छोराको मृत्युको छानबिनको माग गर्दै सबैला–जनकपुर फन्को मार्दै सियालीदेवी

प्रहरी भन्छ ‘आत्महत्या’, परिवारद्वारा ‘हत्या’को आंशका

जेष्ठ ३२, २०७७

अजित तिवारी

काठमाडौँ — जेठ १२ गते धनुषाको सबैलाका २३ वर्षिय शम्भु सदाले चलाएको ट्याक्टरले ठक्कर दिँदा धनुषाधामकी ४२ वर्षीया सुमिन्द्रादेवी साहको मृत्यु भयो । अर्का एक स्थानीय गम्भीर घाइते भए । ट्याक्टरको ठक्करले महिलाको मृत्यु भएपछि आत्तिएका शम्भु ट्याक्टर कुदाउँदै सबैला इलाका प्रहरी कार्यालय पुगे ।

प्रहरीमा पुगेर शम्भुले आफूले चलाएको ट्याक्टरले ठोक्किएर मान्छे मरेको जानकारी दिँदै हिरासतमा बसे ।

तर, हिरासतमा बसेको १५ औं दिनमा एकाएक शम्भुले हिरासतमै आत्महत्या गरेको प्रहरीले बतायो । ‘हिरासतमा बसेको १५औं दिनमा शम्भुले शौचालयमा गएर आत्महत्या गरे,’ धनुषा प्रहरीका प्रमुख एसपी रमेश बस्नेतले कान्तिपुरसँग भने, ‘हिरासतसँगै रहेको शौचालयमा गएर उनले गञ्जी र अन्य लुगाको पासो बनाएर झुन्डिएको देखिन्छ ।’ कोरोना भाइरस संक्रमणका कारण सबैला इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा बस्ने शम्भु एक्ला अभियुक्त थिए । हिरासतको सेन्ट्री निदाएको मौकामा शम्भु शौचालयको छेस्कनी लगाएर आफ्नै लुगाले झुन्डिएर आत्महत्या गरेको धनुषा प्रहरीले दाबी गरेको छ । 

‘घटनालगत्तै सदाको घर–परिवारलाई खबर गरियो । गाउँका अहेव ल्याएर स्वास्थ्य जाँच पनि भयो,’ एसपी बस्नेतले भने, ‘बिहान मुचुल्कामा पनि सदाको परिवारलाई ल्याच्पे लगाएको छ । सबैतिरको अनुसन्धानले आत्महत्या नै देखाएको छ । कसैले उचालेर घटनालाई अर्को रुप दिन खोजेको हो ।’ 

‘ल्याप्चे लगाउन दबाब दिए’

प्रहरीले परिवारका सदस्यको सहमतिमा मुचुल्का उठाएको दाबी गरे पनि शम्भुकी आमा सियालीदेवीले रातको समयमा घरबाट बोलाएर ल्याप्चे लगाउन प्रहरीले दबाब दिएको बताएकी छन् ।  

सदाको परिवारले घटनाको निष्पक्ष छानबिनको माग गर्दै मुख्यमन्त्री लालबाबु राउत र राष्ट्रिय मानवअधिकार आयोगको जनकपुरस्थित प्रादेशिक कार्यालयमा निवेदन समेत दिएका छन् । सदा परिवारले न्याय पाउनुपर्ने माग गर्दै मुसहर समुदायले पटक–पटक जनकपुरमा प्रदर्शन गरिरहेका छन् ।

जेठ २८ गते राति धनुषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतमा ‘आत्महत्या’ गरिएको भनिएको २३ वर्षिय शम्भु सदाको शव ४ दिनदेखि जनकपुरस्थित प्रादेशिक अस्पतालको पोस्टमार्टम रुममै छ ।

प्रहरी हिरासतमै शम्भुको हत्या गरिएको परिवारको आशंका छ । घटनाको छानबिनको माग गर्दै सदाकी आमा सियाली देवी सबैला–जनकपुरको फन्को मारिरहेकी छन् । सियाली देवीले ट्याक्टर धनीसँग मिलेर प्रहरीले आफ्नो छोरालाई हिरासतमै मारेको दाबी गर्छिन् । शम्भुको मृत्युपछि आक्रोशित स्थानीयले गत बिहीबार बिहान इलाका प्रहरी कार्यालय सबैलामा ढुंगामुढा र तोडफोड गरे ।

प्रहरीले हत्याको जाहेरी लिएपछि मात्रै पोस्टमार्टम गरिने परिवारको अडानले शम्भुको शव पोस्टमार्टम रुममै अलपत्र परेको छ । सदा परिवारले प्रादेशिक अस्पताल जनकपुरको चिकित्सकले गर्ने पोस्टमार्टममा पनि आशंका गरेपछि सिरहामा कार्यरत त्यही समुदायको चिकित्सकबाट प्रहरीले पोस्टमार्टम गराउने प्रयास गरेको थियो । तर, नियम नमिल्ने भन्दै जनकपुर अस्पतालका चिकित्सकले बाहिरका चिकित्सकबाट पोस्टमार्टम गर्न दिएनन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully