयसेवकलाई अपिल समेत गरे । ‘वैकल्पिक शिक्षामा जोडिएका बालबालिका भोलिका कर्णाधार हुन्,’ विद्यार्थी, अभिभावकलाई निराश नहुन आग्रह गर्दै उनले भनेका छन्, ‘शैक्षिक प्रणाली परिमार्जन गर्ने अवसर आएको छ ।, यो प्रविधिलाई घरघरमा पुर्‍याउने अवसर पनि हो ।’ प्रधानमन्त्रीले वैकल्पिक कक्षामा सहभागी देशभरका ६० लाख विद्यार्थीको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरे ।

घरघरमै सिकौं : शिक्षामन्त्री

त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले होमस्कुलिङको अवधारणा अघि बढाएको जानकारी दिए । उनले पनि यस अवसरमा शुभकामना सन्देश दिएका हुन् । छापा र प्रविधिका सामग्री प्रयोग गरेर स्व:सिकाइबाट होमस्कुलिङ गर्न सकिने उनले जनाए । शिक्षा मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक विधि सिकाइ निर्देशिका जारी गरिसकेको छ । उनले भने, ‘अनौपचारिक, वैकल्पिक, खुला र दूरशिक्षाको पद्धतिबाट सिकाइलाई निरन्तरता दिन घरलाई नै शिक्षालय बनाउन सकिन्छ ।’ मन्त्रालयले रेडियो पाठशाला, टेलिभिजन कक्षा सुरु गरेको उनले जानकारी दिए ।

मन्त्री पोखरेलले बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै अभिभावकहले ती कक्षामा छोराछोरीलाई सहभागी गराउनुपर्ने धारणा व्यक्त गरे । स्थानीय तहले वैकल्पिक कक्षा सञ्चालन अभियानको नेतृत्व गर्ने, प्रदेश र संघीय सरकारले सघाउने उनको भनाइ थियो । शिक्षकहरुलाई सिकाइ क्रियाकलापको अनुगमन र निरीक्षणसहित विद्यार्थीलाई मार्ग निर्देशन गर्न उनले आग्रह गरे । ८३ दिनको लकडाउनपछि सोमबार विद्यालय प्रशासन खोल्ने र शिक्षकहरु विद्यालय जाने निर्णय सरकारले गरेको छ । ३ हजार २ सय विद्यालयमा क्वारेन्टाइन निर्माण भएको छ ।

प्रकाशित : असार १, २०७७ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?