कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकामा भारतीयको बलजफ्ती

सीमा सिल गरिएयता घूसपैठका १८ घटना, सिरहामा सईलाई नियन्त्रणमा लिएर भारत लगेका थिए
सर्लाहीमा तस्करीको समान ल्याउन प्रहरीमाथि आक्रमण
अजित तिवारी

जनकपुर — घटना १- ट्रयाक्टरमा थ्रेसर बोकेर नेपाल छिर्न खोज्ने तीन जना भारतीयलाई गत वैशाख १२ मा सशस्त्र प्रहरीले सिरहाको माडर नाकामै रोके । कोभिड–१९ को संक्रमण रोक्न सीमा सिल गरिएको थियो । सशस्त्र प्रहरीको माडर बीओपीका सई तेजबहादुर कार्कीले उनीहरुलाई निकैबेर सम्झाए ।

नाकामा भारतीयको बलजफ्ती

उनीहरु भारततिर त फर्किए । तर, एकैछिनमा थप मानिससहित फेरि नाकामा पुगे । र, नेपाल छिर्न निहुँ खोज्न थाले । नेपाल छिर्न सशस्त्र प्रहरीले रोकेपछि भारतीयहरुले सई कार्कीलाई नियन्त्रणमा लिएर भारततिर लगे । भारतीय अर्ध सुरक्षा बल एसएसबीसँगको समन्वयपछि मात्रै भारतीयले ३ घण्टापछि सई कार्कीलाई मुक्त गरे ।

घटना २

सर्लाहीको विष्णु गाउँपालिका–२ को पकडी गाउँ दशगजानजिकैको नेपाली बस्ती हो । नजिकै टाँसिएकै भारतीय गाउँ हो, मुरहा । जेठ १८ मा दुई जना भारतीयले पकडी नाकाबाट तस्करीको समान नेपाल छिराउन खोजे । सशस्त्र प्रहरीको सिमरा बीओपीबाट खटिएको सुरक्षाकर्मीले उनीहरुलाई पस्न नमिल्ने भन्दै भारततिरै फर्काइदिए । लगत्तै, भारतीयहरु ३०–४० जना समूहमा भेला भएर नेपाल छिर्न बलजफ्ती गर्न थाले । सीमामा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरेर आक्रमण थालेपछि सशस्त्र प्रहरीको टोली हवाई फायर गर्न बाध्य भयो । नाका सिल रहेका बेला तस्करीका लागि सुरक्षाकर्मीसँग भिड्न आएका भारतीयहरु हवाई फायरपछि मात्रै तितरबितर भए ।

घटना ३

बाराको सुवर्ण गाउँपालिका–३ को पञ्चगछिया बस्ती भारतीय सीमावर्ती गाउँ हनुमाननगरसँग टाँसिएको छ । दशगजामा पनि घर रहेकाले त्यहाँ नेपाल र भारतको बस्ती ठम्याउन गाह्रो पर्छ । पारि हनुमाननगरमा बस्ने भारतीयको वारि पञ्चगछियामा पनि खेती छ । वैशाख २५ मा पञ्चगछियाको खेतमा काम गर्न भनेर एक भारतीय नेपाल छिर्न खोजे । सीमामा खटिएका सशस्त्र प्रहरीले उनलाई भारततिर नै फर्काइदिए । लगत्तै, करिब डेढ सयको जना भेला भएर आएका भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोस्ट भत्काइदिए । हतियार थुत्न खोज्दा प्रहरीले फायर खोल्यो । पञ्चगछियाका स्थानीय पनि लठ्ठी–ढुंगा बोकेर भारतीयलाई लखेटे ।

कोभिड–१९ को महामारी रोक्न सरकारले चैत ९ मा सीमा सिल गर्‍यो । सशस्त्र प्रहरी खटाइए । त्यसयता प्रदेश २ मा मात्रै भारतीयले बलजफ्ती पस्न खोजेको १८ वटा घटनामा सशस्त्र प्रहरीलाई तारो बनाएका छन् । नाका बन्दपछि सीमामा तैनाथी र निगरानी बढाएपछि भारतीय पक्षबाट सशस्त्र प्रहरी केन्द्रित आक्रमण बढेको हो ।

सर्लाही, नारायणपुर नाकामा शुक्रबार बिहान पनि भारतीयहरुले तस्करीकै समान ओसारपसार गर्न सशस्त्र प्रहरीसँग निहुँ खोजे । ड्युटीमा खटिएका हबल्दारलाई झापड नै हिर्काए । एसएलआर हतियार थुतेर भाग्न खोजे । त्यही क्रममा प्रहरीले गोली चलाउँदा एक भारतीयको मृत्यु भएको छ । हतियार थुतेर भाग्ने पक्राउ परेका छन् । ‘सीमा सिलको बेला बोर्डरमा संयमता अपनाउन निर्देशन नै छ,’ सशस्त्र प्रहरीको प्रदेश २ का प्रमुख डीआईजी राजु अर्यालले कान्तिपुरसँग भने, ‘हाम्रो फौजले बोर्डरमा संयमता नै अपनाएको छ । तर, बारम्बार निहुँ खोज्ने । हतियार नै खोस्ने गतिविधि भइरहेको छ ।’

