निशान छापमा नयाँ नक्सा राखिएको विधेयक सर्वसम्मत पारित - समाचार - कान्तिपुर समाचार

निशान छापमा नयाँ नक्सा राखिएको विधेयक सर्वसम्मत पारित 

कान्तिपुर संवाददाता

काठमाडौँ — कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेश गर्नलाई संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दिनँ भन्नेमा पनि कुनै पनि मत नपरेकाले विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

प्रतिनिधिसभा सदस्यको कूल संख्या २ सय ७५ रहे पनि हाल बहाल संख्या २ सय ७१ छ । ४ जना सांसद निलम्बनमा छन् । त्यसमध्ये संविधान संशोधनका क्रममा २ सय ५८ जनामात्र उपस्थित रहेका थिए । उपस्थित सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए ।

मतदानका क्रममा १२ सांसद अनुपस्थित रहेका थिए भने सभामुखले मतदानमा सहभागिता जनाउँदैनन् ।

भारतीय अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले जेठ ७ गते नक्सा जारी गरेर आफ्नो नक्सामा राखेको थियो । नेपालले अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो ।

उक्त विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो । जुन विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो ।

भारतले लिपुलेक भएर मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले नक्सा जारी गरेको हो ।

प्रकाशित : जेष्ठ ३१, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

हाम्रो भूमि फिर्ता लिएरै छोड्छौं भन्ने मित्रराष्ट्र भारतले थाहा पाउनुपर्छ : मन्त्री तुम्बाहाङ्फे

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले तथ्य र प्रमाणका आधारमा मात्रै कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गरेकाले भारतले उक्त भूमि छाड्नुपर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् । 

संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तुम्बाहाङ्फेले भनिन्, 'हामी नेपाली सप्रमाण मात्रै बोल्ने र दाबी गर्ने गर्दछौं । हामी तथ्य प्रमाणसहित वार्ताको टेबुलमा बस्नेछौं ।'

भारतले नेपालको कालापानी क्षेत्रमा सेना राखेर अतिक्रमण गरेको बताउँदै उनले भनिन्, 'हाम्रो भूमि फिर्ता लिएरै छोड्छौं भन्ने मित्र राष्ट्र भारतले थाहा पाउनुपर्छ ।'

प्रतिनिधिसभामा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा अध्यावधिक गरिएको नक्सा राख्नका लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ । उक्त विधेयकमा मतविभाजन भइरहेको छ ।

संविधान संशोधन विधेयकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता तथा स्वाभिमानलाई अक्षुण्ण राखी सबै नेपालकीको स्वायत्ताता र स्वशासनलाई नयाँ उचाइमा पुर्‍याएको मन्त्री तुम्बाहाङ्फेको भनाइ थियो ।

संविधान संशोधनले सबै नेपालीलाई एकताबद्ध बनाएको पनि उनले बताइन् । संविधान संशोधनमा सबै राजनीतिक दलहरू एकताबद्ध भएका छन् । राजनीतिक दलका नेताहरूले भारतसँग कूटनीतिक वार्ता गरेर सीमा समस्याको समाधान गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७७ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×