कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद गिरीद्वारा संविधान संशोधन खारेज गर्न प्रस्ताव दर्ता, पार्टीद्वारा कारबाहीको चेतावनी

कान्तिपुर संवाददाता

काठमाडौँ — समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् । समाजवादी पार्टीले भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ । 

सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । संघीय संसद सचिवालयमा दर्ता गराएको उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ ।

प्रतिनिधिसभा विधेयक शाखाका प्रमुख नारायण ढकालका अनुसार गिरीले बुधबार दिउँसो उक्त संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । उनको संशोधन प्रस्तावले संविधान संशोधन गलत हो भन्ने माग गरेको ढकालले बताए ।


पार्टीमा सल्लाह नगरी, संसदीय दलको निर्देशन बिना संशोधन हालेको भन्दै उनको पार्टी समाजवादीले सांसद गिरीलाई उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । संविधान संशोधन प्रस्तावको समर्थन गरेको समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने पनि चेतावनी दिएका छन् ।

गिरी समानुपातिक सांसद हुन् । उनले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी छन् । संसद बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवं नेपालले आफ्नो कूटनीतिक शक्तिको आँकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै विवादित बयान दिएकी थिइन् ।

प्रकाशित : जेष्ठ २८, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना निको हुनेको संख्या ६ सय ७४ पुग्यो, पछिल्लो २४ घन्टामा ९० डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणबाट निको भएर पछिल्लो २४ घन्टामा ९० जना डिस्चार्ज भएका छन् । निको हुनेमा ८८ पुरुष र २ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६ सय ७४ पुगेको बताए ।

उनका अनुसार कोसी अस्पतालबाट ६ जना, कोभिड १९ युनिफाइड कमान्ड बलम्बु अस्पतालबाट १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ जना,महेन्द्रगेनाइ आइसोलेसन सेन्टर सिरहाबाट २० जना, कोरोना अस्पताल बेलझुण्डी दाङबाट ७ जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७२ हजार ८८० नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख १० हजार ७४४ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७२ हजार २६६ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ३ हजार ६७५ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर र अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा र चितवनमा १/१ गरी १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७७ १६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×