प्रदेश २ का आठवटै जिल्ला भारतसँग सीमा जोडिएको सीमा ४ सय ६४ किलोमिटर छ । सीमानाका सिल भएपछि प्रदेश २ मा ६ हजार ३ सय २३ सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीको ५३ वटा बीओपी र त्यस मातहतको ९४ वटा फरवार्ड पोस्टबाट सीमामा निगरानी र पहरा गरिएको छ । दु:खजिलो गरी सीमामा खटिएका सुरक्षाकर्मी भने भारतीय पक्षको तारो बन्ने भेउको आकलन सुरक्षा अधिकारीहरुले पहिल्यै नै गरेका थिए । त्यसैले उनीहरु सीमामा खटिनुअघि ‘यस्तो परिस्थितिमा संयमता अपनाउन र नाकामा सकेसम्म चर्काचर्की नगर्न’ निर्देशन नै दिइन्छ ।

‘नाका सिल भएको बेला टसल बढ्छ । घूसपैठ गर्न खोज्छन् । यो आँकलन त थियो हाम्रो,’ सीमामा खटिएका सशस्त्र प्रहरीका एक इन्स्पेक्टरले भने, ‘तर, हतियार थुत्ने र सुरक्षाकर्मीलाई नियन्त्रणमै लिएर लैजाने घटना हुन थालेपछि काम गर्न जटिल हुन थालेको छ । त्यसलाई कसरी ट्याकल गर्ने भन्ने रणनीतिमा जाँदै छौं ।’ नेपाल प्रहरीको जनकपुरस्थित प्रदेश कार्यालयको तथ्यांकअनुसार सीमा सिल भएयता प्रदेश २ को नाकाबाट १७ हजार ३४ जना भारत गएको र त्यही अवधिमा २५ हजार ७ सय ६२ जना भारतबाट नेपाल प्रवेश गरेका छन् ।

सीमा सिल भए पनि लकडाउनमा प्रक्रिया मिलाएर वारिपारि गर्नेको संख्या मुलुकका अन्य प्रदेशका तुलनामा प्रदेश २ मा उच्च छ । नेपाल प्रहरीका प्रदेश २ का प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार तस्करी गर्न नपाएका तत्त्वले नाकामा बद्मासी गरिरहेका छन् । ‘लकडाउनमा नाका सशस्त्र प्रहरीको १ सय ९ वटा पोस्ट थपिए । त्यही थपिएको पोस्ट हटाउन तस्करले नाकामा समस्या गर्न खोजिरहेको छ,’ डीआईजी सिंहले भने, ‘अहिले नाकामा मेन टु मेन कन्ट्याक्टमा सुरक्षाकर्मी तैनाथ छ । त्यसले तस्करी ठप्प छ । तस्करले मान्छे उचालेर आक्रमण गराइरहेका छन् ।’

नाकामा खटिएका सुरक्षाकर्मी लक्षित आक्रमण बढेपछि अबका लागि नयाँ सुरक्षा रणनीति बनाउन छलफल थालिएको डीआईजी सिंहले बताए । ‘तस्करलाई नेपाल र भारत दुवैतिरका सुरक्षाकर्मी मिलेर निरुत्साहित पार्ने हो,’ उनले भने, ‘एसएसबीसँग पनि समन्वय भइरहेको छ । तस्करको मुभमेन्ट रोकिन्छ ।’

तस्करी गर्नेहरुलाई अहिले उकुसमुकुस भएको छ । भारतमा लकडाउन खुकुलो भएपछि उनीहरु नाकामा जोरजर्बजस्ती गरेर तस्करीका समान छिराउन प्रयासरत छन् । नाकामा सानो–सानो टुकडीमा बसेका सुरक्षाकर्मीलाई आक्रमण गरेपछि टोली मर्ज हुने ग्याप ठाउँबाट तस्करीको समान छिराउन पाउने मनसायले पनि उनीहरुले आक्रमण बढाएको सुरक्षा अधिकारीहरुको आँकलन छ ।

बिहीबार राति मात्रै धनुषाको महिनाथपुर नाकामा २०–२५ जनाको समूहमा भारतीय भेला भए । नेपालतिर पस्न जबर्जस्ती गर्न थाले । सशस्त्र प्रहरी धनुषाका एसपी राजेश उप्रेतीलाई त्यो खबर आएपछि उनले काउन्टर पार्ट एसएसबीलाई फोन गरेर उनीलाई फिर्ता लग्न लगाए ।

सम्बन्धित समाचार

सशस्त्रको हतियार खोसेपछि फायरिङ, एक भारतीयको मृत्यु

प्रकाशित : जेष्ठ ३१, २०७७ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?